पौडी खेल्ने क्रममा डुबेर पोखरामा दुई बालकको मृत्यु

हिमाल प्रेस २३ वैशाख २०८१ २०:३०
26
SHARES
पौडी खेल्ने क्रममा डुबेर पोखरामा दुई बालकको मृत्यु प्रतीकात्मक तस्बिर।

पोखरा- पौडी खेल्ने क्रममा डुबेर पोखरामा आइतबार दुई बालकको मृत्यु गएको छ। हर्पन खोला र फुस्रेखोलामा गरी दुई छुट्टाछुट्टै घटनामा ती बालकले अकालमा ज्यान गुमाएका हुन्।

पोखरा-१८, खपौदीस्थित हर्पनखोलामा पौडी खेल्ने क्रममा स्याङ्जा स्थायी घर भई हाल पोखरा-५, मालेपाटन निवासी सोनम सुवेदीको ज्यान गएको हो। १५ वर्षीय साथी सञ्जय कार्कीसँगै उनी पौडी खेल्न गएका थिए।

आइतबार दिउँसो सोनम डुबेको थाहा पाएपछि उद्धारका लागिएको प्रहरी टोलीले उनलाई दिउँसो २ बजेर २४ मिनेटमा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्त शर्माले बताए। पारिवारिक स्रोतका अनुसार सोनमले भर्खरैमात्रै अमरसिंह माविबाट एसईई परीक्षा दिई बसेका थिए।

यस्तै पोखरा-१७, पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा १७ वर्षीय सुप्रिम पौडेलको ज्यान गएको छ। जनप्रिय मावि कक्षा १० अध्ययनरत उनी पोखरा नागढुंगा निवासी हुन्।

सशस्त्र प्रहरीको कालिका गणबाट खटिएको विशेष विपद् उद्धार तथा गोताखोर विपद् टोलीले युवकको उद्धार गरेको थियो। दुवै शव गण्डकी हस्पिटलमा पोष्टमार्टमका लागि पठाइएको सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताए।

प्रकाशित: २३ वैशाख २०८१ २०:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =