लम्पी स्किनकाे असर : चितवनमा दूध उत्पादन घट्यो

हिमाल प्रेस ३० साउन २०८० १७:०७
6
SHARES
लम्पी स्किनकाे असर : चितवनमा दूध उत्पादन घट्यो

चितवन- जिल्लामा दूध उत्पादन घटेको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशुविकास अधिकृत डा. रामचन्द्र आचार्यले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा दूध उत्पादन ११.९ प्रतिशत घटेको जानकारी दिए।

उनका अनुसार अघिल्लो आवमा ११ करोड १५ लाख २७ हजार लिटर दूध उत्पादन भएकोमा गत आवमा ९ करोड ८१ लाख ४३ हजार लिटरमा सीमित भएको छ। उनका अनुसार अघिल्लो आवमा दैनिक सरदर ३ लाख ५ हजार ५ सय ५३ लिटर दूध उत्पादन भएकोमा गत आवमा दैनिक २ लाख ६८ हजार ८ सय ८४ लिटर दूध उत्पादन भएको छ।

उनका अनुसार २०७७ बाट सुरु भएको लम्पी स्किन रोगको संक्रमणले दूध उत्पादनमा कमी आएको हो। रोग संक्रमण भएपछि पशुले दूध उत्पादन घटाउने, गाईभैँसी मर्ने र बजारमा दूधको माग कम भएपछि किसानले पशु पाल्न कम गर्दा उत्पादन घटेको उनले बताए। ‘लम्पी स्किनका कारण दूध उत्पादनमा कमी आएको छ। बजारमा दूधको माग पनि घटेको छ,’ उनले भने।

दूध उत्पादन बढाउनका लागि जिल्लामा लम्पीस्किनविरुद्धको खोप अभियान सञ्चालन गरिएको उनले जानकारी दिए। लम्पी स्किन रोग नियन्त्रणमा आएपछि विस्तारै दूध उत्पादन बढ्ने उनको विश्वास छ। ‘जाडो मौसम सुरु भएसँगै रोगको संक्रमण कम हुने र दूध उत्पादनमा वृद्धि हुने अनुमान गरेका छाैँ,’ उनले भने।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दैनिक दूध उत्पादनमा गिरावट आएको बताए। ‘रोग लागेपछि दूध उत्पादन घट्ने र गाईभैँसी मर्ने हुँदा दूध उत्पादनमा कमी आएको छ,’ उनले भने।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका अनुसार जिल्लामा ९३ हजार १ सय ८२ गाई र ७२ हजार ९ सय ७८ भैँसी पालन गरिएको छ। कार्यालयका अनुसार जिल्लामा हालसम्म ११ हजार ४ सय ७० पशुमा लम्पी स्किन रोगको संक्रमण देखिएको छ।

यो रोगका कारण हालसम्म जिल्लामा २ सय ९५ गाई मरेका छन्। संक्रमण बढ्दै गएकाले  प्रभावित क्षेत्रमा जैविक सुरक्षा अपनाउनुका साथै खोप लगाउने काम भइरहेको डा. आचार्यले बताए।

हालसम्म २० हजार ९ सय १२ डोज खोप पशुमा लगाइएको छ। अहिले प्रदेश सरकारले लम्पी स्किनविरुद्धको खोप अभियानसमेत साताव्यापी रूपमा सञ्चालन गरिरहेको बताउँदै उनले संक्रमणमा केही कमी आउने विश्वास व्यक्त गरे। रासस

प्रकाशित: ३० साउन २०८० १७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =