युरोपामा चुक्यो युभेन्टस

हिमाल प्रेस ५ जेठ २०८० ११:१३
8
SHARES
युरोपामा चुक्यो युभेन्टस

काठमाडौँ- एरिक लामेलाले आतिरिक्त समयमा निर्णायक गोल गरेपछि सेभिया युभेन्टसलाई २-१ ले हराउँदै युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ। सेभिलमा बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेग निर्धारित समय १-१ को बराबरीमा सकिएको थियो।

त्यसपछि लामेलाले ब्राउन गिलको क्रसमा हेडर गोल गरे र सेभियालाई फाइनलमा पुर्‍याए। घरेलु मैदानमा जित हासिल गरेपछि सेभिया समग्रमा ३-२ ले अघि रह्यो। सर्वाधिक ६ पटक युरोपा जितेको सभियाले अब उपाधिका लागि एएस रोमाको सामना गर्नेछ। बुडापेस्टमा हुने उपाधि भिडन्तमा स्थान सुरक्षित गर्न रोमाले बायर्न लेभरकुजनलाई पछि पारेको हो।

सेभियाको मैदानमा युभेन्टसले अग्रता लिएको थियो। डुसा भ्लाहोभिचले दोस्रो हाफको ६५ औँ मिनेटमा गोल गरे। मैदान प्रवेश गरेको दुई मिनेटपछि नै उनी युभेन्टसलाई अघि बढाउन सफल भएका थिए। तर सुसो फर्नान्डेजले ६ मिनेटपछि नै गोल फर्काए र खेल १-१ (समग्रमा २-२) स्थितिमा पुर्‍याए।

‘सेयिभामा मैले राम्रा र नराम्रा क्षणको सामना गरेको छु। तर यो भने विशेष क्षण रह्यो। हामी अब सफल हुन एक कदम मात्र पछाडि छौँ। फाइनलमा पुग्नु हाम्रा लागि ठूलो अवसर हो। आजको यो रात हामी सबैका लागि अविस्मरणीय रहनेछ,’ लामेलाले भने।

युभेन्टस अर्को इटालेली क्लब रोमासँग भेट पक्का गर्ने लक्ष्यमा थियो। तर सफल भएन। यसपालि युरोपेली प्रतियोगितामा इटालेली क्लबले दबदबा कायम गरेका छन्। च्याम्पियन्स लिगको फाइनलमा समेत इटालीकै क्लब इन्टर मिलान पुगेको छ। त्यो पनि इटालीकै एसी मिलानलाई हराएर।

च्याम्पियन्स लिगमा मात्र होइन युरोपा कन्फ्रेन्स लिगको फाइनलमा समेत इटालीकै क्लब पुगेको छ। सेमिफाइनलमा स्विटजरल्यान्डको बासेललाई हराएर फियारेन्टिनाले फाइनलमा ठाउँ बनाएको हो। अब उपाधिका लागि फियारेन्टिनाले इंग्लिस क्लब वेस्टह्याम युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।

युरोपा सेमिफाइनलबाट बाहिरिँदा युभेन्टसको अर्को सिजन जसरी भए पनि च्याम्पियन्स लिग खेल्ने लक्ष्यमा धक्का लागेको छ। युरोपा जित्ने क्लब अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट हुने व्यवस्था छ।

उसो त युभेन्टस हाल सिरी ए को दोस्रो स्थानमा छ। सिजन सकिँदा यही स्थानमा रहँदा युभेन्टसको च्याम्पियन्स लिग छनोट पक्का हुनुपर्ने हो। तर फेरि १५ अंक घट्ने सम्भावना रहेका कारण युभेन्टस आखिरमा शीर्ष चारमा नपर्न सक्छ।

झुटो लेखा विवरण पेश गरेको भन्दै इटालेली फुटबल संघले गत जनवरीमा युभेन्टसको १५ अंक घटाइदिएको थियो। तर यभुेन्टस पुनरावेदन गएपछि घटाइएको अंक तत्कालका लागि फिर्ता गरियो। यो मुद्दा टुंगो लागिसकेको छैन। निर्णायक फैसलाले युभेन्टसबाट फेरि अंक खोस्नसक्ने सम्भावना छ।

युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले आफ्नो टिमले दोस्रो लेगमा पहिलो लेगभन्दा गतिलो प्रदर्शन गरे पनि जितका लागि पर्याप्त नभएको प्रतिक्रिया दिए। ‘पाएका मौकामा गोल गर्नुपर्छ। हो, खेलाडीहरुले नराम्रो खेलेका होइनन्। तर यो युरोपेली सेमिफाइनल हो, यस्तो खेलमा बढी मेहनत गर्नुपर्छ। आवश्यक भएजति मेहनत गरेनौँ,’ एलेग्रीले हारपछि भने।

सेभियाविरुद्ध एलेग्रीले कम अनुभवी टिम मैदान उतारेका थिए। पउल पोग्बा, माटिया डि स्ग्लियो, लियोनार्दो बोनुची जस्ता खेलाडी घाइते भएकाले एलेग्रीले युवा तथा बेन्चका खेलाडीलाई मौका दिएका थिए। यही कारण आफ्नो टिम सेभियासँग पराजित हुनु परेको एलेग्रीको जिकिर थियो।

‘हामीले जो जो खेलाडीहरुलाई खेलायौँ, उनीहरुसँग युरोपेली अनुभव छैन। जबकि सेभियासँग अनुभवी खेलाडी थिए। योस्तरको खेलमा अनुभवको महत्त्व धेरै हुन्छ,’ एलेग्रीले भने।

क्वार्टरफाइनलमा म्यानचेस्टर युुनाइटेडलाई पाखा लगाएको सेभिया फेरि एकपटक युरोपा च्याम्पियन बन्न प्रतिबद्ध छ। उसको प्रतिबद्धतालाई र्माकस एकुनाको रातो कार्डले असर गरेन। फुलब्याक एकुना ११५ औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए।

सेभियाका भेट्रान कप्तान जेजुस नाभासले बालखादेखि नै समर्थन गरेको क्लबलाई फाइनलमा पुर्‍याउन सकेकोमा प्रसन्नता व्यक्त गरे। ‘आफूले सानैबाट समर्थन गरेको क्लबका लागि खेल्न पाउनु, फाइनलमा पुर्‍याउन सक्नु, असाधारण सफलता हो। म आज कति खुसी छु, बयान गरेर साध्य छैन। हरेक खेलाडी, समर्थक आज खेलभरी नै सकारात्मक थिए,’ ३७ वर्षीय फुलब्याक नाभासले भने।

सेभियाले युरोपाको पछिल्ला नौमध्ये चार संस्करण जितेको छ। सन् २००६ मा पहिलो पटक युरोपा विजेता बनेको सेभियाले यो प्रतियोगिता २०१४ देखि २०१६ सम्म लगातार तीन पटक जितेको जितेको थियो। सन् २०२० मा छैटौँ पटक उपाधि उचाल्दा सेभियाले इन्टरलाई पाखा लगाएको थियो।

प्रकाशित: ५ जेठ २०८० ११:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =