पोखरा ‘पर्यटकीय राजधानी’ घोषणा

विजय नेपाल ४ चैत २०८० १६:१९
20
SHARES
पोखरा ‘पर्यटकीय राजधानी’ घोषणा तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

पोखरा– पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ। फेवाताल किनार वाराहीघाटमा आइतबार आयोजित भव्य समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई मुलुककै पहिलो पर्यटकीय राजधानी घोषणा गरेका हुन्।

पोखरा गण्डकी प्रदेशको राजधानी हो। यहाँका पर्यटन व्यवसायीले दुई दशकदेखि पोखरालाई पर्यटकीय राजधानी बनाउनुपर्ने माग गर्दै आएका थिए। उक्त माग बल्ल पूरा भएको व्यवसायीले बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले वाराहीघाटमा निर्माण गरिएको ‘नेपालको पर्यटन राजधानी’ अंकित स्तम्भ पनि अनावरण गरे। उनले प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय संगम पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पाउँदा खुसी लागेको बताए। प्रधानमन्त्री प्रचण्डले पोखरा चिनाउने विभिन्न सम्पदाको नाम उच्चारण गर्दै यहाँ अब पर्यटन प्रवर्धनबाट गुणात्मक सफलता हासिल गर्न सकिने विश्वास लिएको बताए।

उनले भने, ‘पर्यटकीय राजधानी घोषणा गर्ने विश्वमा प्रचलित एवं स्थापित अभ्यासलाई दृष्टिगत गरी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयले विश्वकै पर्यटन बजारमा पोखराको ब्रान्डिङ गर्ने, पर्यटन बजारको विस्तार गर्ने, लगानीका लागि अनुकूल वातावरण बनाउन र यस क्षेत्रका जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन गर्न महत्त्वपूर्ण योगदान लिएको छु।’

प्रधानमन्त्री प्रचण्डले पर्यटकीय राजधानीको गरिमा बढाउन आवश्यक नीतिगत, कानुनी तथा प्रक्रियागत सुधार रणनीति तर्जुमा गरी पर्यटकीय पूर्वाधारको विकास, निजी क्षेत्रबाट हुने सेवाको गुणस्तर अभिवृद्धि, जबाफदेहिता एवं क्षमता विकासलाई योजनाबद्ध रूपमा अघि बढाउन तीनै तहको सरकारको सहकार्यको खाँचो औँल्याए ।

‘२१ औँ शताब्दीको आधुनिक युगमा भौतिक र मानवीय विकासलाई सँगसँगै अघि बढाउनुपर्छ,’ उनले भने, ‘यसबारे बुझाइमा वैज्ञानिकता कायम हुन नसक्दा कतिपय सरकारले भौतिक विकासलाई मात्रै विकासको परिभाषित गर्ने गरेका छन्। विकासका नाममा सीमान्तकृत वर्ग र समुदायको अभिभावकत्व ग्रहण नगर्ने जस्ता समस्या धेरै ठाउँमा देखिने गरेका छन्।’

प्रधानमन्त्री प्रचण्डले ‘तालैतालको सहरका रूपमा परिचित पोखरा, आसपासमा रहेका प्राकृतिक सम्पदा, जैविक विविधता र सांस्कृतिक धरोहरको संरक्षण र संवद्र्धन, दिगो विकासा सबैको ध्यान जाने विश्वास व्यक्त गरे। उनले भने, ‘त्यसका लागि संघीय सरकारले निर्वाह गर्नुपर्ने अभिभावकीय भूमिकाको निम्ति आवश्यक पहल लिने प्रतिबद्धता व्यक्त गर्दछु।’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलगायतले सम्बोधन गरेका थिए। समारोहमा विभिन्न देशका राजदूत पनि उपस्थित थिए।

समारोहमा पोखराको चिनारी फैलाउन मद्दत गर्ने तीन जना अग्रजलाई सम्मान गरियो। सम्मानित हुनेमा ‘प्राकृत पोखरा’ का लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा. मुकुन्दशरण उपाध्याय, भूगोलविद् डा.हर्क गुरुङ (मरणोपरान्त) र ‘पोखरा त साँच्चिकैकै पोखरा नै रैछ’…गीतका स्रष्टा प्रेमप्रकाश मल्ल (मरणोपरान्त) हुन्।

वरिष्ठ लोकगायिका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्यान्डका भोकलिस्ट विवेक श्रेष्ठ, ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा’ का गायक प्रमोद खरेल, कलाकार प्रकाश सपूत, गायक धर्मेन्द्र सेवानसहित गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठानका कलाकारको सांगीतिक प्रस्तुतिले माहोल रमाइलो बनेको थियो।

पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त आयोजनामा भएको उद्घाटन समारोह अघि बसुन्धरापार्कदेखि पञ्चेबाजासहित झाँकी ¥याली निकालिएको थियो। जसमा पोखरामा विभिन्न संघसंस्थाहरु आआफ्नो ब्यानरसहित उपस्थित भएका थिए।

पर्यटकीय राजधानी घोषणाका लागि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले गत मंसिर १२ गते प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाको संयोजकत्वमा ११ सदस्यीय अध्ययन समिति गठन गरेको थियो।

समितिले विभिन्न २० सूचकमा टेकेर अध्ययन गरी मुख्यमन्त्रीसमक्ष प्रतिवेदन बुझाएकोमा गत फागुन २३ को मन्त्रिपरिषद् बैठकले पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो। अब पोखरा अन्तर्राष्ट्रिय ट्रान्जिटका रूपमा ब्रान्डिङ हुने पोखरेलीको विश्वास छ।

त्यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउनुपर्नेछ। प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा आयोजित समारोहमा सम्बोधन गर्दै पोखराबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडान हुने आश्वासन दिएका छन्।

पोखराबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ : प्रधानमन्त्री

यसकारण पोखरा ‘पर्यटकीय राजधानी’, पर्यटन व्यवसायी उत्साहित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =