यसकारण पोखरा ‘पर्यटकीय राजधानी’, पर्यटन व्यवसायी उत्साहित

विजय नेपाल ४ चैत २०८० ११:१७
70
SHARES
यसकारण पोखरा ‘पर्यटकीय राजधानी’, पर्यटन व्यवसायी उत्साहित पोखरा लेकसाइड

पोखरा- पोखरा प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदाले भरिपूर्ण सहर हो। गण्डकी प्रदेशको राजधानी रहेको पर्यटकीय नगरी पोखरा नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पनि हो। नेपाल घुम्न आउने पर्यटकमध्ये करिब ४० प्रतिशत यहाँ आउने अनुमान छ।

पर्यटकीय आकर्षणहरू, पर्यटकीय गतिविधि, पहुँच, आवास, पर्यटकीय सेवासुविधा, सेवा प्रदायक तथा कानुनी संरचनाले भरिपूर्ण भएकोले विश्वको कुनै पनि गन्तव्यभन्दा पोखरा कम छैन।

संसारभरका पर्यटकको रोजाइको यो सहर आफैँमा पर्यटनको हब हो। त्यसैले पनि यहाँका पर्यटन व्यवसायीले बेलाबेलामा पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने माग राख्दै आएका थिए। त्यसले आइतबार (४ चैतमा) मूर्त रूप लिँदैछ।

पोखरालाई कहिले पर्यटनको राजधानी, कहिले खेलकुदको राजधानी, कहिले साहित्यको राजधानी, कहिले फिल्म नगरी आदि आदिले पुकारिने नगरिएको होइन। यहाँका पर्यटन व्यवसायीले गएको १५ वर्षदेखि त पोखरालाई पर्यटनको राजधानी हुनुपर्नेमा माग जोडतोडका साथ राख्दै आएका थिए।

संघीयतासँगै गण्डकी प्रदेश सरकारले २०७५ सालमा प्रदेश राजधानी पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने निर्णय गरेको थियो। त्यसको खासै पहल नभए पनि तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पालामा २०७८ कात्तिक २९ को प्रदेश मन्त्रिपरिषद् बैठकले राजधानी घोषणाका लागि संघ सरकारलाई अनुरोध गर्ने निर्णय गर्‍यो।

गत वर्षको स्थानीय तह चुनावपछि पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्य नेतृत्वको पहिलो निर्णय नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने र त्यसका लागि संघ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

संघ सरकारले त्यसबारे चासो नदेखाएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले पर्यटकीय राजधानी घोषणाका लागि गत मंसिर १२ गते प्रदेशका नीति तथा योजना आयोग उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा संयोजकत्वमा ११ सदस्यीय अध्ययन समिति गठन नै गठन गर्‍यो।

समितिले आवश्यक अध्ययन गरी ३० दिन प्रतिवेदन बुझाउने समय तोकिएकोमा विभिन्न २० सूचकमा टेकेर अध्ययन गरी मुख्यमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको थियो। सोहीबमोजिम गत फागुन २३ को मन्त्रिपरिषद् बैठकले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको हो।

विदेशमा पनि अभ्यास

संघाइ कर्पोरेसन अर्गनाइजेसनले बर्सेनि सदस्य राष्ट्रका सहरलाई पर्यटकीय राजधानी घोषणा गर्छ। गत वर्ष काजकिस्तानको अमाती सहर पर्यटकीय राजधानी घोषणा गरिएकोमा अघिल्लो वर्ष भारतको बनारस प्रथम सांस्कृतिक तथा पर्यटकीय राजधानी घोषित भयो।

फ्रान्सको राजधानी पेरिस ‘सिटी अफ लाइट्स्’, अमेरिकाको न्यूयोर्क ‘दी बिग एप्पल’, मलेसियालाई ‘ट्रुली एसिया’ र छिमेकी राष्ट्र भारत ‘इन्क्रिडिवल इन्डिया’ घोषणा गरेर ब्रान्डिङका प्रयास नभएका होइनन्।

घोषणापछि अपेक्षित प्रभाव

पोखरामा अन्तर्राष्ट्रियस्तर तथा राष्ट्रियस्तरका अनुपम विशेषता छन्। समितिले पर्यटकीय राजधानी घोषणापछि विभिन्न सुझावसहित अपेक्षा दर्शाएको छ। घोषणापछि गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नीति, योजना र कार्यक्रममा पर्यटन क्षेत्रले प्राथमिकता पाउने, पोखराको पर्यटकीय ब्रान्डिङ गर्ने अभियानमा टेवा मिल्ने, पोखराको पर्यटकीय बजारीकरण तथा प्रवद्र्धनमा बल पुग्ने, गण्डकी प्रदेशका पोखरा लगायत अन्य स्थानीय तहबीच पर्यटन विकास योजना र सेवाप्रवाहमा सहकार्य हुने, पर्यटन व्यवसायीमा ऊर्जा मिल्ने, बाह्य तथा आन्तरिक लगानीमैत्री वातावरण सिर्जना हुने अपेक्षा छ।

यहाँको पर्यटन प्रवर्धननमार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन, रोजगारी सिर्जना, गरिबी निवारणसहित समग्र गण्डकी प्रदेशसँगै राष्ट्रकै समृद्धि हुने अपेक्षा पनि गरिएको छ।

समितिको प्रतिवेदनमार्फत विभिन्न सुझाव पनि दिएको छ। जसअन्तर्गत गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको एकीकृत पर्यटन गुरुयोजना तर्जुमा गर्ने, पोखराको सहरी विकास नीति तर्जुमा गर्ने, पोखराको सहरी योजना तर्जुमा गर्ने, प्रादेशिक तथा महानगरी आवधिक योजनामा पर्यटकीय राजधानी पोखरालाई प्राथमिकता दिने गरी योजना तर्जुमा गर्ने, पोखरासहित अन्य स्थानीय तहले नीति तथा कार्यक्रममा राजधानी पोखराको समुन्नतिमा योगदान पुग्ने गरी प्राथमिकीकरण गर्नुपर्नेछ।

ट्राफिक तथा यातायात व्यवस्थापन सुधार, एक्यापको प्रवेश अनुमतिलाई बढीमा १ महिनासम्मको लागि बहुप्रवेशी बनाउने, पोखरा सबै मौसमका लागि भन्ने अभियान कार्यान्वयन गर्न मनसुन टुरिजम प्रवद्र्धनमा आवश्यक योजना, नीति तथा कार्यक्रम तर्जुमा गर्ने, पोखराको पर्यटकीय उपजको पाश्र्वचित्र निर्माण गर्ने, नीति, योजना तथा कानुन पर्यटनमैत्री हुने गरी संशोधन गर्नुपर्ने विषय सुझाएको छ।

पूर्वाधारतर्फ फिर्केखोला तथा सेती नदी करिडोर निर्माण, बेगनास–फेवाताल साइकल पथ निर्र्माण, आरोग्यधाम निर्माण, पञ्चासे जैविक विविधता संरक्षण तथा प्रवद्र्धन, बोटानिकल गार्डेन, पार्क निर्माण तथा खुला क्षेत्र संरक्षण एवं प्रवद्र्धन, रत्न मन्दिर बगैँचा निर्माण तथा प्यालेस म्युजिमय निर्माण, पोखरी तथा चौतारी निर्माण एवं संरक्षण, कोरोला–पोखरा–नवलपुर दू्रतमार्ग निर्माण, आधुनिक टर्मिनलसहितको बसपार्क निर्माण, ग्रिन पोखरा, क्लीन पोखरा अभियान सञ्चालन, गुणस्तरीय सडक निर्माण, स्तरोन्नति तथा सडक सञ्जाल विस्तारमा जोड, यहाँका पर्यटकीय गन्तव्यको छनोट, विकास र प्रवर्धन, मुक्तिक्षेत्र प्रवेशद्वार निर्माण तथा प्रवर्धनमा जोड दिएको छ।

सेवाको गुणस्तर बढाउनुपर्नेतर्फ पनि समितिको सुझाव छ। पोखराबाट अन्तर्राष्ट्रिय उडानमा जोड, विमानस्थलबाट सार्वजनिक सटल बस सेवा संचालन, प्रदूषित सवारीसाधन निषेध, विद्युतीय सवारीसाधन (ईभी) लाई प्रोत्साहन, सडक–मानवरहित पोखरा निर्माण, छाडा पशुचौपाया नियन्त्रण, स्थानीय तथा रैथाने कृषि उपज तथा परिकारको संरक्षण र प्रवद्र्धन, नियमन, सुपरीवेक्षण प्रणालीको विकाससहित अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिका योजना पनि अघि सार्नुपर्ने सुझाव दिएको छ।

पोखरा क्षेत्रको पर्यटनमा ७ खर्ब लगानी

पोखरा आसपासको पर्यटनमा ७ खर्ब लगानी रहेको अनुमान छ । पोखरामै करिब ६ खर्बको लगानी रहेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँन । पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो हिस्साको लगानी होटलले ओगटेको छ । सुवेदी भन्छन्, ‘करिब पौने ५ खर्बको लगानी त होटलकै छ । यो लगानी सुरक्षित गर्दै अझै पर्यटन प्रवद्र्धनमा राजधानी घोषणाले टेवा मिल्ला।’

उनका अनुसार संघमा ४ सय २५ सदस्य छन् । पोखरा र आसपासमा १ हजार २ सय होटल छन् । लेकसाइड र ड्यामसाइडमा मात्रै ७ सय होटल छन्। पोखराका होटलमा ४० हजार बेड छन् । एकै पटक ४० हजार मानिस आए पनि पोखराले धान्न सक्छ। यहाँको होटल क्षेत्रले १५ हजार कर्मचारीलाई रोजगारी दिलाएको छ।

पर्यटन व्यवसायी उत्साहित छौँ
पोमनारायण श्रेष्ठ : अध्यक्ष, पोखरा पर्यटन परिषद् ।

पोखरालाई औपचारिक रूपमा पर्यटकीय राजधानी घोषणाले ऊर्जा मिलेको छ। हामी उत्साहित छौँ। नेपालकै प्रमुख पर्यटकीय नगरी पोखरालाई अब ‘पर्यटकीय राजधानी’ घोषणाले ट्रान्जिटका रूपमा ब्रान्डिङ हुनेमा अवसर प्रदान गर्नेछ । यसका साथै अबदेखि केन्द्र, प्रदेश, स्थानीय सरकार सबै तिनै तहका सरकारले आआफ्नो कार्यक्रममा पोखरा क्षेत्रमा धेरैभन्दा धेरै पर्यटक कसरी भित्राउन सकिन्छ भन्ने योजनाका साथ बजेट विनियोजन गर्नुपर्छ । यसमा हामी पर्यटन व्यवसायीहरू पनि सरकारसँग हातेमालो गर्दै अघि बढ्नेछौँ।

राजधानी घोषणाले पोखरा फेरि घुम्न जानुपर्छ भन्ने भावना यहाँ आइसकेकालाई पनि फेरि विकास गर्नेछ। पर्यटन प्रवर्धन र विकासमा अन्तर्राष्ट्रियरुपमा प्रचार गर्नेछ।  नेपालमा बर्सेनि १०/११ लाख पर्यटक भित्रिने गरेको तथ्यांक छ, अब हामीहरु गण्डकी प्रदेश क्षेत्रमै २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ अघि बढ्नुपर्छ । पर्यटकको बसाइँ कसरी लम्ब्याउने भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ। पोखरा घुम्ने पर्यटक सरदर २/३ दिन बस्ने गरेकोमा अब अवधि लम्ब्याउन वातावरण मिल्नेछ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा दबाब हुनुका साथै निर्माणाधीन बाटोघाटो लगायत समयमै सम्पन्न गर्न बल मिल्नेछ। हामी पर्यटकीय गन्तव्य संरक्षण गर्दै नयाँ नयाँ गन्तव्य पहिल्याउनु पर्दछ। पोखरा घुम्ने आउने पर्यटकको अभिलेख राखिनुपर्दछ। अहिले अभिलेख राख्ने प्रचलन हटेको छ।

प्रकाशित: ४ चैत २०८० ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =