एफए कप : युनाइटेड र चौथो श्रेणीको ग्रिम्सबी क्वार्टरफाइनलमा, टोटनहम बाहिरियो

हिमाल प्रेस १८ फागुन २०७९ १०:०९
14
SHARES
एफए कप : युनाइटेड र चौथो श्रेणीको ग्रिम्सबी क्वार्टरफाइनलमा, टोटनहम बाहिरियो

काठमाडौँ- अलेहान्द्रो गार्नोचो र फ्रेडले उत्तरार्द्धमा दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३–१ ले हराउँदै एफए कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ। उता टोटनहम भने दोस्रो श्रेणीको लिग खेल्ने सेफिल्ड युनाइटेडसँग १–० ले स्तब्ध बन्यो।

बुधबार राति नै भएको अन्य खेलमा चौथो श्रेणीको ग्रिम्सबीले साउथह्याम्पटनमाथि २–१ को अप्रत्याशित जित हात पार्दा बर्नलीले १० खेलाडीमा सीमित फ्टिउडलाई १–० ले पन्छायो।

अब क्वार्टरफाइनलमा युनाइटेडले फुलहम र सिटीले बर्नलीको सामना गर्नेछन्। ग्रिम्सबीले ब्राइटनको भ्रमण गर्नेछ भने सेफिल्ड र ब्लाकबर्न प्रतिस्पर्धा गर्नेछन्। यी सबै खेल मार्च १९ मा हुनेछन्।

मंगलबार राति सिटी ब्रिस्टोल सिटीलाई ३–० ले हराउँदै अन्तिम आठमा पुगेको थियो। फुलहमले लिड्स युनाइटेडलाई २–०, ब्राइटनले स्टोक सिटीलाई १–० र ब्लाकबर्नले लेस्टर सिटीलाई २–१ पराजित गरेर सिटीसँगै क्वार्टरफाइनल पुगेका हुन्।

गत आइतबार लिग कप जितेको युनाइटेडले एफए कपको पाँचौँ चरणको खेलका लागि ६ खेलाडी परिवर्तन गरेको थियो। जसकारण ओल्ड ट्राफोर्डमा युनाइटेड अधिकांश फिक्का देखियो।

युनाइटेडका प्रशिक्षक एरिक टेन हागले दोस्रो हाफमा स्कट म्याकटोनीको स्थानमा अनुभी कासिमिरोलाई मैदान छिराए पनि खेलमा प्रभाव परेन। बरु उल्टै ५४ औँ मिनेटमा गोल खायो। वेस्टह्यामका लागि साइद बेनरहमाले १८ यार्ड बक्सभित्रबाट गरेको प्रहारले युनाइटेडका गोलरक्षक डेभिड डे हायालाई सजिलै परास्त गर्‍यो।

गोल खाएको चार मिनेटपछि नै टेन हागले आफ्ना उच्च गोलकर्ता मार्कस रासफोर्डलाई पनि मैदानभित्र पठाएका थिए। तर उनको उपस्थितिमा पनि युनाइटेडले गतिला आक्रमण बुन्न सकेन।

७७ औँ मिनेटमा ब्रुनाे फर्नान्डेजको कर्नरबाट आएको बल क्लियर गर्न खोज्दा नायफ एगुएर्डले आफ्नै पोस्टमा गोल गरेपछि भने युनाइटेड खेलमा फर्किएकाे थियाे।

अर्जेन्टिनाका किशोर फरवार्ड गारनाचोले ९० औँ मिनेटमा गरेको गोलले युनाइटेड खेलमा पहिलो पटक अघि बढ्यो। त्यसपछि आतिरिक्त समयमा फ्रेडले गोल थपे र युनाइटेडको ३–१ को जित सुनिश्चित गरे।

खेलपछि युनाइटेडका कप्तान ह्यारी मग्वायरको प्रतिक्रिया थियो, ‘बलिया टिमले अन्तिमसम्म पनि हिम्मत हार्दैनन्। हुन त हामी बलिया टिमको सूचीमा पर्ने बेला भइसकेको छैन। अझ धेरै मेहनत गर्नुछ। तर त्यो हामी त्यस बाटोमा लम्किरहेका छौँ।’

टोटनहम भने लगातार दोस्रो सिजन एफए कपको पाँचौँ चरणबाट बाहिरियो। यसपालि पनि टोटनहमलाई च्याम्पियनसिपको टिमले पराजित गर्‍यो। सेफिल्डका इलिमन डिआएले ७९ औँ मिनेटमा गरेको गोल टोटनहमका लागि हारको कारण बन्यो। गत सिजन टोटनहम मिडल्सब्रोसँग हारेको थियो।

मुख्य स्ट्राइकर ह्यारी केन ६५ औँ मिनेटमा मैदान प्रवेश गरेको भए पनि टोटनहमले गोल गर्न सकेन। प्रशिक्षक एन्टोनियो कोन्टेको स्थान लिइरहेका सहायक प्रशिक्षक क्रिस्टियन स्टेलिनीले हारपछि समर्थकसँग माफ मागे। ‘आज हामील विपक्षीमाथि दबाब सिर्जना गर्नै सकेनौँ। यस्तो खेल जित्न नसक्नुको सन्देश हो, हाम्रो खेलमा समस्या छ,’ स्टेलिनीले भने।

लिग टुको ग्रिम्सबीविरुद्धको खेलमा साउथह्याम्प्टनका नयाँ प्रशिक्षक रुबेन सेलेसले नौ खेलाडी परिवर्तन गरेका थिए। गाभान होलोहानले दुई पेनाल्टी गोल गरेपछि ग्रिम्सबी प्रिमियर लिगमा संघर्षरत साथह्याम्पटनलाई हराउन सफल भयो। साउह्याम्पटनका डुए कालेटा कारले एक गोल फर्काएका थिए।

‘चमत्कार देखाउन सकिन्छ भन्ने विश्वास थियो। अन्ततः सफल भइयो। एफए कपको क्वार्टरफाइनलमा पुग्नु हाम्रा लागि ऐतिहासिक सफलता हो,’ ग्रिम्सबीका प्रशिक्षक पउल हस्रर्टले भने।

च्याम्पियनसिपको शीर्षस्थानमा रहको बर्नलीले लिग वानको फ्टिउडविरुद्ध गोल गर्न ९० मिनेट पर्खनु परेको थियो। सियान हायसले पहिलो हाफ सकिनै लाग्दा रातो कार्ड खाएपछि १० खेलाडीमा झरेको फ्लिटउडविरुद्ध कोनर रोबर्ट्सले गोल गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − nine =