पोखरा विमानस्थलबाट पहिलो पल्ट अन्तर्राष्ट्रिय उडान : ४२ यात्रु लिएर फर्कियो भुटानको ड्रुक एयर

हिमाल प्रेस २३ भदौ २०८० १२:१७
12
SHARES
पोखरा विमानस्थलबाट पहिलो पल्ट अन्तर्राष्ट्रिय उडान :  ४२ यात्रु लिएर फर्कियो भुटानको ड्रुक एयर

पोखरा- हालसम्म आन्तरिक उडान मात्र भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पल्ट व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको छ।

सन्चालनमा आएको ८ महिनापछि शनिबार बिहान भुटानको ड्रुक एयर भुटानको पारोबाट यात्रु लिन पोखरा आएको थियो। ३ यात्रु लिएर बिहान ६ः४० मा पोखरामा अवतरण भएको जहाज १ घण्टापछि ४२ यात्रु लिएर फर्केको छ।

विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले पोखरामा यो पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय भएको बताए। उनका अनुसार पोखरा आएका यात्रुमा नेपाली, अमेरिकी र भियतनामका एक एक जना थिए भने पोखराबाट जहाज चढ्ने ४२ यात्रु अमेरिकी, भारतीय र क्यानेडियन पर्यटक हुन्।

भुटानबाट चार्टर्ड भएर भए पनि यहाँ तिर्नुपर्ने रकम तिरकोले यो पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको कर्णले बताए। जसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको नियमानुसार प्रतियात्रु ३ हजार रुपैयाँ र ग्राउण्ड ह्याडलिङ शुल्क उक्त एयरले तिरेको हो।

यसअघि ६ असारमा चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ अवतरण भएको थियो। चीनको छेङ्दु तियान्फु विमानस्थलबाट नेपालको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चीनबाट केही नेपाली र ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर जहाज आएको थियो। त्यसबेला ८० यात्रु आएका हुन्।

ड्रुय एयर पोखरामा अवतरण हुने भएपछि स्वागतार्थ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित पोखरा पर्यटन परिषद्का पदाधिकारी बिहानै विमानस्थल पुगेका थिए। पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तर्राष्ट्रिय उडान हुनुपर्नेमा जोड दिँदै अब नेपाल एयरलाइन्सले उडान भर्नुपर्ने बताए।

अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन (१७ पुस)मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच विमानस्थल उद्घाटन गरेका थिए ।

प्रकाशित: २३ भदौ २०८० १२:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =