प्रधानमन्त्रीले विश्‍वासको मत लिइसकेपछि सांसदहरूको फरक-फरक प्रतिक्रिया

हिमाल प्रेस ६ चैत २०७९ २०:३७
12
SHARES
प्रधानमन्त्रीले विश्‍वासको मत लिइसकेपछि सांसदहरूको फरक-फरक प्रतिक्रिया

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हु्न्।

सरकारलाई पूर्णता दिन सम्पूर्ण रूपले गृहकार्य हुने र सरकारले चाँडै पूर्णता पाउने उनको भनाइ छ।

‘अब सरकारले चाँडै पूर्णता पाउँछ। काममा केन्द्रित हुनुपर्ने समय छ। सम्पूर्ण शक्ति अब काममा लगाउनुपर्छ। डेलिभरी दिनुपर्छ। अब त सरकारले पूर्णता पाउनेतिरै सम्पूर्ण गृहकार्य हुन्छ,’ उनले भने।

यस्तै नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमाले प्रतिपक्षमा बसेर भए पनि राष्ट्र र जनताको हितको मुद्दा उठाउने प्रतिक्रिया दिए। जनताको हितमा पार्टीले भूमिका निर्वाह गर्ने र सरकारलाई सोही अनुरूप दबाब दिने उनले बताए।

‘एमाले सरकारमा रहेको अवस्थामा राष्ट्र र जनताको हितमा कामहरू सम्पादन गर्ने, कार्यान्वयन गर्नेगरी भूमिका निर्वाह गर्छ। सरकार बाहिर रहेको अवस्थामा पनि राष्ट्र र जनताको हीतमा नै मुद्दा उठाउँछ, सरकारलाई दबाब दिन्छ। जनताका हितका लागि भूमिका निर्वाह गर्छ। एमालेलाई जनताको हितमा काम गर्नका लागि सरकार नै चाहिन्छ भन्ने कुरा छैन,’ उनले भने।

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारले छिटोभन्दा छिटो पूर्णता पाउने बताए। प्रधानमन्त्रीले गरेको प्रतिबद्धताहरू द्रूत गतिमा कार्यान्वयन हुने उनले उल्लेख गरे।

शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरूको गठबन्धन भएकाले अहिलेको सत्तारुढ गठबन्धन प्राकृतिक गठबन्धन भएको उनले जनाए। गठबन्धन संसदको पूर्ण कार्यकाल अगाडि बढ्ने उनको भनाइ छ।

‘आज भोलि सरकार निर्माणबारे छलफल हुन्छ र छिटोभन्दा छिटो सरकारले पूर्णता पाउँछ। कार्यविभाजन हुन्छ। त्यसपछि प्रधानमन्त्रीज्युले गर्नुभएका प्रतिबद्धताहरू द्रूत गतिमा कार्यान्वयनको दिशामा अगाडि बढ्छ। प्राकृतिक गठबन्धन भएको छ। शान्ति सम्झौताका हस्ताक्षरकर्ताहरू पक्षधरहरूको गठबन्धन हो। निर्वाचनमा पनि बनेको गठबन्धन थियो। त्यो गठबन्धन स्वभाविक रूपले अगाडि बढेको छ। संसदको पूर्ण कार्यकाललाई अगाडि बढाउँछ,’ उनले भने।

यस्तै जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले पनि आफ्नो पार्टी छिट्टै सरकारमा सहभागि हुने बताए। चैत ८ गते पार्टीको कार्यकारिणी समिति बैठकले निर्णय गर्ने उनको भनाइ छ।

‘सरकारमा सहभागि चाँडै भइन्छ। चाँडै सरकारले पूर्णता पाउँछ। हाम्रो कार्यकारिणी बैठक ८ गते छ, त्यसले निर्णय गर्छ। यहाँ अहिले जति दलले समर्थन गर्नुभएको छ, संघीयता लोकतन्त्र र गणतन्त्रप्रति पुरै प्रतिबद्ध पार्टीहरू छ। परिवर्तनका मुद्दामा सहमत पार्टीहरू जहिल्यै पनि एक भएर जान्छन्। त्यो हामीले गर्न पनि आवश्यक छ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =