‘सामान्य’ सेभियासँग युनाइटेडको ‘अस्वीकार्य’ प्रदर्शन

हिमाल प्रेस ८ वैशाख २०८० ९:४१
10
SHARES
‘सामान्य’ सेभियासँग युनाइटेडको ‘अस्वीकार्य’ प्रदर्शन

काठमाडौँ- सेभिलमा बिर्सनलायकको प्रदर्शन गरेपछि म्यानचेस्टर युनाइटेड युरोपा लिगबाट बाहिरिएको छ। युनाइटेडलाई युरोपा क्वार्टरफाइनलको दोस्रो लेगमा सेभियाले बिहीबार राति ३-० ले पराजित गरेको हो। सेभिया समग्रमा ५-२ को नतिजा आत्मसात् गर्दै सेमिफाइनल प्रवेश गर्‍यो।

घरेलु मैदानमा दुई आत्मघाती गोल गरेपछि युनाइटेड पहिलो लेगमा २-२ को बराबरीमा रोकिएको थियो। दोस्रो लेग आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ स्पेन पुगेको युनाइटेड नराम्ररी असफल भयो।

पहिलो लेगमा आत्मघाती गोल गरेका ह्यारी मग्वायरले फेरि एकपल्ट गल्ती गर्दा सेभियाले सुरुवाती गोल गरेकाे थियाे। १८ यार्ड बक्सभित्र रहेका उनीबाट एरिक लामेलाले बल खोसेका थिए। त्यसपछि युसुफ एन नेसिरीले बल नियन्त्रणमा लिँदै सहजै गोल गरे।

सेभियाले दोस्रो हाफ सुरु हुनसाथ अग्रता दोब्बर बनाएको थियो। इभान राकिटिकको कर्नरमा लोइक बाल्डेले ४७ औँ मिनेटमा हेडर गोल गरेका थिए।

युनाइटेडले तेस्रो गोल पनि आफ्नै गल्तीका कारण खायो। युनाइटेडका गोलरक्षक डेभिड डे हाया मार्कस अकुनाको लामो प्रहार क्लियर गर्न अघि बढेका थिए। तर उनको खराब क्लियरका कारण बल नेसिरीले भेटे। र खाली पोस्टमा सजिलै गोल गरे।

सर्वाधिक ६ पटक युरोपा जितेको स्पेनी क्लब सेभियाले अब सेमिफाइनलमा इटालीको युभेन्टसको सामना गर्नेछ। युभेन्टस पोर्चुगलको स्पोर्टिङ लिस्बनलाई २-१ ले पन्छाउँदै अन्तिम चारमा पुगेको हो।

हारपछि युनाइटेडका प्रशिक्षक एरिक टेन हागले आफ्ना खेलाडीको खुलेर आलोचना गरे। यस्तो प्रदर्शन स्वीकार्य नहुने उनको भनाइ थियो। ‘हामीले योभन्दा गतिलो प्रदर्शन गर्नैपर्छ। सबै खेल कौशलले जितिन्छ भन्ने हुँदैन, कतिपय अवस्थामा हामीसँग प्रतिबद्धताको खाँचो हुन्छ। आज त्यही भयो। हामीभन्दा सेभिया यो खेल जित्न प्रतिबद्ध थियो। हामीले मन लगाएर खेलेनौँ। यसरी त हुँदैन। यो स्वीकार्य छैन,’ टेन हागले भने।

टेन हागले मार्कस रासफोर्ड र लुक शलाई दोस्रो हाफमा मात्र मैदान छिराएका थिए। भर्खरै चोटमुक्त भएका उनीहरूको प्रवेशपछि पनि युनाइटेडले खेल आफ्नो नियन्त्रणमा ल्याउन सकेन। रक्षापंक्तिमा भने टेन हागसँग सीमित विकल्प थिए। राफाएल भारान र लिसान्द्रो मार्टिनेज अझै फिट नभइसकेका कारण मग्वायर र भिक्टर लिन्डेलोफले रक्षापंक्तिमा निरन्तरता पाए।

पछिल्लो समय टेन हागको प्राथमिकतामा पर्न छाडेका कप्तान मग्वायरले धेरै समयपछि पहिलो एघारमा मौका पाएका हुन्। तर मौकाको सदुपयोग गर्नबाट उनी चुके। सेभियाका तीन खेलाडीले युनाइटेडको बक्सलाई निगरानीमा राखिरहेका बेला उनले डे हायालाई ब्याक पास। डे हायाले यस किसिमको पासको अपेक्षै गरेका थिएनन्।

आफ्नै गल्तीका कारण पछि परेको युनाइटेडले खेलमा फर्कन केही अवसर सिर्जना गरेको थियो। प्लेमेकर ब्रुनो फर्नान्डेज प्रतिबन्धमा रहेका कारण गोल अवसर सिर्जना गर्ने मुख्य जिम्मा क्रिस्टियन एरिक्सनको थियो। तर पूरै टिम नै अस्तव्यस्त रहेकाले गाेल चाहिँ भएन।

युनाइटेडविरुद्ध घरेलु समर्थकसामु दुई गोल गरेका नेसिरीले यो खेल आफूले कहिल्यै नभुल्ने बताए। ‘दुई गोल गर्न सकेकोमा म खुसी छु। हाम्रा समर्थकले रंगशालाको वातावरण असाध्यै अलौकिक बनाए। यो रात म कहिल्यै भुल्ने छैन,’ मोरोक्कोका २५ वर्षीय स्ट्राइकर नेसिरीले भने।

युरोपियन क्लब फुटबलमा मजबुत प्रदर्शन गरे पनि सेभिया घरेलु लिगमा भने खुलेर खेल्न सकिरेहको छैन। ला लिगामा १घ औँ स्थानमा रहेको सेभियाले २९ खेलबाट ३५ अंक बटुलेको छ। सेभिया १३ औँ स्थानमा छ। जुन १६ औँ स्थानको भ्यालेन्सियाको भन्दा आठ अंकले मात्र बढी हो।

युरोपामा हासिल गरेको सफलताले भने सेभियालाई प्रेरणा दिने अपेक्षा गरिएको छ। उसै पनि जर्ज साम्पाओलीलाई प्रतिस्थापन गरेका जोेसे लुइस मेन्डिलिबारको प्रशिक्षणमा सेभिया लयमा फर्कने प्रयासमा छ। नयाँ प्रशिक्षकको नेतृत्वमा सेभियाले लिगका तीनसहित कुल पाँच खेल खेलेको छ। ती खेलमा सेभिया अपराजित छ।

रेलिगेसनको खतराबाट सेभियालाई मुक्त गर्ने लक्ष्यका साथ रामोन सान्चेज जिज्जुवान रंगशाला पुगेका मेन्डिलिबारले आफूले ‘सामान्य रणनीति’ अख्तियार गरेको बताउँछन्। ‘फुटबल सामान्य खेल हो। यसलाई सामान्य रहन दिनुपर्छ। कठिन रणनीति बनाएर म खेलाडीहरूलाई अलमलमा पार्न चाहन्नँ। यसकारण सामान्य रणनीतिमै खेलेर तत्कालको खतरा टार्ने मेरो लक्ष्य हो। रणनीति सामान्य भएपछि खेलाडीहरू पनि सजिलै अभ्यस्त हुनसक्छन्,’ मेन्डिलिबारले भनेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =