भारतीय निर्वाचन : यी हुन् केही रोचक क्षेत्र

हिमाल प्रेस १६ वैशाख २०८१ १९:०६
16
SHARES
भारतीय निर्वाचन : यी हुन् केही रोचक क्षेत्र

काठमाडौँ- भारत सामान्यतया बढी हल्ला हुने देश हो। हालका दिनमा यहाँ बढी नै हल्ला भइरहेको छ। यसको कारण हो, आम निर्वाचन। राष्ट्रिय तथा क्षेत्रीय पार्टीबाट हजारौँ उम्मेद्वार यतिबेला चुनावी मैदानमा छन्। उम्मेद्वारको सूचीमा स्वतन्त्र पनि छन्। हरेक उम्मेद्वारको उद्देश्य एउटै होे, मतदाताको ध्यान तान्ने। करिब एक अर्ब मतदाताको ध्यान तान्न उम्मेद्वारहरू दिनहुँ चर्को भाषण, र्‍याली र सभा आयोजना गरिरहेका छन्।

मतदान फरक फरक चरणमा भइरहेको छ। यहीबेला भारतलाई गर्मीले छोपेको छ। तर गर्मीले राजनीतिकर्मीको उत्साह खडेरी ल्याउन सकेको छैन। प्रधानमन्त्री नरेन्द्र मोदी देशको भिन्दाभिन्दै सहरमा पुगिरहेका छन्। तेस्रो पटक प्रधानमन्त्री बन्ने लक्ष्य राखेको मोदी आक्रामक र भारतीय समाजलाई विभाजित गर्ने खालका भाषण गरिरहेका छन्। भारतीय जनता पार्टी भाजपालाई फेरि एकपल्ट सत्तामा पुग्नबाट रोक्न २० पार्टीले गठबन्धन गरेका छन्। जसको अग्रपंक्तिमा कांग्रेसका राहुल गान्धी छन्।

विश्वमै सर्वाधिक जनसंख्या भएको भारतमा प्रत्येक पाँच वर्षमा निर्वाचन हुने गर्छ। तल्लो सदन लोकसभाको ५४३ सिटका लागि नेता मात्र प्रतिस्पर्धामा छैनन्। कलाकार, खेलाडी र अर्बपति पनि मैदानमा छन्। तीमध्ये केही उम्मेद्वार र क्षेत्रको चर्चा यहाँ गरिनेछ।

अमेठी–वायानाड

के राहुल यसपालि अमेठीबाट चुनाव लड्छन्? यो विषयमा कांग्रेसवृत्तमा असाध्यै चर्चा हुने गरेको छ। अमेठीका मतदाताले पनि यो प्रश्नको जवाफ खोजी गर्ने गरेका छन्। अमेठी परम्परागत रुपमा कंग्रेसी गढ हो। विशेषगरी गान्धी परिवारबाटै यहाँ कोही न कोही उम्मेद्वार बन्दै आइरहेका छन्। पछिल्लो निर्वाचनको कुरा गर्ने हो भने, यहाँ राहुल पराजित भएका थिए। भाजपाकी स्मृति इरानीले उनलाई पराजित गरेकी थिइन्।

सर्वाधिक जनसंख्या र सिट भएको उत्तर प्रदेशको यो सानो सहर अमेठीले राहुललाई तीन पटक आफ्नो प्रतिनिधि चुनेको छ। उनीअघि उनका पिता र काकालाई पनि यही क्षेत्रले सांसद बनाएको थियो।

राहुल अमेठी फर्कन्छन् वा फर्कदैनन्? यसको जवाफ न उनले दिएका छन् न त पार्टीले दिएको छ। यद्यपि उनी दक्षिण भारतको वायानाडबाट भने चुनाव लड्ने पक्का भइसकेको छ। गत निर्वाचनमा उनी अमेठीमा हारे पनि केरलाको यो क्षेत्रमा भने विजयी भएका थिए। भारतीय राजनीतिमा एक नेता दुई क्षेत्रबाट चुनाव लड्नु नौलो होइन। तर कांग्रेसले राहुललाई अमेठीको टिकट दिनेबारे निर्णय गरेको छैन। उता इरानीको उम्मेद्वारी भने पक्का भइसक्यो।

उत्तर प्रदेशमा सात चरणमा मतदान हुने तालिका छ। अमेठीमा मे २० मा मतदान हुनेछ। यो क्षेत्रको प्रतिस्पर्धालाई लिएर व्यापक चासो छ।

रायबरेली

अमेठीभन्दा ६० किलोमिटर पर रहेको रायबरेलीले गान्धी परिवारकै सदस्यलाई प्रतिनिधि चुन्दै आएको हो। यो क्षेत्रबाट लगातार पाँच पटक सांसद बनेकी सोनिया गान्धी यसपल्ट चुनावी दौडमा छैनन्। सोनियाकी सासु तथा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीलाई तीन पटक सांसद बनाएको रायबरेलीमा कांग्रेसले कसलाई उम्मेद्वार बनाउँछ भन्ने टुंगो छैन।

उसो त सोनिया पुत्री प्रियंकाले टिकट पाउने चर्चा पनि चलिरहेको छ। कतिपय भारतीय अखबारले सोनियाको भतिजा वरुण गान्धीको सम्भावनाबारे पनि लेखेका छन्। यो क्षेत्रबाट उनी उम्मेद्वार बन्नसक्ने चर्चाको मुख्य कारण उनले पिलिभित क्षेत्रबाट टिकट नपाउनु हो। जहाँबाट उनले सन् २०१९ को निर्वाचन भाजपाको टिकटमा जितेका थिए। पछिल्ला दिनमा भारतीय सञ्चारमाध्यमहरूले उनलाई भाजपाले रायबरेलीबाट चुनाव लडाउन खोजेको पनि लेखेका छन्। तर उनले यहाँ प्रियंकालाई सहयोग गर्ने सम्भावना बढी छ।

लद्दाख

भारतीय पर्यटनमा महत्त्वपूर्ण हिस्सा ओगटेको लद्दाख चर्चा पाइरहेको अर्को चुनावी क्षेत्र हो। भारत र चीनका फौजबीच बारम्बार घम्साघम्सी हुने भएकाले पनि चर्चित लद्दाखमा पुनः एकपटक भाजपा विजयी हुने लक्ष्यमा छ। यहाँ पछिल्ला दुई निर्वाचनमा भाजपाका उम्मेद्वार विजयी भएका थिए।

यसपालि भने स्थिति भाजपको पक्षमा नरहेको आँकलन छ। किनभने लद्दाखका स्थानीय भाजपा र केन्द्रिय सरकारप्रति रुष्ट छन्। सन् २०१९ मा जम्मु काश्मिरबाट छुट्टयाइएपछि निरन्तर राज्यको हैसियत मागिरहेको लद्दाखमा परिचित अभियानकर्ता सोना वाङ्चुक आन्दोलित छन्। तिब्बत र पाकिस्तानले घेरिएको लद्दाखमा जलवायु परिवर्तनको गहिरो असर परिररहेको तर सरकारलाई यसले नछोइरहेको वाङ्चुकको आरोप छ। उनको आरोपमा लद्दाखको नागरिक समाज एकबद्ध रहेको बताइन्छ। यसबाहेक भाजपालाई असर पार्नसक्ने अर्को पक्ष हो, उम्मेद्वारी चयन। सन् २०१९ मा निर्वाचित भएका जामयाङ छिरिङ नाम्ग्याललाई छाडेर नयाँ उम्मेद्वार उठाएको छ भाजपाले।

थिरुभनन्थापुरम

थिरुभनन्थापुरम केरलाको प्रशासनिक मात्र होइन पर्यटन राजधानी पनि हो। समुद्री तट, ‘ब्याकवाटर’ र आर्युवेदका लागि लोकप्रिय रहेको थिरुभनन्थापुरममा त्रिपक्षीय भिडन्त हुने अनुमान छ। लगातार चार पटक चुनाव जित्ने आत्मविश्वासमा रहेका कांग्रेसी नेता शशी थरुरलाई भाजपाका राजीव चन्द्रशेखरले टक्कर दिने आकलन छ। यहाँ विस्तारै आफ्नो धरातल बलियो बनाउँदै गइरहेको भाजपाबाहेक अर्को बलियो शक्ति भारतीय कम्युनिस्ट पार्टी सीपीआई हो। रोचक के छ भने थरुर र चन्द्रशेखर दुवै केरलाको दोस्रो ठूलो हिन्दू समुदाय नायरको प्रतिनिधित्व गर्छन्। यहाँको सबैभन्दा ठूलो हिन्दू समुदाय इजहभा भने परम्पारगत रुपमा कम्युनिस्ट भोट ब्यांक हो।

कोयम्बतुर

तामिलनाडुको कोयम्बतुर सहरलाई दक्षिण भारतको म्यानचेस्टर मानिन्छ। यसको कारण हो, औद्योगिकरण। तामिलनाडुमा भारतका केही थोरै राज्यहरूमध्येको एक हो जहाँ भाजपाले प्रभाव विस्तार गर्न सकेको छैन। प्रधानमन्त्री मोदी तामिलनाडु मात्र होइन दक्षिण भारतभर प्रभाव विस्तारका लागि लगातार प्रयास गरिरहेका छन्। तर भाजपाले सफलता हात पारेको छैन। झन् तामिलनाडु त टसमस हुन मानेको छैन। तामिलनाडुमा केही सिट मात्र भए पनि जित्ने प्रयासमा रहेको भाजपाले पूर्वप्रहरी के अन्नामलाईलाई आफू मुख्य ‘फेस’ बनाएको छ। सधैँ सत्तामा रहने गरेका क्षेत्रीय पार्टीका बलिया उम्मेद्वारसँग कोयम्बतुरमा भिड्न लागेका अन्नामलाईले चुनावी प्रचारप्रसारका क्रममा करिब १० हजार किलोमिटर पदयात्रा तय गरेको बताइन्छ। जसकारण उनको र भाजपाको लोकप्रियता बढेको आकलन छ। अन्नामलाईको तारिफ गरिरहने मोदी यो वर्ष मात्र ६ पटक तामिलनाडु पुगिसकेका छन्।

कृष्णनगर

पश्चिम बंगालको राजधानी कोलकाताबाट केही टाढा रहेको कृष्णनगर चुनावी प्रतिस्पर्धाको केन्द्रमा छ। कुल ४२ सिट रहेको पश्चिम बंगालमा भाजपाले गएको निर्वाचनमा १८ सिट जितेको थियो। त्यसबेला २२ क्षेत्रमा विजयी भएको तुणमुल कांग्रेसलाई पछि पार्ने लक्ष्यमा भाजपा यसपटक पनि छ। यद्यपि यसो गर्न सजिलो छैन। यसको स्वाभाविक कारण ममता बेनर्जी हुन्।

तुणमुलकी अध्यक्ष ममताले यसपालि पनि कृष्णनगर क्षेत्रमा महुवा मोइत्रालाई उठाएकी छन्। गत निर्वाचनमा विजयी बनेका मोइत्रा संसद्मा भाजपाविरुद्ध चर्को भाषण गर्ने थोरै नेतामध्येकी एक हुन्। संसदीय मर्यादा उल्लंघन गरेको भन्दै उनलाई गत वर्ष लोकसभाबाट निलम्बन समेत गरिएको थियो। उनीविरुद्ध भाजपाले अमृत रोयलाई उठाएको छ। अमृता कृष्णनगरको राजपरिवारकी सदस्य हुन्।

बारामति

महाराष्ट्रको बारामति यस्तो क्षेत्र हो जहाँ सधैँभरि एक परिवारको दबदबा रहँदै आएको छ। यो परिवार हो, पावर परिवार। मुम्बईबाट करिब २५० किलोमिटर पर रहेको यो क्षेत्रमा शरद पावरको पकड बलियो छ। उनकी छोरी सुप्रिया सुलेले पछिल्ला तीन चुनाव यहाँबाट जितेकी हुन्। यसपालि भने सुलेले आफ्नै परिवारको सदस्यबाट चुनौतिको सामना गर्नुपर्नेछ। उनलाई चुनौति सुनेत्रा पावरले दिन लागेकी हुन्। जो शरदको भतिजा अजितकी श्रीमति हुन्। अजितले भाजपासँग मिलेर काका नेतृत्वको पार्टी फुटाएका थिए। उनी हाल महाराष्ट्रमा उपमुख्यमन्त्री छन्। बहुमत सांसद आफ्नो पक्षमा पार्दै राष्ट्रिय कांग्रेस हत्याएका अजितमाथि कयौँ भ्रष्टाचारको मुद्दा थिए। तर भाजपाको नजिक भएपछि भने उनीमाथि लागेका सारा मुद्दा खारेज भइसकेका छन्।

बारमेर

राजस्थानको बारमेर क्षेत्र पनि चर्चामा छ। राजस्थानको पश्चिमी क्षेत्रमा रहेको बारमेरले गएका दुई निर्वाचनमा भाजपाका उम्मेद्वारलाई जिताएको थियो। पाकिस्तानसँग सीमा जोडिएको बारमेरमा भाजपालाई कांग्रसबाहेक रविन्द्र सिंह भाटीले टक्कर दिनेछन्। विद्यार्थी राजनीतिबाट उदाएका २६ वर्षीय भाटी एक समय भाजपामा थिए। तर सन् २०२३ को विधान सभाको निर्वाचनमा टिकट नपाएपछि उनले पार्टी त्यागेका थिए। त्यसपछि स्वतन्त्र उम्मेदर्वार बनेका उनले शिओ क्षेत्रबाट सासंद् बनेका थिए। यसपालि लोकसभाको चुनावी प्रतिस्पर्धामा होमिएका उनले भाजपा र कांग्रेसलाई सताउने अनुमान गरिएको छ।

प्रकाशित: १६ वैशाख २०८१ १९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =