बागलुङमा लम्पी स्किनबाट तीन करोड रुपैयाँ बराबरको क्षति

हिमाल प्रेस १० भदौ २०८० ९:५१
बागलुङमा लम्पी स्किनबाट तीन करोड रुपैयाँ बराबरको क्षति फाइल तस्बिर पशु सेवा विभाग।

गलकोट- लम्पी स्किन रोग संक्रमणबाट बागलुङमा करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ। यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म ६ सय १७ पशुको मृत्यु भएको बताइएको छ।

लम्पी स्किनबाट गाईगोरुको क्षति बढी भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जानकारी दिएको छ। केन्द्रका अनुसार कुल मृत्युमध्ये २.६३ प्रतिशत भैँसी रहेको तथ्यांक छ।

अधिकांश क्षति गाईगोरुमा देखिएको छ। केन्द्रले संकलन गरेको तथ्यांकअनुसार स्थानीय गाईगोरु र भैँसीको करिब ३० देखि ४० हजार र उन्नत जातको एक लाखसम्मको मूल्य पर्ने भएकाले सरदरमा तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिए।

उनका अनुसार अमेरिकन स्वाइन फिबरबाटसमेत बागलुङका बङ्गुरपालन किसानले लाखौँ नोक्सानी ब्यहोरेका छन्। उनले एक सय २२ बङ्गुर मरेको तथ्यांक ल्याब परीक्षणबाट पुष्टि भए पनि किसानले चार सय बङ्गुर मरेको दाबी गर्दै आएका बताए।

बङ्गुरपालक किसानको नोक्सानीप्रति विज्ञ केन्द्रले किसानलाई पुनःस्थापनका लागि चालु आर्थिक वर्षमा १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको उनको भनाइ छ।

पाँच हजार पशुलाई लम्पी स्किनको खोप

लम्पी स्किन रोगबाट पशुलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइएको केन्द्रले जानकारी दिएको छ। खोप लगाउने पशुको संख्या बढेपछि रोग नियन्त्रणउन्मुख भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङको भनाइ छ।

जिल्लामा गोरुगाई र भैँसीमा फैलिरहेको लम्पी स्किन रोगबाट बचाउनका लागि निजी र स्थानीय तहले चालेको खोप अभियानमा भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्र बागलुङलेसमेत थप पाँच हजार खोप वितरण गरेको पशु प्राविधिक केशवप्रसाद शर्माले जानकारी दिए। ‘हालसम्म पाँच हजार पशुलाई खोप लगाइएको छ भने अझै खोप लगाउने क्रम जारी छ। बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले आफैँ खरिद गरेर एक हजार एक सय खोप लगाइसकेका छन्,’ उनले भने, ‘केही गाई फार्मले आफैँ खोप लगाएका थिए। भदौको मध्यतिर ६ हजार पशुले खोप पाइसक्ने छन्, खोपका कारण अहिले लम्पी स्किन रोगको संक्रमण र मृत्युदरसमेत घटेर गएको पाइएको छ।’

भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ढोरपाटन नगरपालिकामा पाँच सय ५०, गलकोट नपामा पाँच सय, निसीखोला गाउँपालिकामा पाँच सय, तमानखोलामा पाँच सय, बडिगाडमा चार सय, ताराखोलामा तीन सय, बरेङमा दुई सय, काठेखोलामा पाँच सय, बागलुङ नपामा पाँच सय २५ र जैमिनी नपामा पाँच सय डोज खोप वितरण गरिएको बताएको छ।

जसमध्ये एक हजार एक सय खोप लगाउने क्रममा रहेको र अन्य खोप भने पशुलाई लगाइसकेको छ। लम्पी स्किनको सुरुवाती चरणमा बडिगाडले एक सय २५, काठेखोलाले एक सय, बागलुङ नपाले चार सय २५ र जैमिनी नपाले चार सय ५० डोज खोप पालिकाकै खर्चले लगाइसकेका थिए।

लम्पी स्किन रोगविरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिएपछि रोग फैलिने क्रम कम भएको छ। जिल्लाको निसीखोला, ढोरपाटन र बडिगाडमा लम्पी स्किनबाट गाई तथा गोरु बढी प्रभावित बनेको तथ्यांक छ। रासस

प्रकाशित: १० भदौ २०८० ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =