निस्सिम थापाको मृत्यु गम्भीर लापरबाहीले भएको दाबी, दोषीलाई कारबाही माग

हिमाल प्रेस २० मंसिर २०८० १९:४२
386
SHARES
निस्सिम थापाको मृत्यु गम्भीर लापरबाहीले भएको दाबी, दोषीलाई कारबाही माग

पोखरा- नवौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङ प्रतियोगितामा दुर्घटनामा ज्यान गुमाएका निस्सिम थापाको मृत्यु गम्भीर लापरबाहीका कारण भएको निस्सिम थापा फाउन्डेसनले दाबी गरेको छ। फाउन्डेसनले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी प्याराग्लाइडिङ पाइलट थापाको मृत्युको उचित छानबिनसहित दोषीलाई कडा कारबाहीको मागसमेत गरेको हो।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएका थापाको गत वर्ष ३० असोजमा मृत्यु भएको हो। सराङकोटस्थित ब्लु स्काई टेकअप जोनबाट उडान भरेको ३ मिनेटमै प्याराग्लाइडिङ खसेको थियो। गोरखा स्थायी घर भई पोखरा लेकसाइड बस्दै आएका २६ वर्षीय थापा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट भाग लिएका थिए।

दुर्घटनाको करिब १४ महिनापछि आएर फाउन्डेसनले निस्सिमको मृत्यु भवितव्य नभई सुनियोजित रूपमा घटाइएको भन्दै विभिन्न संघसंस्था र तिनका पदाधिकारीलाई आरोप लगाएको छ। निस्सिमका बुबा एवं फाउन्डेसन अध्यक्ष प्रकाश थापाले पुत्रवियोगबाट आफू बाहिर निस्कन नसकेको भन्दै यसप्रकारका ‘हत्याकाण्ड’ रोकिनुपर्ने माग गरे। उनले नागरिक उड्डयन मन्त्रालयको अनुमतिबिना प्याराग्लाइडिङ सञ्चालन गरिएको आरोप लगाए।

नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ एसोसिएसन, नेफा काठमाडौंका पदाधिकारीले नितान्त हवाई विधा प्याराग्लाइडिङलाई ग‌ैरकानुनी रूपमा प्राधिकरणको अनुमतिबिना राष्ट्रिय खेलकुदमा समावेश गरी पाइलट र यात्रुको जीवन जोखिममा राखी पचासौं लाख रकम पेस्की लिएर दुरुपयोग गरेको उनको आरोप छ। साथ‌ै प्याराग्लाइडिङ तयारीका लागि प्राप्त हुने ठूलो धनराशि पनि दुरुपयोग गरेको उनले आरोप लगाए।

नेपाल हवाई खेलकुद संघ पोखरामा तत्कालीन अध्यक्ष सुनिलबहादुर भट्टराई, राखेपका तत्कालीन सदस्य सचिव टंकलाल घिसिङ, तत्कालीन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, नेफा अध्यक्ष रूपनारायण श्रेष्ठ, महासचिव शैलेन्द्र राउत, सचिव इन्द्र भण्डारीलगायतको गम्भीर लापरबाही भएको आरोप लगाइएको छ। त्यसबेला प्रतियोगिताका लागि कुनै पनि सुरक्षाको व्यवस्था नगरिएको र प्रतियोगिताका मुख्य सेफ्टी डाइरेक्टर योगेश भट्टराईको असक्षमता र कमजोरी मृत्युको मुख्य कारण भएको फाउन्डेसनको आरोप छ। भट्टराईले निस्सिमलाई दिएको उडान निर्देशनको ३ मिनेटमै सो दुर्घटना भएको थियो। पत्रकार सम्मेलनमा फाउण्डेसन अध्यक्ष प्रकाश थापाले मुख्य प्रशिक्षक एवं इभेन्ट डाइरेक्टर भट्टराईले १० वर्षदेखि प्याराग्लाइडिङ नउडाएको र उनको कुनै पनि ज्ञान नभएको आरोप लगाए।

निस्सिमकी आमा सावित्री थापा मोक्तानले मृत्युको क्षतिपूर्ति हुन नसक्ने भन्दै पत्रकार सम्मेलनमा भावुक बनिन्। उनले छोराको मृत्युमा प्याराग्लाइडिङसम्बद्ध संघसंस्था र तिनका पदाधिकारीहरू मुख्य दोषी भएको भन्दै कारबाहीको माग गरिन्। उनले भनिन्, ‘छोराको मृत्युमा निकै विक्षिप्त छौं। यस्तो घटना अब नघटोस् भनी जिम्मेवार बन्न सम्बद्ध पक्षलाई हाम्रो माग छ।’ टेक अफ जोनमै केसी कन्स्ट्रक्सनले धारिला फलामे रडहरू राखेर असुरक्षित बनाउनु पनि दुर्घटनाको कारण भनिएको छ।

नवौं राष्ट्रिय खेलकुदमा अन्तिम समयमा अवैध रूपमा प्याराग्लाइडिङ प्रतियोगिता छिराइएको फाउण्डेनसको दाबी छ। फाउण्डेसनका अनुसार ३० असोजमा भएको दुर्घटनाको १६ दिनअघिमात्र अवैधानिक बाटोबाट राखेपमा समावेश गरेर प्रतियोगिता खेलाइएको बताइएको छ। प्याराग्लाइडिङ नाममा नेफाका तत्कालीन महासचिव शैलेन्द्र रावतले राखेपबाट रकम लिई दुरुपयोग गरेको समेत फाउन्डेसनको आरोप  छ।

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रि-वर्ल्डकपहरूमा भाग लिएका निस्सिम प्याराग्लाइडिङका उदीयमान खेलाडी थिए। उनको सम्झनामा पोखरा रंगशालालमा सालिक निर्माणाधीन छ। पृथ्वीनारायण क्याम्पसमा एमए समाजशास्त्रमा दोस्रो वर्षका विद्यार्थी निस्सिम थापा परिवारको एक्ला छोरा थिए।

प्रकाशित: २० मंसिर २०८० १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − ten =