अर्बौं लगानीको गेटा विश्वविद्यालय : आश्वासन धेरै, उपलब्धि कति?

हिमाल प्रेस १६ कार्तिक २०८३ १२:५५ | Monday, November 2, 2026
8
SHARES
अर्बौं लगानीको गेटा विश्वविद्यालय : आश्वासन धेरै, उपलब्धि कति?

काठमाडौँ- कैलालीको गेटामा अर्बौं रुपैयाँ खर्चेर निर्माण गरिएका संरचना लामो समयसम्म उपयोगविहीन रहे। अहिले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको चरणमा पुगेको र शैक्षिक कार्यक्रम तथा शिक्षण अस्पताल विस्तारको तयारी भइरहेको नेतृत्वको दाबी छ। तर भौतिक पूर्वाधार निर्माण र विश्वविद्यालयको वास्तविक क्षमता विकास फरक विषय हुन्।

पर्याप्त विशेषज्ञ जनशक्ति, गुणस्तरीय चिकित्सा शिक्षा, शिक्षण अस्पतालको सेवा क्षमता र संस्थागत दिगोपनाको सुनिश्चितता अझै महत्वपूर्ण चुनौतीका रूपमा छन्।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुनिलकुमार जोशीले भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन र शैक्षिक कार्यक्रम सञ्चालनको तयारी पूरा गर्दै विश्वविद्यालयलाई देशकै गौरव गर्न लायक संस्था बनाउने लक्ष्यका साथ काम भइरहेको बताए।

लामो समयदेखि उपयोगविहीन अवस्थामा रहेका करिब १०० बिघा जमिनमा निर्मित संरचनालाई उपयोग गर्दै विश्वविद्यालय सञ्चालनको काम अगाडि बढाइएको उनले बताए। ‘नेपालमा यति ठूलो संरचना भएको स्वास्थ्य संस्था अर्को छैन। नेपाली जनताको करबाट निर्माण भएका संरचनालाई अब कुनै पनि हालतमा सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने।

विश्वविद्यालय सञ्चालनको जिम्मेवारी सम्हाल्दा अपेक्षा गरेभन्दा फरक अवस्था पाएको उल्लेख गर्दै उपकुलपति जोशीले पहिलो प्राथमिकता चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस कार्यक्रम सुरु गर्नु रहेको बताए। तर, पूर्वाधार निर्माण भएर पनि वर्षौंदेखि उपयोगविहीन रहेको अवस्थाले आफूलाई चिन्तित बनाएको उनको भनाइ छ।

‘मेरो स्वभाव नै जिम्मेवारी लिएपछि पूरा गरेर छाड्ने हो। त्यसैले सरोकारवालासँग छलफल र समन्वय गरेर काम अगाडि बढाएँ,’ उनले भने, ‘पहिलो तीन महिना रातदिन नभनी काम गरियो। सरकार परिवर्तन भए पनि अहिले पुनः जिम्मेवारी पाएको छु। त्यो विश्वासलाई पूरा गर्न दृढ अठोटका साथ काम गरिरहेको छु।’

विश्वविद्यालय सञ्चालनका लागि प्रधानमन्त्री, उनको सचिवालय, संघीय सांसद, प्रदेश तथा स्थानीय सरकारको सहयोग महत्वपूर्ण रहेको उनले बताए। उनका अनुसार तीन महिनाभित्रै नौवटा नियमावली र संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण तयार गरिएको छ। त्यस्तै, ३०० शय्याको अस्पताल सञ्चालनका लागि सरकारले बजेटको पूर्वस्वीकृति दिएको र सोहीअनुसार दुई अर्ब ५३ करोड रुपैयाँ तथा ७५ प्रतिशत छात्रवृत्तिका लागि स्रोत सुनिश्चित भएको छ।

विश्वविद्यालयको औचित्य र सञ्चालन क्षमतामाथि उठिरहेका प्रश्नबारे प्रतिक्रिया दिँदै उनले अध्ययनअध्यापन र शिक्षण अस्पताल सञ्चालनलाई अलग गरेर हेर्न नहुने बताए। ‘विश्वविद्यालयका दुईवटा महत्वपूर्ण पक्ष छन्। पहिलो अध्ययन अध्यापन र दोस्रो शिक्षण अस्पताल सञ्चालन। यी दुवै सँगसँगै अगाडि बढाउन सकिन्छ,’ उनले भने।

एमबिबिएसमा ५० जना विद्यार्थी भर्ना गर्ने हो भने त्यसअनुसार ३०० शय्याको अस्पताल र आवश्यक सेवा सुविधा अनिवार्य हुने उनको भनाइ छ। सुरुदेखि नै पूर्ण विकसित विश्वविद्यालयको अपेक्षा गरेर काम रोक्नुभन्दा क्रमिक रूपमा संस्थाको विकास गर्नुपर्ने उनले बताए।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुनिलकुमार जोशी

‘चार दशकअघि त्रिवि शिक्षण अस्पताल सुरु हुँदा अहिलेको जस्तो पूर्वाधार र जनशक्ति थिएन। त्यही बिन्दुबाट सुरु भएको संस्था क्रमशः विकास हुँदै नेपालको स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवाको केन्द्र बनेको हो,’ उनले भने।

गेटालाई गुणस्तरीय र विश्वासयोग्य स्वास्थ्य संस्थाका रूपमा विकास गर्न काम सुरु भइसकेको उपकुलपति जोशीले बताए। उनका अनुसार धनगढीमा उपलब्ध नभएका केही विशिष्टीकृत उपचार तथा शल्यक्रिया सेवा विश्वविद्यालयमा सुरु भइसकेका छन्। स्थानीय आवश्यकताका आधारमा थप विशिष्टीकृत सेवा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।

विशेषज्ञ चिकित्सकको पदपूर्तिका लागि ७७ विभागीय पदमा ३०६ जनाको आवेदन परेको र अनुभवी तथा प्रतिष्ठित चिकित्सकले समेत इच्छा देखाएको उनले बताए। विश्वविद्यालयको विषयलाई लिएर भएको विरोध र अनशनका कारण केही वरिष्ठ चिकित्सकमा अन्योल उत्पन्न भए पनि छनोट भएर आएका चिकित्सक दक्ष र सक्षम रहेको उनको दाबी छ।

चिकित्सा शिक्षा आयोगले अनुमति दिएका चारवटा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको पनि उनले बताए। विद्यार्थीले सुरुका दुई वर्ष अध्ययन गर्ने आधारभूत स्वास्थ्य विज्ञान विभागका लागि आवश्यक संरचना, प्रयोगशाला, सामग्री तथा उपकरण तयारी अवस्थामा रहेको उनको भनाइ छ।

त्यस्तै, बिएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री कार्यक्रम सञ्चालनका लागि पनि तयारी पूरा गरिएको उनले जानकारी दिए। गेटा आँखा अस्पताललाई शैक्षिक केन्द्रका रूपमा विकास गर्दै अप्टोमेट्री कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए।

पर्याप्त तयारीबिना शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागिएको र अन्य अस्पतालका शय्या प्रयोग गर्न खोजिएको भन्ने आलोचनाबारे उनले विश्वविद्यालयको आफ्नै ३०० शय्याको शिक्षण अस्पताल कानुनी रूपमा स्थापित भइसकेको जानकारी दिए। आवश्यक संरचना र जनशक्ति परिचालन भइरहेको उल्लेख गर्दै उनले विद्यार्थीको क्लिनिकल अभ्यास सुरु हुने दुई वर्षभित्र अस्पताललाई पाँचदेखि छ सय शय्यामा विस्तार गर्ने योजना रहेको बताए।

‘विश्वविद्यालय ऐनले संघ, प्रदेश र स्थानीय तहका अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गरी सेवा विस्तार गर्ने व्यवस्था गरेको छ। त्यसैअनुसार चारवटा अस्पतालसँग सम्झौता गरेका छौँ,’ उनले भने, ‘यसको उद्देश्य आफ्नै शिक्षण अस्पताल विकास नगर्ने भन्ने होइन। सहकार्यबाट ती अस्पतालको क्षमता विकास र नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु पनि हो।’

सुदूरपश्चिमका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु विश्वविद्यालयको पहिलो दायित्व भएको उनले बताए। महाकाली प्रादेशिक अस्पतालमा शल्यक्रियाका क्रममा जटिलता उत्पन्न भएको एक बिरामीको उपचारमा विश्वविद्यालयका वरिष्ठ चिकित्सकले रातदिन खटेर ज्यान बचाएको घटनालाई उनले अस्पतालहरूबीचको सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गरे।

चिकित्सा शिक्षा आयोगले दिएको सिट खारेजीको माग गर्दै अनशनरत डा गोविन्द केसीका माग र चिन्तालाई गम्भीरतापूर्वक लिएको पनि उपकुलपति जोशीले बताए। ‘नेपालको चिकित्सा शिक्षा सुधारमा डा केसीको अतुलनीय योगदान छ। गेटामा यस्तो संस्था स्थापना हुनु पनि उहाँको अभियानको एउटा परिणाम हो,’ उनले भने।

सुदूरपश्चिमका विद्यार्थीले आफ्नै क्षेत्रमा गुणस्तरीय चिकित्सा शिक्षा पढ्न पाउनुपर्ने र नागरिकले स्तरीय स्वास्थ्य सेवाका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुनुपर्ने अभियानको मूल मर्म रहेको उल्लेख गर्दै उनले विश्वविद्यालय पनि त्यही उद्देश्य प्राप्तिका लागि अगाडि बढिरहेको बताए।

चिकित्सा शिक्षा आयोगका निर्देशकसहित वरिष्ठ चिकित्सकले विश्वविद्यालयको पूर्वाधार तथा तयारीको मूल्यांकन गरेपछि मात्रै शैक्षिक सिट निर्धारण भएको उनको भनाइ छ। ‘हामी गुणस्तरीय शिक्षामा कुनै सम्झौता गर्दैनौँ। हाम्रा क्रियाकलापबाट उहाँ निराश हुने अवस्था आउन दिँदैनौँ,’ उनले भने।

विश्वविद्यालयको दीर्घकालीन भविष्य सुनिश्चित गर्न अन्तर्राष्ट्रियस्तरको संस्था बनाउने लक्ष्य राखिएको उनले बताए। विश्वका प्रतिष्ठित विश्वविद्यालयसँग सहकार्य र साझेदारी विस्तार गर्दै अध्ययन, अनुसन्धान तथा शिक्षणको गुणस्तर अभिवृद्धि गरिने उनको भनाइ छ।

परम्परागत रूपमा विभागहरू भएको शिक्षण अस्पतालका रूपमा मात्र नभई कार्डियोपल्मोनरी सेन्टर, सेक्सुअलिटी एन्ड रिप्रोडक्टिभ हेल्थ सेन्टर, चाइल्ड हेल्थ सेन्टर तथा सर्जरी सेन्टरजस्ता विशिष्टीकृत सेवा केन्द्र स्थापना गर्ने योजना रहेको उनले जानकारी दिए।

‘हामी यसलाई अनुसन्धानमा आधारित सामुदायिक स्वास्थ्य सेवा केन्द्रका रूपमा विकास गर्न चाहन्छौँ। यो विश्वविद्यालयले सुदूरपश्चिमका २७ लाख नागरिकलाई मात्रै होइन, देशका अन्य क्षेत्र र सीमापारि भारतका नागरिकसमेत गरी तीन करोडभन्दा बढी जनतालाई सेवा दिनसक्ने सम्भावना छ,’ उनले भने।

विश्वविद्यालयलाई आफ्नै स्रोतबाट सञ्चालन हुनसक्ने प्रणाली विकास गरी दिगो बनाउने लक्ष्य रहेको पनि उनले बताए।

विश्वविद्यालयप्रति सुदूरपश्चिमका नागरिकको ठूलो माया, अपेक्षा र अपनत्व रहेको उल्लेख गर्दै उपकुलपति जोशीले नागरिककै सहभागिताले संस्थाको महत्व पुष्टि गरेको बताए। आफू जिम्मेवारीमा आउँदा परिसरमा झारपात मात्रै रहेको र आह्वान गरेपछि १५ हजारभन्दा बढी नागरिक स्वःस्फूर्त रूपमा सरसफाइमा सहभागी भएको उनले स्मरण गरे।

‘यो संस्था यहाँका नागरिकको सपना र अपनत्वसँग जोडिएको छ। यसलाई सुदूरपश्चिमको मात्रै होइन,देशकै गौरव गर्न लायक संस्था बनाउने मेरो नेतृत्व प्रतिबद्ध छ,’ उनले भने, ‘गेटा विश्वविद्यालयलाई चिकित्सा शिक्षाको गन्तव्य र विशिष्टीकृत सेवाको केन्द्र बनाएरै छाड्छौँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast