शिक्षण पेसा छाेडेर व्यावसायिक कृषिमा लागेका ‍आचार्य भन्छन् : मासिक ५०-६० हजार कमाउन विदेश जानुपर्दैन

हिमाल प्रेस २१ वैशाख २०८१ ९:४८
192
SHARES
शिक्षण पेसा छाेडेर व्यावसायिक कृषिमा लागेका ‍आचार्य भन्छन् : मासिक ५०-६० हजार कमाउन विदेश जानुपर्दैन

पोखरा‍- रोजगारीको खोजीमा दिनानुदिन युवा बिदेसिएको अवस्थामा स्वदेशमै केही गर्न सकिन्छ भन्ने पोखरा महानगरपालिका–३३ भरतपोखरीका रमेश आचार्य अनुकरणीय बनेका छन्।

स्नातकसम्म्को अध्ययन गरेका उनी आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिक समेतका अनुभव सँगाल्दै अहिले भने व्यावसायिक कृषिमा निरन्तर क्रियाशील बनेका हुन्।

विगत चार वर्षअघि तिखे ढुंगा बागमारा पशुपालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषिमा लागेका आचार्यले पोखरा महानगरपालिका–३३ स्थित सुरौदी खोला तिखे ढुंगामा पशुपालनसँगै व्यावसायिक रुपमा तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आएका छन्।

आफ्नो फर्मअन्तर्गत हाल लगभग २० रोपनी क्षेत्रफलमा मकै खेती, दुई रोपनी क्षेत्रफलमा खरबुजा, काँक्रो, लसुन, प्याज आदिको खेतीसँगै २० वटा भैँसीपालन गरिरहेको उनले जानकारी दिए।

‘फर्ममार्फत बहुउद्देश्यीय रुपमा पशुपालन तथा अन्य कृषिजन्य उत्पादन गरिरहेको छु’,उनले भने,‘मैले गतवर्ष मात्रै १५ वटा लैना भैँसी बिक्री गरेको थिएँ।’ उनले गतवर्ष प्रति लैनो भैँसी लगभग ९५/९६ हजार सम्ममा बिक्री गरेका थिए। व्यावसायिक कृषिमा लाग्ने हो भने जो कोहीले सामान्य रुपमा पनि मासिक ५०-६० हजारसम्मको आम्दानीका लागि विदेशिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

व्यावसायिक कृषिमा नयाँनयाँ प्रयोग गर्न रुचाउने आचार्यले दुई रोपनी क्षेत्रफलमा लगाएको खरबुजा अब उत्पादन दिने क्रममा छ। अघिल्लो वर्ष परीक्षणस्वरुप १५/२० बोट लगाएका उनले त्यसकै अनुभवका आधारमा अहिले लगाएको खरबुजाले राम्रो उत्पादन दिने विश्वास व्यक्त गरे।

सुरौदी फाँटमा व्यावसायिक कृषिको राम्रो सम्भावना रहेको बताउँदै उनले हाल परीक्षणका रुपमा लगाएको लसुन तथा प्याज पनि राम्रो फलेको अनुभव सुनाए। आचार्यको व्यावसायिक कृषिको लगावमा परिवारको पनि राम्रो साथ र सहयोग छ।

उनलाई श्रीमती धनलक्ष्मी तथा स्नातक तहमा अध्ययन गरिहेका छोराछोरीले पनि साथ दिइरहेका छन्। सुरौदी फाँटमा व्यावसायिक कृषिको धेरै सम्भावना भएर पनि यसतर्फ अन्यलाई आकर्षित गर्न भने अझै नसकिएको उनको बुझाइ छ।

राष्ट्रव्यापी ठूलो समस्याका रुपमा देखिएको बाँदरको समस्या सुरौदीमा पनि रहेको बताउँदै उनले वरपरका सबै मिलेर पालो लगाएर बाँदर कुर्नुपरेको दुःखेसो गरे। थप दुई चार जना व्यवसायिक खेती गर्ने साथी भएमा मिलेर धेरै उत्पादन गर्न सकिने उनको भनाइ छ।

बजारकाे समस्या छैन

उत्पादन गर्न सकेमा यहाँ उत्पादित कृषिजन्य वस्तुको बजार समस्या नरहेको आचार्यले बताए। आफ्नो फर्ममा उत्पादित कृषिजन्य वस्तु भरतपोखरीमा नै खपत हुने गरेको उल्लेख गर्दै उनले सुरौदीसम्म जाने बाटोलाई थप व्यवस्थित गर्नुका साथै टुनिखोलामा पुल बन्न सके उत्पादित वस्तु पोखरा तथा तनहुँको दुलेगौँडा पुर्‍याउन सहज हुने धारणा राखे।

सुरौदी खोला क्षेत्रमा पानीको स्रोत भएर पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सिँचाइको असुविधा भोग्नुपरेको आचार्य बताउँछन्। व्यवस्थित गर्न सकेमात्रै पनि यहाँका उपलब्ध पानीका स्रोतलाई उत्पादनसँग जोड्न सकिने उनले बताए। सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा उब्जाउयोग्य जमिन बर्सेनि बगरमा परिणत हुँदै जाँदा जलाधार क्षेत्रका स्थानीयवासी समस्यामा पर्दै गएका छन्।

कास्की, तनहुँ र स्याङ्जा तीन जिल्ला भएर बग्ने सुरौदी खोलाले बर्सेनि खेतीयोग्य जमिन कटान गरेपछि जलाधार संरक्षणको प्रयास थालिए पनि त्यसले अपेक्षित गति लिन भने नसकेको स्थानीयको गुनासो छ। जलाधारको संरक्षण र उपयोग गर्नसके स्याङ्जाको प्यूरीदोभानदेखि कास्कीको दोपहरे, छहरा, चवादी हुँदै तनहुँको घारी बगरसम्मका खेतीयोग्य भू–भाग खोलाको पानीले सिँचाइ गर्न सकिन्छ।

प्रकाशित: २१ वैशाख २०८१ ९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =