स्थानीय सरकारको लापरबाही

शीतलहर कठ्यांग्रिएर बिताएका विपन्‍नलाई गर्मी लागेपछि कम्बल!

नेहा झा २२ चैत २०७९ १६:०६
64
SHARES
शीतलहर कठ्यांग्रिएर बिताएका विपन्‍नलाई गर्मी लागेपछि कम्बल!

जनकपुरधाम– मधेशका प्रायः  स्थानीय तहले जाडो सुरु हुनेबित्तिकै सिरक, कम्बल तथा न्याना कपडा र सामग्री वितरण गर्दछन्। धनुषाको नगराइन नगरपालिकाले भने  गर्मी सुरु भएपछि कम्बल वितरण गरेको छ। नगरपालिकाले सबै वडाका गरिब तथा विपन्न परिवारलाई  कम्बल वितरण गरेको हो।

नगराइन नगरपालिका वडा नम्बर-५ का वडाध्यक्ष रामनारायण मुखियाले  जेष्ठ नागरिक, दलित विपन्न तथा अपांगलाई सिरक वितरण गरेका छन्। नगरपालिकामा धेरै समयपछि गत माघ १८ गते नगरसभा बैठक बेसेकाले जाडोमा कम्बर वितरण गर्न नसकिएको वडाध्यक्ष मुखिया बताउँछन्।

गर्मी सुरु भएपछि कम्बल वितरण गरिए पनि आगामी जाडोमा काम लाग्ने उनको जिकिर छ। यसअघि वडा नम्बर-७ का वडाअध्यक्ष सूर्यनारायण साहले पनि  वडावासीलाई फाइबार सिरक वितरण गरेका थिए।

मेयर विनयकुमार यादवको उपस्थितिमा वडा नम्बर-५ का सयौं जेष्ठ नागरिक, दलित विपन्न तथा अपांगलाई कम्बल वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

शीतलहरमा जसोतसो गुजारा गरेका नगरवासीलाई गर्मीमा कम्बल वितरण गरेर वडा कार्यालयले सिंगो नगरपालिकाकै काममाथि प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ।

मंसिर, पुस, माघमा जाडो र शीतलहरमा गरिब तथा विपन्न परिवारका वृद्धवृद्धा र बालबच्चा प्रभावित भएको बेला उनीहरूलाई न्यानो कपडा दिन नसकेका जनप्रतिनिधिहरूले गर्मीमा सिरक र कम्बल बाँड्दा स्थानीयले उनीहरूको नैतिकता र कार्यशैलीमाथि प्रश्न उठाएका छन्।

प्रकाशित: २२ चैत २०७९ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =