तेस्रो स्थानमाथि पकड बलियो बनाउँदै युनाइटेड

हिमाल प्रेस ४ वैशाख २०८० ११:५५
8
SHARES
तेस्रो स्थानमाथि पकड बलियो बनाउँदै युनाइटेड

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा तेस्रो स्थानमाथिको पकड बलियो बनाएको छ। आइतबार राति नटिङहम फरेस्टलाई २-० ले हराएको युनाइटेडले चौथो र पाँचौँ स्थानमा रहेका टिमहरूसँगको दूरी बढायो।

लिगमा लगातार तेस्रो जितपछि युनाइटेडसँग अब ३० खेलबाट ५९ अंक छ। चौथो स्थानको न्युकासल युनाइटेड र पाँचौँ स्थानमा रहको टोटनहमसँग क्रमशः ५६ र ५३ अंक छ।

गत शनिबार राति न्युकासल र टोटनहमले आआफ्ना खेल हारेकाले युनाइटेडसामु अंक दूरी बढाउने अवसर थियो। युनाइटेडले यो अवसर खेर फालेन। एन्टोनीको गोलमार्फत युनाइटेड ३२ औँ मिनेटमा अघि बढेको थियो। दोस्रो हाफमा डिएगो डालोटले युनाइटेडको दोस्रो गोल गरे।

युनाइटेडले लगभग नयाँ स्वरुपको रक्षापंक्ति उतारेको थियो। युरोपा लिगमा गत साता सेभियासँगको खेलमा घाइते भएका लिसान्द्रो मार्टिनेज र राफाएल भारानको स्थानमा ह्यारी मग्वायर र भिक्टर लिन्डेलोफले मौका पाए। त्यसैगरी टायरल मालासियाको स्थान गोलकर्ता डालोटले लिएका थिए।

मार्कस रासफोर्ड अझै फिट नभएकाले अग्रपंक्ति एन्थोनी मार्सियलले सम्हाले। सेभियाविरुद्ध दुई गोेल गरेका मार्सेल साबिट्जरलाई अन्तिममा पहिलो एघारबाट हटाइएको थियो। वार्मअप गर्दा घाइते भएका उनको स्थानमा क्रिस्टियन एरिक्सनले खेल्ने मौका पाए। पछिल्ला नौ खेलमा जित हात पार्न नसकेको फरेस्टले टिममा चार खेलाडी परिवर्तन गरेको थियो।

खेल युनाइटेडले पूर्ण रुपमा नियन्त्रणमा राखे पनि ‘सेट पिस’ मा फरेस्ट खतरनाक देखिएको थियो। यद्यपि गोल भने गर्न सकेन। युनाइटेडको पहिलो गोल रिबाउन्डमा सम्भव भएको थियो। एन्थोनी मार्सियलले गरेको प्रहार फरेस्टका गोलरक्षक केयलर नाभासले ब्लक गरेको थिए। त्यसपछि रिबाउन्डमा आएको बल एन्टोनीले भेटे र गोलमा परिणत गरे।

युनाइटेडको दोस्रो गोल एन्टोनीकै कारण सम्भव भएको थियो। बल लिएर फरेस्टको १८ यार्ड नजिक पुगेका एन्टोनीले डालोटका लागि थ्रुबल निकालिदिएका थिए। जसलाई डालोटले सहजै पोस्टको दिशा देखाए।

खेलपछि युनाइटेडका प्रशिक्षक एरिक टेन हागले आफ्नो टिमले मजबुत जित दर्ता गरेको प्रतिक्रिया दिए। ‘हामी सुरुबाटै एकाग्र भएर खेलिरहेका थियौँ। सबै खेलाडीले मेहनत गरे। विशेषगरी रक्षकद्वय मग्वायर र लिन्डेलोफको प्रदर्शन तारिफायोग्य थियो,’ टेन हागले भने।

टेन हागले युनाइटेडलाई चोटले दुःख दिइरहेको पनि बताए। ‘गत साता हामीसँग नौ रक्षक फिट थिए। अब चार मात्र बाँकी छन्। यही बेला हामीले तीन फरक फरक प्रतियोगिता खेल्नु परिरहेको छ। टिम बलियो बन्न ती घाइते खेलाडी चाँडोभन्दा चाँडो फिट हुन जरुरी छ,’ टेन हागले भने।

गत सिजन युनाइटेड छैटौँ स्थानमा सीमित भएको थियो। यसपटक युनाइटेडले त्यसबेलाको भन्दा बढी अंक बटुलिसकेको छ। लिगमा आठ खेल बाँकी रहँदा युनाइटेडको लक्ष्य अधिकतम अंक बटुल्ने त छ नै, युरोपा लिग र एएफए कप जित्ने पनि छ। युरोपाको अन्तिम चारमा पुग्न युनाइटेडलाई स्पेन पुगेर सेभियालाई पन्छाउनु। एएफए कप सेमिफाइनलमा भने युनाइटेडको भेट ब्राइटनसँग हुँदैछ।

लगातार तीन खेल हारेको फरेस्ट भने लिगको १८ औँ स्थानमा छ। पुछारका दुई स्थानमा रहेका साउथह्याम्पटन र लेस्टर सिटीभन्दा फरेस्ट क्रमशः चार र दुई अंकले अगाडि छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =