एडेन जेकोको गोलले सिरी ए उपाधि होड खुला, युभेन्टसको अपराजित यात्रा जारी

हिमाल प्रेस २१ पुष २०७९ १३:५३
8
SHARES
एडेन जेकोको गोलले सिरी ए उपाधि होड खुला, युभेन्टसको अपराजित यात्रा जारी

काठमाडौँ- एडेन जेकोको एक गोलले इटालियन सिरी ए को उपाधि होड खुला भएको छ। बुधबार राति उनकै गोलका कारण इन्टर मिलानले लिग लिडर नापोली पराजित भयो। इन्टरसँगको १–० को हारपछि पनि नापोली शीर्षस्थानमा यथावत छ। तर दोस्रो स्थानको एसी मिलानसँगको दूरी पाँच अंकमा सीमित भएको छ।

बोस्नियाका कप्तान जेकोले नापोलीको अपराजित यात्रा तोड्न ५६ औँ मिनेटमा हेडर गोल गरेका थिए। जेकोको यो सातौँ लिग गोल हो।

सिरी एमा १६ औँ चरणका खेल सकिएका छन्। जेकोसम्मिलित इन्टर चौथो स्थानमा उक्लिएको छ। इन्टरको खातामा ३३ अंक छ। जुन तेस्रो स्थानको युभेन्टसको भन्दा एक अंकले बढी हो भने पाँचौँ स्थानको लाजियोको भन्दा तीन अंकले बढी हो।

‘म ३६ वर्षको भइसकेँ। तर गोल गरिरहन चाहन्छु। सिरी ए जस्तो कठिन लिगमा टिकिरहन मैले मेहनतलाई निरन्तरता दिन आवश्यक छ। म त्यही गरिरहेको छु,’ जितपछि जेकोले डीएजेनसँग भनेका छन्।

इन्टरको जितले उसको सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई भयो। यो सप्ताहन्तको पहिलो खेल खेलेको मिलानले सालेरनिटानालाई पराजित गरेको थियो। मिलानको जितमा राफाएल लिआओ र सान्द्रो टोनालीले एक–एक गोल गरे। सालेरनिटानाका तर्फबाट भएको गोल फेडेरिको बोनाज्जोलीको नाममा रह्यो।

विश्वकपअघि एकै खेल नहारेको नापोली इन्टरसँग हारेपछि युभेन्टस पनि खुसी छ। नयाँ सिजनको सुरुवातमा संघर्ष गरेको युभेन्टस हाल लयमा फर्किएको छ। लिगमा लगातार सातौँ जित दर्ता गर्ने क्रममा युभेन्टसले बुधबार राति क्रेमोनेसेमाथि १–० को साँघुरो जित हासिल गर्‍याे। युभेन्टसलाई तीन अंक दिलाउन आर्काडिउस मिलिकले एक गोल गरे। पोल्यान्डका मिलिकका लागि यो पाँचौँ लिग गोल हो।

लगातारको जितका कारण युभेन्टस लिग उपाधि होडमा फर्किने अनुमान गरिएको छ। अक्टोबर ८ मा मिलानसँग २–० को हार व्यहोरेयता युभेन्टसले लिगमा गोल खाएको छैन। यसकारण पनि युभेन्टस उत्साहित बनेको हो।

‘मिलिकले उत्कृष्ट गोल गरे। तर जित सजिलै हासिल भएन। सोचेभन्दा बढी मेहनत गर्नुपर्‍यो। खैर जे होस्, हामी विस्तारै अघि बढिरहेका छौँ,’ खेलपछि युभेन्टसका प्रशिक्षक मासिमिलयानो एलेग्रीले भने।

क्रेमोनेसे भने यो सिजन एक खेल पनि जित्न सकेको छैन। सन् १९९६ पछि पहिलो पटक सिरी ए मा फर्किएको क्रेमोनेसेले विश्वकपअघि मिलानसँग बराबरी खेलेको थियो। युभेन्टससँग भिड्दा पनि क्रेमोनेसेले आक्रामक खेल्ने प्रयास गरेको थियो। उसका दुई प्रहार युभेन्टसको पोस्टमा ठोक्किएका थिए।

क्रेमोनेसेको रंगशाला स्टाडियो जियोभानी जिन्नीमा युभेन्टसका समर्थकले जियानलुका भियालीलाई सम्झिँदै ब्यानर प्रदर्शन गरेका थिए। भियाली हाल क्यानसरसँग जुधिरहेका छन्। क्रेमोनेसेबाट करियर सुरु गरेका भियाली १२ वर्षपछि युभेन्टसतिर सरेका थिए। जहाँ उनले सिरी ए र च्याम्पियन्स लिग उपाधि जितेका थिए। युभेन्टस समर्थकले भियालीप्रति देखाएको स्नेहलाई क्रेमोनेसेका समर्थकले सम्मान गर्दै ताली बजाएका थिए।

कम्तीमा शीर्ष चारमा पर्ने अनुमान गरिएको लाजियो भने लेचेसँग पराजित भयो। पहिलो हाफमा कप्तान सिरो इमोबिलेको गोलबाट अग्रता लिएको लाजियोले दोस्रो हाफमा दुई गोल खाएको थियो। लेचेका लागि गाब्रियाल स्ट्रेफेजा र लोरेन्जे कोलोम्बोले एक–एक गोल फर्काए।

लाजियोमाथिको अप्रत्याशित जितले लेचेलाई १२ औँ स्थानमा पुर्‍याएको छ। लेचेसँग १६ खेलबाट १८ अंक भएको छ। जुन रेलिगेसन क्षेत्रबाट नौ अंकका दूरी हो। लाजियो भने ३० अंकसहित पाँचौँ स्थानमा छ।

‘दोस्रो हाफमा हामीले बाटो बिरायौँ। हामीले लय गुमाएपछि स्वाभाविक रुपमा विपक्षी टिमले खेललाई नियन्त्रणमा लियो। खासमा भन्दा हामी आफैँले लेचेलाई नतिजा सुम्पियौँ,’ लाजियोका प्रशिक्षक माउरिजियो सारीले भने।

लोरेन्जो पेलिग्रिनीले गरेको पेनाल्टी गोल निर्णायक बनेपछि एएस रोमाले बोलोन्यालाई १–० ले पन्छायो। यो जितपछि रोमाले उसको सहरी प्रतिद्वन्द्वी लाजियोसँग अंक बराबरी गरेको छ।

मारियो पासालिचले आतिरिक्त समयमा गोल गरेपछि एटलान्टा स्पेजियासँग हारबाट जोगियो। स्पेजियाले पहिलो हाफमै दुई गोल गरेको थियो। इम्मानुएल क्वार्टसिन ग्यासीले आठौँ र एमबाला एनजोलोले ३१ औँ मिनेटमा स्पेजियाका लागि गोल गरेका थिए। दोस्रो हाफको ७७ औँ मिनेटमा रास्मुस होलुन्डले गोल गरेपछि भने एटलान्टा खेलमा फर्कने संकेत गरेको दियो। खेल सकिनै लाग्दा पासालिचले गोल गरेपछि भने एटलान्टाले स्पेजियाबाट अंक खोस्यो।

लिगमा पाँचौँ बराबरी गरेपछि स्पेजिया १७ औँ स्थानमा छ। एटलान्टा भने सातौँ स्थानमा यथावत छ।

प्रकाशित: २१ पुष २०७९ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =