पोखरामा वर्षभरिमा ५ वटा अन्तर्राष्ट्रिय उडान

हिमाल प्रेस २३ पुष २०८० ७:१९
22
SHARES
पोखरामा वर्षभरिमा ५ वटा अन्तर्राष्ट्रिय उडान फाइल तस्बिर।

काठमाडौँ- अर्बौं ऋण लगानीमा निर्माण भएर सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्षमा पाँचवटा अन्तर्राष्ट्रिय चार्टर उडान भएका छन्।

वार्षिक १० लाख हवाई यात्रुले सेवा लिन सक्ने गरी गत २०७९ पुस १७ गते सो विमानस्थल सञ्चालनमा आएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय, पोखराले एक वर्षमा पाँच वटा अन्तर्राष्ट्रिय उडान भएको जानकारी दिएको छ। गत असार ६ गते चीनको छेन्दुबाट आएको सिचवान एयरलाइन्सले पोखरामा पहिलो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो।

उक्त उडानमार्फत असार ८ र ९ गते पोखरामा आयोजना भएको नेपाल-चीन फ्रेन्डसिप ड्र्यागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी, पर्यटक र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलसमेत गरी ९६ जना पोखरा अवतरण गरेका थिए।

त्यसपछि भदौ २३ गते भुटानको ड्रुक एयरले पोखरामा दोस्रो अन्तर्राष्ट्रिय चार्टर उडान गरेको थियो। भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अवतरण गरेको उक्त जहाजमा सात जना चालकदल सदस्य र तीन जना पर्यटक पोखरा अवतरण गरेका थिए। उक्त विमान भुटान फर्किंदा पोखराबाट ४२ यात्रु थिम्पु उडेका थिए।

त्यस्तै जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्प प्रभावितका लागि चीन सरकारले पठाएको राहत सामग्री बोकेर गत कात्तिक २२ गते चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो जहाज चीनको छेन्दुबाट पोखरा अवतरण गरेका थिए।

उड्डयन कार्यालयका अनुसार पोखरामा गत मंसिर ७ गते चौथो पटक अन्तर्राष्ट्रिय चार्टर उडान भएको थियो । मंसिर ९ गते पोखरामा आयोजित माउन्टेन क्रस कन्ट्री कम्पिटिसन रेस प्रतियोगितामा भाग लिन चीनको कुनमिङबाट हिमालयन एयरलाइन्सले पोखरामा चार्टर उडान गरेको थियो।

उक्त उडानबाट १०४ जना यात्रु पोखरा अवतरण गरेका थिए । सञ्चालनको एक वर्षको अवधिमा पोखराबाट एउटा पनि व्यावसायिक उडान हुन सकेको छैन ।

गौतम बुद्धबाट भित्रिए साढे १५ हजार

२०७९ जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतम बुद्व विमानस्थलबाट पछिल्लो १९ महिनामा चार सय चार्टर तथा व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएका छन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार जजिरा एयरवेज, नेपाल वायु सेवा निगम र हिमालय एयरलाइन्सको उडानबाट भैरहवामा १५ हजार ५२६ जना हवाई यात्रु भित्रिएका छन् भने विमानस्थल भएर २० हजार १५५ जनाले अन्तर्राष्ट्रिय उडान सेवा लिएका छन्।

भैरहवामा जजिरा एयरवेजले २५२ उडान तथा अवतरण, हिमालयन एयरलाइन्सले ६८ चार्टर उडान र नेपाल वायु सेवा निगमले ३१ र व्यक्तिगत रूपमा विभिन्न देशबाट ४९ उडान अवतरण भएका छन्। गोरखापत्र दैनिकबाट

प्रकाशित: २३ पुष २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =