काठमाडौँ- काठमाडौँ महानगरपालिकाले रानीदेवी माध्यमिक विद्यालय, रानीबारीलाई माध्यमिक तह कक्षा ११ सञ्चालन गर्न अनुमति प्रदान गरेको छ।
विद्यालयले शैक्षिक सत्र २०८३ देखि कक्षा ११ सञ्चालन गर्न अनुमति माग गर्दै निवेदन पेस गरेको थियो। सो निवेदनमाथि भएको अध्ययन तथा अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ बमोजिम आवश्यक पूर्वाधार पूरा भएको पाइएको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ।
महानगरपालिकाको नगर शिक्षा समितिको जेठ २७ गते बसेको बैठकले प्रचलित शिक्षा ऐन तथा नियमावलीअनुसार तोकिएका सर्त र बन्देजहरूको पालना गर्ने सर्तमा कक्षा ११ सञ्चालनको अनुमति दिने निर्णय गरेको हो।
निर्णयअनुसार विद्यालयले अब शैक्षिक सत्र २०८३ देखि माध्यमिक तह कक्षा ११ सञ्चालन गर्न सक्नेछ। यस निर्णयको जानकारी शिक्षा तथा मानव स्रोत विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विकास निर्देशनालय बागमती प्रदेश, शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौँ तथा काठमाडौँ महानगरपालिकाका सम्बन्धित वडा र वित्त विभागलाई समेत दिइएको छ।
रानीदेवी माविमा नयाँ व्यवस्थापन, अध्यक्षमा प्रशन्ननरसिंह राणा




