भारतमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार

हिमाल प्रेस २ जेठ २०८१ १६:४९
14
SHARES
भारतमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार

काठमाडौँ- भारतको कस्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ जना नेपालीहरूको उद्धार गरिएको छ। सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कस्मिर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो।

नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमीक दिने प्रलोभनमा कस्मिर पुर्‍याइ बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो। कस्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमीक समेत नदिइ कुटपिट गरेको, डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ।

मंगलबार दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इण्डियाको समन्वयमा सबै मजदुरलाई कस्मिरबाट उद्धार गरी दिल्ली लगिएको थियो। उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर काम गर्न भन्दा गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको बताए।

उनले खाना पनि राम्रोसँग खान नदिने गरेको बताए। नालाको काम भनेर लगेकोमा छतको काम गर्न लगाएको बताए। त्यस्तै धनुषाका रञ्जित चौधरीले मोबाइल, नागरिकता, पैसाहरू सबै खोसेर राखेको बताए।

काम लगाउनेले मार्नेसम्मको धम्की दिएको बताए। काम भनेको नमाने आतंकवादी भनेर पक्राउ गर्न लगाउने धम्की दिने गरेको बताए। झन्डै ३ महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दुतावास, जम्मुकस्मिर पुलि, क्राइम ब्रान्च, सिआरपिएफको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्‍याइएको हो। घटनामा आवद्ध दुई जना अभियुक्तलाई पनि पक्राउ गरिएको बताइएको छ।

उनीहरूलाई २ वटा कोठामा ताला लगाएर राखिएको थियो। नेपाली कामदारलाई एउटै कोठामा थुनेर राखिएको थियो। बसेकै कोठामा दिसापिसाब गर्नुपर्ने, दुई समय खान पनि नदिने र कश्मीर पुगेको दिनदेखि नै नुहाउनसमेत नदिइएको उनीहरूले बताए।

 ठेकेदारको बन्धकबाट भागेका ७ जनामध्ये एक जनाले आफूले भोगेका यातनाहरूबारे आफ्नो आफन्तहरूलाई खबर गरेपछि सामाजिक अभियन्ता सरोज रायले उद्धारको लागि पहल सुरु गरेका थिए। सो समूहमा तीन महिनाअघि ४३ जना नेपाली कामका लागि गएका थिए।

उनीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने काम भइरहेको छ। घटनामा संलग्न मुख्तकिम आलम र मो. साजादलाई पक्राउ गरिएको छ भने जमाल मन्सुरी र मलिम मन्सुरी फरार छन्। उनीहरूविरुद्ध मुद्दा दर्ता गरी कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित: २ जेठ २०८१ १६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 19 =