पोखराबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ : प्रधानमन्त्री

हिमाल प्रेस ४ चैत २०८० ११:५६
14
SHARES
पोखराबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ : प्रधानमन्त्री

पोखरा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखराबाट छिट्टै नियमित अन्तर्राष्ट्रिय उडान हुने आश्वासन दिएका छन्। पत्रकार महासंघ कास्कीको आयोजनामा आइतबार पोखरामा पुरस्कार वितरण समारोहमा बोल्दै उनले सो आश्वासन दिएका हुन्।

उनले छिमेकी मित्रराष्ट्रको भ्रमणमा एउटा समझदारी बनेको र छिट्टै नियमित उडान हुने बताएका हुन्। २५ प्रतिशत ऋण अनुदानमा बदल्न सकिने सम्भावना रहेको बताउँदै उनले त्यसतर्फ आफ्नो सम्पूर्ण ध्यान रहेको जनाए।

गत वर्ष उनैले उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १५ महिनादेखि आन्तरिक उडानमै सीमित छ। यहाँबाट आधा दर्जनमात्र चार्टर्ड उडानबाहेक नियमित रूपमा अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरेली निराश छन्।

उनले भने, ‘विमानस्थललाई जसरी व्याख्या गर्ने गरिएको छ, ऋणमा डुबाएको भनिएको छ। त्यसो हैन। पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै पोखरा विमानस्थलको महत्व र भूमिका अझै धेरै स्थापित हुनेछ भन्ने मैले महसुस गरेको छु।’ नियमित उडान भर्ने वातावरण तथा ऋणको व्यवस्थापनबारे उनले ध्यानमात्र हैन, सम्भावना पनि देखेको बताए।

प्रधानमन्त्री प्रचण्डले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गर्ने गरी संरक्षण गर्ने नीति रहेको पनि बताए। उनले भने, ‘सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्धन, सञ्चारमाध्यमको संस्थागत र व्यावसायिक हितमा संस्थागत विकासका लागि सरकारले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गर्ने गरी संरक्षण गर्ने नीति राखेको छ।’

आमसञ्चारमाध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतन्त्र, लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा रहेको पनि उनको भनाइ छ।

वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको ज्ञारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माणमा कानुनी एवं व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेको उनले बताए।

प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय सूचना प्रविधि चौथो औद्योगिक क्रान्तिको रुपमा विकसित हुँदै गएको पनि बताए। ‘चौथो औद्योगिक क्रान्तिको रुपमा विकसित सूचना प्रवधिले मानव जाति र सामाजिक सम्पूर्ण अवयवका रुपमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपितु सूचना प्रविधिभन्दा बाहिरबाट मानवजातिको अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा सिंगो पुगेको पनि अनुभूति हुने गर्दछ’, उनले भने, ‘दुनियाँमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ सूचना प्रविधिको निर्णायक भूमिका नहोस्।’

हिजो सूचना सम्प्रेषणको माध्यमबाट विकसित प्रविधि क्षेत्र ज्ञान, विज्ञान, उत्पादन, निर्माण, अर्थतन्त्रको निर्णायक क्षेत्रको रुपमा यो विकसित भइसकेको उनको भनाइ छ। प्रधानमन्त्रीले पत्रकार महासंघ कास्कीको देशमै नमुना सुविधासम्पन्न बहुउद्देश्यीय भवनमा पत्रकार स्रोतकेन्द्र तथा इ–लाइब्रेरीले पत्रकारिताको विकासमा ठूलो विकास गर्ने महसुस आफूले गरेको बताए।

सो अवसरमा पत्रकार दीपेन्द्र श्रेष्ठलाई दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मान गरियो। वर्ष २०८० को सोही नामको पुरस्कार स्व. पत्रकार त्रिभुवन पौडेललाई दिइयो। प्रधानमन्त्री प्रचण्डले नगद १ लाख १ हजार १११ रुपैयाँ तथा सम्मानपत्रसहित पत्रकार श्रेष्ठ र त्रिभुवनकी धर्मपत्नी प्रतिभा अधिकारीलाई पुरस्कारबाट सम्मानित गरेका छन्।

पुरस्कृत व्यक्तित्व श्रेष्ठ पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष हुन्। पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको गत वर्ष पोखरामा भएको यती एयर दुर्घटनामा मृत्यु भएको थियो।

प्रतिभा छनोट समिति संयोजक कुशुमकेशव पराजुलीले २०५४ सालदेखि उक्त पुरस्कार वितरण हुँदै आएको बताए।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले जुन सरकार फेरिए पनि पत्रकारको हितमा कहिल्यै नभएको गुनासो गरे। महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पोखराका पालिखे परिवारले स्थापना गरेको दयाशंकर पालिखे पुरस्कार पछिल्ल्लो समय राष्ट्रियस्तरमा वितरण गर्दै आएको बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 17 =