सिरी ए : पर्खाइ स्थिर युभेन्टसको

हिमाल प्रेस ९ असोज २०८० ९:१७
24
SHARES
सिरी ए : पर्खाइ स्थिर युभेन्टसको

काठमाडौँ- मासिमिलियानो एलेग्री युभेन्टस फर्किएको दुई वर्ष भयो। गएको शनिबारअघि उनको नेतृत्वमा युभेन्टसले ११२ खेल खेलेको थियो। र ती सबै खेलमा एलेग्रीले फरक फरक पहिलो एघार मैदान उतारेका थिए।

तर यो सिलसिला गत साता रोकियो। सिरी ‘ए’ मा सासुओलोसँगको खेलमा उनले त्यही टिम छाने, जसले एक साताअघि लाजियोलाई ३–१ ले पराजित गरेको थियो। एलेग्रीको यो निर्णयले मापेइ रंगशालामा पुगेका समर्थक अच्चमित बने। जुन स्वाभाविक थियो।

एलेग्री किन हरेक खेलका लागि पहिलो एघारमा हेरफेर गरिरहन्थेरु प्रश्न सोधिन्थ्यो नै। जसमा उनको जवाफ हुन्थ्यो, ‘खेल कसरी जित्ने भनेर म २४ घण्टा नै सोच्न सक्दिनँ। म कहिले पनि रणनीतिबारे आवश्यकताभन्दा बढी सोच्दिनँ। बस् मनमा झल्यास्स केही हुन्छ, जसले मलाई रणनीति बनाउन सहयोग गर्छ।’

यसपालि उनले किन उही टिम उतारे, यसको जवाफ उनले दिइसकेको छैनन्। तर यति चाहिँ बुझ्न गाह्रो छैन, उनलाई टिममा स्थिरता कायम गर्न व्यवस्थापनबाट दबाब आएको थियो। लाजियोसँगको खेलमा दमदार प्रदर्शन गरेका कारण उही टिमलाई सासुओलोविरुद्ध उतार्न भनिएको हुनसक्छ।

लाजियोलाई ३–१ ले पराजित गर्दा युभेन्टसको खुबै तारिफ भयो। उसो त गत सिजन पनि यो टिमले वाहवाही बटुलेकै हो। यदि कारबाही स्वरुप अंक नखोसिएको हुन्थ्यो भने, युभेन्टस सिरी ए मा कमसेकम तेस्रो हुन्थ्यो। भलै खेल शैली लोभलाग्दो थिएन। खासमा एलेग्रीको रणनीति स्पष्ट देखिँदैन थियो। यस्तो लाग्थ्यो एलेग्री आफ्ना महँगो स्ट्राइकरले जसोतसो गोल गरोस् भनेर पर्खिएर बसेका छन्।

यसपालि भने पहिलो खेलबाटै युभेन्टसले फरक देखिएको हो। पहिलो खेलमा उडिनेसेलाई हराउँदा युभेन्टसमा आक्रामकता थियो। खेलाडीहरु गोल गर्न हतारिएका थिए। दोस्रो मिनेटमा गोलको खाता खोलेपछि उनीहरुले आरामले खेलौँ भनेनन्। बरु खेलको गति बढाए।

सुरुको खेलले दिएको सन्देश स्पष्ट थियो, अब युभेन्टस फेरिएको छ। सायद यसको कारण पाका खेलाडीको अनुपस्थिति पनि हुनसक्छ। एंगल डि मारिया, लियोनार्दो बोनुची, जुआन क्वादार्दो जस्ता खेलाडीलाई सिजन सुरु हुनुअघि बिदा गरिएको थियो। तिनको स्थानमा युवा खेलाडी आन्द्रे काम्बियासो र टिमोथी वेह थपिए। चोटका कारण लामो समय मैदानबाहिर रहेका फेडेरिको किएसाको आगमनले उत्साह बढ्यो।

किएसा टिममा फर्किएपछि एलेग्रीले उनलाई विंगमा सीमित गरेनन् बरु स्ट्राइकरको भूमिका दिए। डुसान भ्लाहोभिचको जिम्मामा रहेको युभेन्टस अग्रपंक्तिमा किएसा पनि थपिए।

नयाँ सिजनको दोस्रो लिग खेलमा युभेन्टसले बोलोन्यासँग बराबरी खेल्यो। तर त्यसपछि इम्पोली र लाजियोलाई हराएपछि युभेन्टसमा उत्साह कायम रह्यो। शनिबार सासुओलोलाई हराएको भए युभेन्टसले शीर्षस्थानमाथि कब्जा जमाउने थियो, एकै रातका लागि मात्र भए पनि।

त्यसो भएको भए युभेन्टस समर्थकमा निश्चय पनि उपाधि जित्ने लोभको बीजरोपण हुने थियो। यसपालि युरोपेली क्लब फुटबल खेल्नु नपरेकाले पनि सैद्धान्तिक रुपमा युभेन्टसलाई सीजिलो छ। किनभने सिरी ‘ए’ मा मात्र केन्द्रित हुनुपर्दा युभेन्टसका खेलाडी ताजा रहन्छन्। जबकि सिरी ‘ए’ का अरु ठूला टिम च्याम्पियन्स लिगका कारण थकित हुनेछन्।

साताको मध्यमा युरोपेली फुटबल खेल्नु नपर्ने भएकाले पनि एलेग्रीले टिममा परिवर्तन नगरेको हुनसक्छन्। तर उनको यो निर्णयले आखिरमा फल दिएन। सासुओलो ४–२ ले विजयी भयो।

युभेन्टसका लागि गोल अन्तर त पीडादायी थियो नै, गोलरक्षक वोजियाक सेज्नीको प्रदर्शन पनि टाउको दुखाइ बन्यो। युभेन्टसले पहिलो गोल उनकै गल्तीले खाएको थियो। आत्मघाती गोल खाएपछि पछि परेको युभेन्टसले बराबरी पनि आत्मघाती गोलकै कारण गर्यो।

खेल अघि बढ्दै जाँदा केही राम्रा प्रहार बचाएका सेज्नीले डोमेनिको बेरार्दीलाई भने रोक्न सकेनन्। बेरार्दी तिनै खेलाडी हुन् जसलाई युभेन्टसले हरेक वर्ष अनुबन्ध गर्ने प्रयास गरेको छ।

बेरार्दी हाल २९ वर्षका भए। जब उनी २१–२२ का थिए, उनले युभेन्टसको प्रस्ताव अस्वीकार गरे। त्यसपछिका वर्षमा पनि युभेन्टसले उनलाई फकाइरह्यो। तर उनले युभेन्टस मात्र होइन अरु क्लबबाट आएका प्रस्ताव पनि इन्कार गरे। कारणरु सासुओलोसँगको सम्बन्ध।

सासुओलोको एकेडेमीमा हुर्किएका बेरार्दी आफूलाई सो क्लबले गुन लगाएको सम्झिन्थे। फेरि ठूला क्लबमा गएर बेन्चमा बस्नु वा दोस्रो रोजाइको खेलाडी बन्नुभन्दा सासुओलोमै हरेक खेल खेल्ने अवसरमा रमाउनु उचित ठाने उनले।

तर लगभग चार वर्ष भयो उनको मन बद्लिएको। अब उनी नयाँ अनुभव बटुल्न चाहन्छन्। उनको मनोभावना बुझेर युभेन्टसले नयाँ सिजन सुरु नहुँदै अनुबन्धनको प्रयास गरेको पनि हो। बेरार्दी युभेन्टससँग जोडिन सहमत भएका पनि हुन्। तर दुई क्लबबीच स्थान्तरण मूल्यमा कुरा मिलेन।

युभेन्टसविरुद्धको खेल बेरार्दीले सिरी ए मा खेलेको ३०० औँ खेल थियो। यी खेलमा उनले ११६ गोल गरेका छन्। विंगरका लागि यो आँकडा नराम्रो होइन। इटालेली फुटबलमा प्रतिभाशाली विंगरको परिचय बनाएका उनले युरोपेली क्लब फुटबल चाहिँ धीत मर्नेगरि खेल्न पाएका छैनन्। सन् २०१६–१७ मा सासुओलोबाट युरोपा लिगको चार खेल खेलेका थिए। ती खेलमा उनले पाँच गोल गर्न सके।

बेरार्दी कुन स्तरमा खेल्न सक्छन्रु युभेन्टसलाई थाहा छ। फेरि युभेन्टसविरुद्ध नै पनि बेरार्दी तेजिलो देखिने गरेका छन्। सर्वाधिक पटक सिरी ए जितेको युभेन्टसविरुद्धका पछिल्ला ६ खेलमा बेरार्दीले पाँच पटक गोल वा एसिस्ट गरेका छन्।

बेरार्दीलाई देखेर युभेन्टस समर्थक लोभिन्छन्। तर शनिबारको खेलमा भने उनले रातो कार्ड पाउनु पर्ने थियो भन्नेमा उनीहरु एकमत छन्। दोस्रो हाफमा बेरार्दीले युभेन्टसका ग्लेइसन ब्रेमरमाथि खतरनाक फाउल गरेका थिए। रेफ्रीले उनलाई पहेलो कार्ड मात्र दिए। भीएआरले रेफ्री आन्द्रे कोलोम्बोलाईm फरक निर्णय लिन सुझाएन। जे होस्, रेफ्रीहरुको टोलीबाट गल्ती भएकै हो।

किएसाले ७८ औँ मिनेटमा गोल फर्काएपछि खेल २–२ को बराबरीमा पुगेको थियो। तर त्यसपछि सासुओलोको नाममा दुई गोल थपिएपछि युभेन्टस अंकविहीन बन्यो।

आन्दे्र पिनामोन्टीले ८२ औँ मिनेटमा सासुओलोको तेस्रो गोल गरेका थिए। चौथो गोल युभेन्टसका फेडेरिको गाटीको नाममा रह्यो। सेज्नीबाट पाएको बल नियन्त्रणमा लिएर अगाढि बढाउनु पर्नेमा हेर्दै नहेरी ब्याक पास दिँदा आत्मघाती गोल भएको थियो।

२५ वर्षीय रक्षक गाटीका लागि युभेन्टससँग यो दोस्रो सिजन हो। गत सिजन उनी पहिलो रोजाइको रक्षक थिएनन्। यसपल्ट भने उनी एलेग्रीको ‘ब्याक थ्री’ को हिस्सा हुन्। गाटीले गरेको गल्तीको भिडियो यतिबेला इटालीमा भाइरल छ। हुन त उनको भिडियो भाइरल बनेको यो पहिलो पटक होइन।

एलेग्रीले गाटीको आलोचना गरेको छैनन्। ‘गाटीले पहिले पनि गल्ती गरेका छन्। भविष्यमा पनि गर्नेछन्। फुटबलरको करियरमा गल्तीबिनाको हुँदैन। फेरि यो खेलमा उनको गल्ती हटाउँदा पनि नतिजा परिवर्तन हुँदैन,’ एलेग्रीको प्रतिक्रिया थियो।

युभेन्टसले अहिले महत्त्वपूर्ण प्रश्न सामना गरिरहेको छ। र यो प्रश्न सेज्नी वा गाटीको गल्तीबारे होइन। बरु प्रश्न युभेन्टस सिरी ‘ए’ जित्न सक्षम छ कि छैन भन्ने हो। के किएसाको लय मात्र युभेन्टसलाई शीर्षस्थानमा फर्काउन पर्याप्त होला? चासो यता पनि छ।

लाजियोविरुद्ध भ्लाहोभिचले दुई सुन्दर गोल गरे। तर उनले युभेन्टसमा आफू मुख्य गोलकर्ता बन्नसक्छु भनेर प्रमाणित गर्न बाँकी छैनन्। स्थान्तरणका लागि युभेन्टसले तिरेको सात करोड युरोको भार उनले पन्छाउन सकेका छैनन्।

यद्यपि युभेन्टसको अग्रपंक्ति पहिलेभन्दा सुध्रिएको भने पक्कै हो। यसको कारण भ्लाहोभिच र किएसको जोडी हो। जो सँगै अग्रपंक्तिमा खेल्छन्। केही हदसम्म रक्षात्मक खेल्ने युभेन्टसमा बल पाउन साथ विपक्षीको क्षेत्रतिर दौडिने जिम्मा भ्लाहोभिचको हो। यो जिम्मेवारीमा भ्लाहोभिच रमाइरहेको देखिँदैनन्।

सिरी ‘ए’ को नयाँ सिजन सुरुवाती चरणमै छ। यसकारण सासुओलोसँगको हारले युभेन्टस आत्तिहाल्न आवश्यक छैन। तर यो हार युभेन्टसका लागि क्षमता जाँच भने थियो। युभेन्टस अब मंगलबार रातिको खेलमा केन्द्रित छ। जहाँ युभेन्टसको भेट लेचेसँग हुँदैछ।

लेचे युभेन्टसका लागि सजिलो विपक्षी हुने छैन। गएका दुई सिजन १४ र १८ औँ स्थानमा रहेको लेचे यसपालि एकै खेलमा हारेको छैन। पाँच खेलमध्ये तीनमा जित हात पारेको लेचेले फियारेन्टिना र मोन्जासँगको खेलबाट एक–एक अंक खोसेको हो।

हाल सिरी ‘ए’ का शीर्ष दुई स्थान इन्टर मिलान र एसी मिलानले ओगटेका छन्। तेस्रो स्थानमा लेचे छ। अपराजित रहरिहने लक्ष्यसाथ लेचे आलियान्ज ऐरिनामा पुग्नेछ। जहाँ युभेन्टसविरुद्ध लेचेले कयौँ खेल खेलेको छ। तर यसपल्टको खेल फरक हुनेछ। यसको कारण, वर्तमान अंक तालिका हो। लेचे यसअघि कहिलेपनि युभेन्टसभन्दा माथि रहेर आलियान्ज गएको थिएन।

प्रकाशित: ९ असोज २०८० ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 7 =