पोखरामा अन्तर्राष्ट्रिय विमान अवतरण

आफैंले बनाएको विमानस्थलमा चिनियाँ विमानको पहिलो अन्तर्राष्ट्रिय उडान

विजय नेपाल ६ असार २०८० ८:२७
8
SHARES
आफैंले बनाएको विमानस्थलमा चिनियाँ विमानको पहिलो अन्तर्राष्ट्रिय उडान

पोखरा– आन्तरिक उडानमै सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ। चीनको छेन्दु विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवानको १ सय ३० जना यात्रु सवार एयरलाइन्सले चार्टर्ड उडान गर्न लागेको हो।

२२ अर्ब रुपैयाँ लागतमा निर्मित मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको झण्डै ६ महिनापछि चार्टर्ड नै भए पनि अन्तर्राष्ट्रिय उडान हुने भएपछि पोखरेलीमा भने आसा सञ्‍चार गरेको छ।

यसले आगामी दिनमा अरू उडान भर्न तथा नियमित उडान गर्न कोशेढुंगा सावित हुने उनीहरूको भनाइ छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बुधबारको उडानपछि पोखरासहित समग्र नेपालको पर्यटनमा टेवा पुग्ने बताउँछन्। पोखरामा यतिबेला होटलको अकुपेन्सी ४० प्रतिशत हाराहारीमा छ।

पोखरामा उडानमार्फत दैनिक १ हजार २ सय जना यात्रु भित्रिने गरेका छन्। त्यसमध्ये चिनियाँ पर्यटक दोस्रो ठूलो संख्यामा हुने गर्दछन्। पहिलो भारतीय पर्यटक हुन्।

‘उडानमार्फत यहाँ दैनिक १२ सय यात्रु भित्रिने गरेका छन्। अन्तर्राष्ट्रिय उडान नियमित भए यो संख्या अझ बढ्ला,’ विमानस्थलका राजस्व अधिकृत देवराज सुवेदीले भने।

१२ सयमध्ये चिनियाँमात्र कति आए भन्ने यकिन तथ्यांक नभएको उनले जनाए।

पोखरा पर्यटन परिषद् अध्यक्ष श्रेष्ठका अनुसार दक्षिण एसियामै पहिलो पटक पोखरामा हुन लागेको ड्रागन बोट रेस फेस्टिभलका कारण धेरै चाइनीज पर्यटक भित्रिएका छन्।

पर्यटन प्रवर्द्धनका लागि धेरै कार्यक्रम भएकोले पनि यहाँ आन्तरिक एवम् विदेशी यात्रुको संख्या विस्तारै बढ्दै गएको उनी बताउँछन्। बुधबारको अन्तर्राष्ट्रिय उडानले थप टेवा मिल्नेमा उनी आसावादी छन्।

‘पोखराको पर्यटनमा खर्बौंको लगानी भएको र यहाँको पर्यटन प्रवर्द्धन गरी पर्यटन क्षेत्र चलायमान बनाउन अन्तर्राष्ट्रिय उडान नियमित हुनुपर्छ। सरकारलाई हामी पटक पटक दबाब दिएका छौं। यो उडानले भोलिका दिनमा केही मद्दत गर्ला,’ उनले भने।

ड्रागन बोट फेस्टिभल फेवातालमा यही ८ र ९ असारमा हुँदैछ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार छेन्दुबाट बुधबार पोखरा आउने ए-३१९ जहाज बिहान ८:५० मा अवतरण गर्नेछ।

उडानमा पनि भीआईपीका अलावा चिनियाँ खेलाडीहरू बढी हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमले बताए। सिचुवानले राजधानी काठमाडौँबाट भने नियमित उडान गर्दै आएको छ।

चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिएको हो। विमानस्थलको ऋण र व्याज भुक्तानीको प्रक्रिया आगामी वर्षदेखि सुरु हुने छ।

संयोग नै मान्नुपर्छ चीनले नै पहिलो अन्तर्राष्ट्रिय उडान गरेको हो।

गत १ जनवरीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहबीच विमानस्थल उद्घाटन गरेका थिए। तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको पालामा २०३२ सालमा विमानस्थलको लागि जग्गा अधिग्रहण गरिएकोमा ४ दशकपछि मात्र पोखरेलीले अन्तर्राष्ट्रिय विमानस्थल पाएका हुन्।

नेपालमा त्रिभुवन र गौतमबुद्ध विमानस्थल पोखरा अघि नै सञ्चालित थिए। त्यसैले यो विमानस्थलाई तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल भनिन्छ। पोखरा विमानस्थलमा आन्तरिक र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना निर्माण गरिएको छ।

यहाँ नेपालकै पहिलो एरोब्रिज रहेको छ। यात्रु यसै एरोब्रिजबाट जहाज चढ्न र झर्न सक्ने छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =