पोखरा विमानस्थल
पोखरा- आन्तरिक उडानमै सीमित रहँदै आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबारदेखि फ्लाइ दुबईको नियमित उडान भर्ने भएको छ । पर्यटकीय राजधानी पोखरालाई अन्तर्राष्ट्रिय सहरहरुसँग जोड्न यो उडान कोशेढुंगा साबित हुने यहाँको पर्यटन व्यवसायीको विश्वास छ ।
फ्लाइ दुबईको जहाज बुधबार साँझ ६ बजेर १५ मिनेटमा अवतरणपछि पोखराबाट यात्रु लिएर साँझ ७ बजेर १५ मिनेटमा दुबईका लागि उड्ने तालिका छ। अवतरण हुने बेलामा विशेष स्वागत कार्यक्रम गरिने पोखरा महानगरपालिकाको तयारी छ । विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाई दुबईको एयर बस ३१९ मा १४० देखि १५० सम्म र एयर बस ३२० मा १६० देखि १८० सम्म यात्रु क्षमता छ। फ्लाइ दुबईले आवश्यकताअनुसार पोखराका लागि एयर बस ३१९ र ३२० आलोपालो गरी उडाउनेछ ।
पहिलो उडानमा पोखरा आउने यात्रुको संख्या उल्लेख्य छ । पोखरादेखि दुबई फर्कदा जहाजले यात्रुसहित कार्गो लिएर जानेछ । दुबई–पोखरा–दुबई उडानका लागि गत २५ जेठमा नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाइ दुबईलाई अनुमति दिएको थियो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाइ दुबईले उडान अनुमति पाएको थियो । उडान अनुमति पाएसँगै टिकट बिक्री खुला गरिएको थियो।
विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठ बताउँछन् । १ सय २० भन्दा बढी गन्तव्यमा फ्लाइ दुबईले सिधा उडान गर्दै आएको जनाउँदै उनले पोखरा–दुबई उडान प्रवद्र्धनका क्रममा यात्रु तथा साझेदार संस्थाहरुलाई छुटलगायतका सुविधा दिइने बताए । पोखरा–दुबई उडानको सफलतासँगै अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी पनि यहाँ आउन आकर्षित हुने अपेक्षा छ । फ्लाइ दुबईको उडानसँगै पोखराका पर्यटन व्यवसायीले विभिन्न सेवामा छुटको घोषणासमेत गरेका छन् ।
फ्लाइ दुबईको उडानलाई लिएर विमानस्थलको सुरक्षा सम्बन्धमा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको उपस्थितिमा मंगलबार अवलोकन तथा निरीक्षण गरिएको थियो । पोखरा–दुबई नियमित उडान पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा ल्याण्ड हुने भएपछि आवश्यक सम्पूर्ण आधिकारिक तथा प्राविधिक तयारी पूरा भइसकेको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बताए ।
उनले यसबाट नेपालको पर्यटकीय राजधानी पोखरा अन्तर्राष्ट्रिय हवाई सञ्जालमा थप जोडिने भन्दै यो नियमित उडानले पोखराको पर्यटन, व्यापार तथा अन्तर्राष्ट्रिय आवागमनलाई थप सहज र सुदृढ बनाउने विश्वास लिए । विमानस्थल संचालनको ३ वर्ष बितिसक्दासमेत नियमित अन्तरदेशीय उडान हुन सकेको थिएन । भारत, चीन र भुटानबाट भने केही चार्टर उडान भएका थिए । तत्कालीन प्रधानमन्त्री प्रचण्डले विमानस्थल उद्घाटन गरेका थिए ।



