गण्डकी : १२ प्रतिशत पशुलाई लम्की स्किनको खोप

हिमाल प्रेस २३ साउन २०८० ११:२०
10
SHARES
गण्डकी : १२ प्रतिशत पशुलाई लम्की स्किनको खोप

गण्डकी- गण्डकी प्रदेशका १ लाख तीन हजार दुई सय ३० गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ। गाईभैँसीमा फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो।

यहाँ कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दशमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र उक्त खोप दिइएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए।

प्रदेशका ११ वटै जिल्लामा लम्पी स्किनको सङ्क्रमण देखिएपछि गत आवको अन्तिममा प्रदेश सरकारले बजेट रकमान्तर गरेर खोपका लागि एक करोड रुपैयाँ बजेट छुट्याएको थियो।

जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमार्फत ५१ हजार चार सय, स्थानीय तहबाट ४६ हजार सात सय दुई र किसानले आफ्नै खर्चमा पाँच हजार एक सय २८ डोज खोप लगाएको मन्त्रालयले जनाएको छ।

महाशाखा प्रमुख डा न्यौपानेका अनुसार गण्डकीमा हालसम्म ६९ हजार आठ सय ४१ गाईवस्तु लम्पी स्किनबाट संक्रमित भएका छन्।

प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ स्थानीय तहका पशुचौपायामा सो रोगको संक्रमण देखिएको छ। मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको संक्रमण देखिएको छैन।

सो रोग लागेर हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तुको मृत्यु भएको छ भने ३१ हजार तीन सय पाँच निको भएका छन्। ३८ हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि संक्रमित अवस्थामा छन्।

महाशाखा प्रमुख डा न्यौपानेले मनाङ र मुस्ताङ जिल्लामा भने उक्त रोग नियन्त्रणमा आएको बताए। प्रदेशका बाँकी नौ जिल्लामा पनि संक्रमण दर घट्दै गएको उनको भनाइ छ।

‘जिल्लामा रहेका भेटेरेनरी अस्पताल तथा पशुविज्ञ केन्द्रमार्फत खोप अभियान सञ्चालन भइरहेको छ, संक्रमित पुश भेटिए तुरुन्त औषधोपचार गर्ने गरिएको छ’, महाशाखा प्रमुख डा न्यौपानले भने, ‘प्रकोप रोकथाम तथा नियन्त्रणका लागि जनस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रम पनि सञ्चालन भइरहेको छ।’

संक्रमित गाईभैँसीको ओसारपसार नै यो रोग फैलिनुको मुख्य कारण रहेको पशु चिकित्सक बताउँछन्। चरिचरनमा लैजाँदा, एउटै पोखरीको पानी खुवाउँदा, साझा सुइँको प्रयोग, लामखुट्टे, किर्नाको टोकाइ आदिबाट ‘लम्पी स्किन’ गाईभैँसीमा सर्ने गरेको डा न्यौपानेले बताउँछन्।

लम्पी स्किन रोगको औषधि पत्ता नलागेका कारण खोप नै बढी प्रभावकारी हुने उनको भनाइ छ। ‘लम्पी स्किन’ रोग लाग्दा गाईभैँसीमा उच्च ज्वरो आउने, तौल घट्ने, छालामा गाँठागुँठी आउनेजस्ता लक्षण देखिने गरेको छ। रासस

प्रकाशित: २३ साउन २०८० ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 10 =