धनुषाको औरहीमा दुई गाउँका युवायुवतीबीच झडप, प्रहरीले प्रहार गर्‍यो नौ सेल अश्रुग्यास

हिमाल प्रेस १३ वैशाख २०८१ १५:१४
60
SHARES
धनुषाको औरहीमा दुई गाउँका युवायुवतीबीच झडप, प्रहरीले प्रहार गर्‍यो नौ सेल अश्रुग्यास

काठमाडौँ- धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीयबीच बिहीबार दिउँसो झडप भएको छ। दुई गाउँका युवा-युवतीबीच प्रेम सम्बन्धबारेमा भएको विवादले उग्र रुप लिँदा झडप भएको हो।

प्रहरीका अनुसार एउटा समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेको थियो। त्यसपछि प्रहरीले उक्त समूहले अवरुद्ध गरेको सडक खोल्न बल प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गरेर सडक खुलाउने क्रममा झडप भएको हो।

उक्त प्रदर्शनका क्रममा स्थानीयले ढुंगामुढा गर्दा नेपाल प्रहरीका २ र सशस्त्र प्रहरीका १ जना जवान घाइते भएका छन्।

प्रदर्शनलाई हिंस्रक बनाउन खोजेपछि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले त्यहाँको अवस्था नियन्त्रणमा लिन ९ सेल अश्रुग्याससमेत प्रहार गरेको धनुषाका प्रहरी प्रवक्ता एवम् डीएसपी रञ्जन अवालले जानकारी दिए। उनका अनुसार उक्त गाउँबाट प्रेम सम्बन्धमा रहेका भनिएका दुईजना युवती र दुईजना युवक एकसाथ भागेका थिए।

उनीहरूको अवस्था अहिलेसम्म खुलेको छैन। उमेर नै नपुगेका आफ्ना छोरीहरूलाई भगाइएको भन्दै केटी पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए।त्यसको अनुसन्धानका लागि प्रहरीले यसअघि नै ५ जनालाई नियन्त्रणमा लिएर बयान लिइरहेको छ। केटी पक्षले भागेकाहरूको खोजी नभएको भन्दै बिहीबार सडक अवरुद्ध गरेर प्रदर्शन गरेका थिए।

प्रकाशित: १३ वैशाख २०८१ १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + thirteen =