सिरी ए : उपाधि उत्सव पर्खंदै नापोली, बाँकी ठूला क्लबलाई शीर्ष चारको चिन्ता

हिमाल प्रेस २१ वैशाख २०८० १३:४४
8
SHARES
सिरी ए : उपाधि उत्सव पर्खंदै नापोली, बाँकी ठूला क्लबलाई शीर्ष चारको चिन्ता

काठमाडौँ- लाजियोले बुधबार सासुओलोलाई हराएपछि नापोलीले सिरी ‘ए’ उपाधि जित्न बिहीबार रातिसम्म पर्खनु पर्ने भएको छ। नापोलीलाई तत्काल च्याम्पियन बन्नबाट रोक्ने सकेकाले मात्र लाजियोका लागि यो जित महत्त्वपूर्ण छैन। बरु च्याम्पियन्स लिगमा छनोट हुने लक्ष्य सफल बनाउन यो जितको बढी महत्त्व छ।

सिरी ‘ए’ मा पाँच खेल खेल्न बाँकी रहँदा लाजियो गणितीय रुपमै भए पनि उपाधि दौडमा सामेल छ। यद्यपि बिहीबार राति उडिनेसेसँग बराबरी खेले मात्र पनि नापोली इटालीको नयाँ च्याम्पियन बन्नेछ। किनभने शीर्षस्थानमा नापोलीको १५ अंकको अग्रता छ। त्यो पनि लाजियोभन्दा एक खेल कम खेलेर। लाजियोसँग भने ३३ खेलबाट ६४ अंक छ।

उपाधि होडमा नापोलीको एकल दबदबा भए पनि शीर्ष चारका अन्य स्थानका लागि भने प्रतिस्पर्धा कडा बन्दै गइरहेको छ। हाल तेस्रो र चौथो स्थानमा रहेका युभेन्टस र इन्टर मिलानले क्रमशः ६३ र ६० अंक बटुलेका छन्।

चौथो स्थानका लागि अन्य तीन क्लबको पनि दाबी छ। ती क्लब हुन्, एटलान्टा, एसी मिलान र एएस रोमा। यी तीन क्लबले ३३–३३ खेल खेलिसकेका छन्। पाँचौदेखि छैटौँ स्थानमा रहेका एटलान्टा, मिलान र रोमासँग ५८–५८ अंक छ।

स्टाडियो ओलिम्पिकोमा लाजियोलाई जित दिलाउन फिलिपे एन्डरसन र टोमा बेसिकले एक–एक गोल गरेका थिए। घरेलु रंगशालामा लाजियो १४ औँ मिनेटमा अघि बढेको थियो। लाजियोको पहिलो गोल गर्दा एन्डरसनले मार्को एन्टोनियोको पास सदुपयोग गरे। बेसिकले भने खेलको उत्तराद्र्धमा लाजियो गोल थपेका थिए। माटिया जाकाग्नीको पासमा बेसिकले ‘ट्याप इन’ गोल गरेका थिए।

दौड च्याम्पियन्स लिगको
नापोली इटालेली च्याम्पियन बन्दै च्याम्पियन्स लिगमा छानिने पक्का भइरहँदा बाँकी तीन स्थानका लागि इटालीका ठूला क्लब भिडिरहेका छन्। लिग सकिनै लाग्दा भिडन्त थप प्रतिस्पर्धात्मक बन्दैछ। यो प्रतिस्पर्धामा रहेका मिलान सहरका दुई क्लबको नजर यो सिजनको च्याम्पियन्स लिगमा पनि छ। किनभने मिलान र इन्टर आउँदो बुधबार युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको सेमिफाइनलमा आमनेसामने हुँदैछन्।

सान सिरोमा सहरी प्रतिद्वन्द्वी इन्टरसँग भिड्नुअघि मिलानले सिरी ए मा लाजियोसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल शनिबार हुने तालिका छ। इन्टर र लाजियोसँगको खेललाई मध्यनजर गर्दै मिलानका प्रशिक्षक स्टिफियानो पियोलीले बुधबार क्रेमोनेसेसँग दोस्रो रोजाइको टिम उतारेका थिए।

बेन्चका खेलाडीले भरिएको मिलानले क्रेमोनेसेसँग १–१ को बराबरीमा खेल्यो। गत सिजनको लिग विजेता मिलानविरुद्ध क्रेमोनेसेले डेभिड आकेरेकेको गोलमार्फत अग्रता लिएको थियो। मिलानले बराबरी गोल ९० मिनेटपछि मात्र फर्काउन सक्यो। मिलानको उद्दार जुनियर मेसिआसले गरेका थिए।

मिलानअघि इन्टर मैदानमा ओर्लिएको थियो। चौथो स्थानमा उक्लिन इन्टरले हेल्लास भेरोनालाई ६–० ले पन्छायो। उता रोमा मोन्जासँग १–१ को बराबरीमा रोकियो। इन्टरलाई विजयी बनाउन एडेन जेको र लाउटारो मार्टिनेजले दुई–दुई गोल गरे। हाकान चालानोग्लुले एक गोल गरेको खेलमा मोन्जाका एडोल्फो गाइचले इन्टरलाई एक गोल उपहार दिए।

जेको मध्य–जनवरीपछि पहिलो पटक गोलकर्ताको सूचीमा देखिएका हुन्। ‘स्ट्राइकरका लागि गोल महत्त्वपूर्ण हुन्छ। तर म तथ्यांकमा ध्यान दिन्न। सबै खेलाडीका लागि मुख्य कुरा च्याम्पियन्स लिग छनोट हो,’ जेकोले भने।

शीर्ष चारको सपना नत्यागेको रोमाविरुद्ध मोन्जाका लुका काल्डिरोलाले ३९ औँ मिनेटमा बराबरी गोल गरेका थिए। त्यसअघि स्टिफन एल सरावीको गोलमार्फत रोमा खेलमा अघि बढेको थियो।

लाजियोमाथि दबाब बढाइरहेको युभेन्टसले बुधबार लेचेलाई २–१ ले हरायो। युभेन्टसलाई लिगको १९ औँ जित दिलाउन लियान्द्रो पाराडेस र डुसान भ्लाहोभिचले एक–एक गोल गरे। सर्बियाका भ्लाहोभिचले पहिलो हाफको ४० औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो। भ्लाहोभिचले निर्णायक गोल गर्नुअघि आसान सेसीले लेसेलाई बराबरीको स्थितिमा पु¥याएका थिए।

‘भ्लाहोभिचले आफ्नो करियरमा यसअघि यत्तिको अप्ठ्यारो भोग्नु परेको थिएन। किनभने फियोेरेन्टिनामा उनले निरन्तर गोल गरिरहेका थिए। तर स्ट्राइकरका करियरमा उतारचढाव आउनु स्वाभाविक हो,’ युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीले आफ्ना महँगा स्ट्राइकरबारे भनेका छन्।

भ्लाहोभिचले सिरी ए मा ११ खेलपछि गोल गरेका हुन्। उनले यस्तो बेला गोल गरे, जति बेला युभेन्टस लगातार चार खेलमा जितविहीन थियो।

गत आइतबार नापोलीविरुद्ध गोल गरेका बौउलाए डियाले बुधबार पनि गोल लयलाई जारी राखे। उनकै गोलका कारण सालेरनिटानाले नापोलीलाई १–१ मा रोकेको थियो। जसकारण नापोलीको उपाधि उचाल्ने लक्ष्य तत्कालका लागि लम्बिएको थियो। उनै डियाले हयाट्रिक गरेपछि सालेरनिटानाले फियोरेन्टिनालाई ३–३ मा रोक्न सक्यो। १४ औँ स्थानको सालेरनिटनाका लागि सेनेगलका डियाले १६ गोल गरिसकेका छन्।

पुछारको साम्पडोरिया भने रेलिगेसनको थप नजिक पुगेको छ। साम्डोरिया बुधबार राति टोरिनोसँग २–० ले हार्न पुग्यो। लिगमा पाँच खेल्न बाँकी रहेको साप्डोरियालाई रेलिगेसनबाट बच्न ११ अंकको आवश्यकता छ। साम्डोरियामाथि क्रेमोनेसे र भेरोना छन्। क्रेमोनेसेले २१ र भेरोनाले २७ अंक बटुलेका छन्। १७ औँ स्थानको स्पेजियासँग पनि २७ अंक नै छ।

प्रकाशित: २१ वैशाख २०८० १३:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =