म्याराडोनाबिना च्याम्पियन बन्न ३३ वर्ष लगाएको नापोली

हिमाल प्रेस २३ वैशाख २०८० १३:२४
86
SHARES
म्याराडोनाबिना च्याम्पियन बन्न ३३ वर्ष लगाएको नापोली

कुरा नौ वर्षअघिको हो, पाउलो सोरेन्टिनोको ‘द ग्रेट ब्युटी’ चलचित्र ओस्कारमा उत्कृष्ट घोषित भयो। इटालेली निर्देशक सोरेन्टिनो ओस्कार लिन स्टेजमा उक्लिए। आफ्नो भनाइ राखे। आफूलाई प्रेरणा दिने चार व्यक्तिको नाम सुनाए। ती थिए, इटालेली निर्देशक फेडेरिको फेलिनी, अंग्रेजी लेखक जेआरआरआर टोल्किन, अमेरिकी निर्देशक मार्टिन स्कोरसेसे र डिएगो म्याराडोना।

सोरेन्टिना नेपल्समा जन्मिए। त्यहीँ हुर्किए। यति भएपछि उनी नापोलीको समर्थक भइहाले। उनी नापोलीका हरेक खेल हेर्न चाहन्थे। खेल हुने दिन नापोलीका अरू समर्थकसँग सडकमा कुम मिलाएर हिँड्ने उनको इच्छा हुन्थ्यो। तर यी इच्छा पूरा गर्न पिताको अनुमति चाहिन्थ्यो। अनुमति कहिले पाउँथे, कहिले पाउँदैन थिए। समय यस्तो थियो, जब नापोली इटालीको शक्तिका रूपमा उदाइरहेको थियो। किनकि नापोलीसँग म्याराडोना थिए।

कुनै एउटा आइतबार, सोरेन्टिनो नापोलीको खेल हेर्न इम्पोली पुगे। घर फर्केपछि ‘डोरबेल’ बजाए। ढोका खुलेन। छिमेकको घरबाट कसैले उनलाई भन्यो, आज एउटा दुःखद घटना भयो, त्यसले तिम्रो मातापितालाई लग्यो। ‘कार्बोन मोनोओक्साइड’ ग्यास लिक हुँदा सोरेन्टिनोको मातापिताको ज्यान गएको थियो।

सोरेन्टिनोमाथि यस्तो आपत् आइलाग्दा  उनी किशोर उमेरमै थिए।  उनी कति हतास भए, यसको कल्पना अहिले गर्न सकिँदैन। तर सोरेन्टिनो आफैँले भनेका छन्, त्यसबेला उनलाई सम्हालिन म्याराडोनाको खेलले सहयोग गर्‍यो। ‘मलाई उनी चिन्दैन थिए, तर पनि उनी मेरा मित्र थिए। उनको खेल मेरा लागि उपहार थियो। पिनो डानिएलको संगीत र मासिमो ट्रोइसीको कमिक जस्तै,’ सोरेन्टिनोले भनेका छन्।

नापोलीका लागि म्याराडोना त देवता नै थिए। नम्बर १० जर्सी लगाउने म्याराडोनाको परिचय योभन्दा ठूलो हुन सक्दैन, कम्तीमा नेपल्सबासीका लागि। म्यारोडोना नेपल्स पुगे, नेपोलीलाई दुई पटक सिरी ए जिताए। जब उनी नेपल्सबाट हिँडे, तब नापोलीले जित्न बिर्सियो। तर अब नापोली ब्युँझिएको छ, ३३ वर्ष लामो सुताइपछि।

म्याराडोनाबिना नापोलीले फेरि लिग जित्न सक्छ? प्रश्न यस्तो पनि गरिन्थ्यो। यो प्रश्नले तीन दशकभन्दा बढी समय जवाफ पाएन। उसो त नापोली समर्थक आफैँ विश्वस्त थिएनन्। हुनु पनि कसरी, म्याराडोनाकै साथ नभएपछि।

म्यारोडोना यो संसारमा छैनन्। हुन त उनलाई कहिले पनि यो संसारको मानिएन। त्यत्तिको सुन्दर फुटबल खेल्न सक्ने म्याराडोना कसरी सामान्य मानिस हुनसक्छन् र? म्याराडोना हामीलाई छाडेर गइसके। तर उनको विविध परिचयको अस्तित्व मेटिएको छैन। नेपल्सबासीले उनलाई सन्त मान्न छाडेका छैनन्। सर्वकालीन महान् खेलाडी भएकाले उनलाई संग्रहालयमा सजाइनुपर्ने हो। तर उनलाई नेपल्सले चर्चमा पूज्छ।

नेपल्स सहरबीच स्पेनी बस्ती छ। जहाँ एउटा अग्लो घरमा उति नै अग्ला म्याराडोना देखिन्छन्। घरको भित्तामा बनाइएको म्याराडोनाको यो चित्र सबैका लागि विशेष छ। खासमा यो ठाउँ इटाली पुग्ने फुटबल समर्थकका लागि तीर्थ हो।

कुरा फेरि सोरेन्टिनोकै। उनले एउटा टेलिभिजन शृंखला निर्माण गरेका थिए। जहाँ एक नापोली समर्थकले सिरी ए जितेको खुसीयाली मनाइरहेको दृश्य थियो। सोरेन्टिनोले पछि यो दृश्य हटाए। कारण थियो, अन्धविश्वास। सिरी ए जित्न नसकिरहेका बेला यस्तो दृश्य राख्दा नापोलीले साँच्चे नजित्ने हो कि? सोरेन्टिनोको मनमा यो डर पैदा भयो।

नेपल्स सहरका लागि नापोली, सिरी ए र म्याराडोनाको महत्त्व कति छ? भर्खर नापोली पुगेकाले अन्दाज लगाउन मुस्किल छ। हप्तौँ भयो, म्याराडोनाको चित्र भएको ठाउँमा एउटा ब्यानर झुन्ड्याएको। जसमा लेखिएको छ, ‘इटालीको नयाँ च्याम्पियन’। त्यहाँको बजारमा ‘नापोलीको तेस्रो सिरी ए उपाधि (नम्बर थ्री)’ प्रिन्ट गरिएको मफलर बिक्न थालेको त निकै अघिदेखि हो। त्यहाँका प्रत्येक बारमा नापोली, म्याराडोना र नम्बर थ्री अंकित एलइडी लगाइएको पनि उहिल्यै हो।

सोरेन्टिनोजस्तै नापोलीका अरू समर्थक पनि डराएकै हुन्, कतै यसपालि पनि लिग जितिँदैन कि भनेर। जबकि गत साता नै पनि नापोली १७ अंकले अघि थियो। तर यति हुँदाहुँदै पनि नापोली समर्थक किन सशंकित? यसको जवाफ रोचक छ। नेपल्समा १७ अंक शुभ मानिँदैन। सालेरनिटानालाई हराएको भए, नापोली गत आइतबार नै लिग च्याम्पियन बन्ने थियो। तर उत्सव तत्कालका लागि रोकियो। भलै प्रशिक्षक लुसियोनो स्पालेट्टीलाई थाहा थियो, रोकावट लामो समयका लागि होइन। बिहीबार राति भने पखाई समाप्त भयो। उत्तरी इटालीको उडिनेसेमा भिक्टर ओसिमेनले ५२ औँ मिनेटमा गोल गरे। यो गोलले नापोलीलाई खेल जित्न मद्दत गरेन। तर लिग च्यम्पियन भने बनायो।

नापोलीको यो यात्राको चलचित्र पक्कै बन्नेछ। यसको अधिकार नापोलीका अध्यक्ष औरेलियो डे लौरेन्टिस आफैँले राख्नेछन्। सम्भवत: यो चलचित्र ‘फिल्माउरो स्टुडियो’ ले निर्माण गर्नेछ। ‘फिल्माउरो’ लौउरेन्टिस परिवारकै ‘फिल्म प्रोडक्सन कम्पनी’ हो। जसको स्थापना औरेलियोको पिता लुइजीले आफ्ना भाइ डिनोसँग मिलेर गरेका थिए। डिनो इटालीका ठूला निर्मातामध्येका एक हुन्। समय यस्तो पनि थियो, जब डिनो हलिउडका ठूला ठूला स्टारलाई रोम बोलाउँथे, तिनलाई आफ्ना चलचित्रमा खेलाउँथे।

औरेलिया सानैमा नेपोलीको समर्थक बनेका हुन्। पिता लुइजी औरेलियालाई नापोलीको खेल हेर्न लैजान्थे। औरेलियालाई नापोलीको चस्का यतिसम्म लाग्यो कि उनी यसको मालिक बन्ने सपना बुन्न थाले। पहिलो प्रयास सन् १९९९ मा गरे, जतिबेला नापोली रेलिगेसनमा थियो। औरेलियोलाई सजिलै किन नापोलीको मालिक बन्न दिइन्थ्यो र? मुद्दा नै पर्‍यो। यति हुँदा पनि औरेलियाले पनि सपना त्यागेनन्। उनी सही मौकाको पर्खाइमा थिए। नापोलीभित्र आर्थिक समस्या बढ्दै जानु औरेलियो मौकाको नजिक पुग्नु थियो।

अन्ततः सन् २००४ मा नापोली टाट पल्टियो। त्यही कारण नापोलीलाई तेस्रो श्रेणी (सिरी सी) मा झारियो। अब के भन्न थालियो भने, नापोलीसँग भएको जे जति सम्पत्ति छ, बेचेर ऋण तिरौँ। औरेलियोलाई यस्तो कुरा सह्य भएन। फेरि यो उनका लागि मौका पनि थियो, नापोलीको स्वामित्व लिने। उनले निर्णय लिए, पिता र काकाले थालेको चलचित्र व्यापार होइन, नापोलीको मालिक बन्नु ठिक।

त्यसबेला औरेलियो ‘स्काई क्याप्टेन एन्ड द वर्ल्ड फर टुमारो’ नाम गरेको चलचित्र निर्माणमा व्यस्त थिए। जसमा अभिनय गर्दै थिए, एन्जिलिना जोली, ज्युड ल जस्ता स्टार। नापोलीको स्वामित्व लिने पक्का भएपछि औरेलियो इटाली फर्कनुपर्ने भयो। के भनिन्छ भने इटाली फर्कनुअघि उनले ती कलाकारलाई आफू नहुँदा दायाँबायाँ नगर्न चेतावनी दिएका थिए। त्यसपछि औरेलियो इटालीकै काप्री द्वीप पुगे, नापोलीको खरिद सम्झौता पूरा गरे। उनले यसको जानकारी श्रीमती ज्याकलिन र दुई छोरालाई दिएनन्।

खरिद सम्झौताको नोटरी गर्न आवश्यक थियो। यो काम उनले काप्रीमा गर्न सकेनन्। त्यसकारण त्यही दिन डुंगामा नेपल्स गए। वकिल भेटे। अब तीन करोड ३० लाख युरो बराबरको खरिद सम्झौता पूरा भयो। टाट पल्टिएको क्लब खरिद गर्दा उनले पाएको यति हो, नापोलीको नाम। वा नापोलीको ब्रान्ड। औरेलियो सेप्टेम्बर, २००४ मा नापोलीको नयाँ मालिक बन्दा नयाँ सिजन सुरु हुनै लागेको थियो। ‘हामीले नजिकैको पसलबाट जर्सी किन्यौँ। त्यसपछि टिम बनायौँ। अभ्यास सुरु गर्‍यौँ,’ सुरुवाती दिनबारे औरेलियोले भनेका छन्, ‘म त चलचित्र क्षेत्रबाट आएको मान्छे, फुटबलबारे केही थाहा थिएन। विद्यालयमा पनि मैले फुटबल खेलेको होइन।’

नापोली अभ्यासका लागि पुरानो मैदान पाइस्टम फर्कियो। मैदान त्यही थियो, जहाँ म्याराडोना अभ्यास गर्थे। उनी हुँदा पाइस्टमलाई ‘प्याराडिसो (स्वर्ग)’ भनिन्थ्यो। तर पछि त्यहाँ अभ्यास गर्न छाडिएको थियो। अलपत्र मैदानमा फर्किएर सुरु गरेको यात्रा कम सकसपूर्ण थिएन। औरेलियोको पहिलो सिजन नापोली बढुवा नजिक पुग्यो। तर निर्णायक प्लेअफमा हारेपछि नापोली तेस्रो श्रेणीमै अड्कियो।

सुरुवात कठिन भए पनि औरेलियोको नेतृत्वमा नापोलीले गजबको यात्रा तय गरेको छ। यो २० वर्षमा नापोली समर्थकले केके मात्र देख्न पाएनन्? नापोली सिरी ‘ए’ मा त फर्किएको देखे। १३ वर्षपछि च्याम्पियन्स लिगको अनुभूति गरे। यहीबीचमा नापोलीले तीन पटक कोपा इटालिया पनि जित्यो। पुरानो ‘पाम्पा सोसा’ जसी फिर्ता ल्याइयो। मारेक हाम्सिक, एडिन्स काभानी र एजिक्युल लाभेज्जीको गीत बने। नापोलीले टुरिनामा सन् १९८८ पछि पहिलो पटक युभेन्टसलाई हरायो। त्यही युभेन्टसले गोन्जालो हिग्वाइन खोस्यो। हिग्वाइनलाई प्रतिस्थापन गरेका ड्राइज मर्टेन्स नयाँ नायक बने। जो आखिरमा नापोली इतिहासकै उच्च गोलकर्ता भए।

यो बीचमा नापोलीले कैयौँ पटक लोभलाग्दो टिम निर्माण गर्‍यो। तर लिग कसैले जितेनन्। माउरिजियो सारीले समेत नापोलीलाई च्याम्पियन बनाउन सकेनन्। जबकि सन् २०१७/१८ मा सारी नेतृत्वको नापोलीले ९१ अंक बटुलेको थियो। यद्यपि लिग जित्न चार अंक अपुग भयो। हरेक पक्षमा युभेन्टसभन्दा बलियो नापोलीले लिग नजित्दा यसो भनियो, ‘यो नापोली टिमले सिरी ए जित्न सक्दैन भने भविष्यमा कुनै पनि नापोली टिमले सिरी ए जित्न सक्दैन।’

इटालेली फुटबलमा आज पनि यो मान्यता कायम छ, दक्षिणभन्दा उत्तर सफल। कारण? उत्तरी इटालीमा रहेका युभेन्टस, एसी मिलान र इन्टर मिलान। यी तीन सिरी ‘ए’ का सर्वाधिक सफल क्लब हुन्। युभेन्टस र मिलान सहरका दुई क्लबभन्दा कम सफल भए पनि सुन्दर फुटबल खेल्ने मामलामा भने नापोली अगाडि छ। नापोलीले यसपालि मात्र तीन ठूला क्लबभन्दा कलात्मक फुटबल खेलेको होइन। सन् १९७० कै दशकमा पनि नापोलीको खेल दर्शनीय हुन्थ्यो। विशेषगरी लुइस भिनिसियो प्रशिक्षक हुँदा।

त्यो नापोली टिम यति सुन्दर फुटबल खेल्थ्यो कि पेप ग्वार्डिओला र आरिगो साची पनि ‘स्टाडियो अर्मान्डो म्याराडोना (नापोलीको रंगशाला)’ पुग्थे। लिग नजितेपछि निराश देखिएका सारीले दिएको अभिव्यक्ति आज पनि मार्मिक छ। ‘हामीले फुटबल इतिहासमा केही यस्ता टिम देखेका छौँ, जसलाई कहिल्यै बिर्सन सकिँदैन। जबकि उनीहरूले उपाधि जित्न सकेनन्। उदाहरणका लागि सन् १९७० दशकको नेदरल्यान्ड्स। मलाई आशा छ, अबको २० वर्षसम्म नापोलीबारे चर्चा हुनेछ,’ सारीले भनेका थिए।

इटालेली फुटबलमा आज पनि यो मान्यता कायम छ, दक्षिणभन्दा उत्तर सफल। कारण? उत्तरी इटालीमा रहेका युभेन्टस, एसी मिलान र इन्टर मिलान। यी तीन सिरी ए का सर्वाधिक सफल क्लब हुन्। युभेन्टस र मिलान सहरका दुई क्लबभन्दा कम सफल भए पनि सुन्दर फुटबल खेल्ने मामिलामा नापोली अगाडि छ। नापोलीले यसपालि मात्र तीन ठूला क्लबभन्दा कलात्मक फुटबल खेलेको होइन। सन् १९७० कै दशकमा पनि नापोलीको खेल दर्शनीय हुन्थ्यो। विशेषगरी लुइस भिनिसियो प्रशिक्षक हुँदा।

जति सुन्दर फुटबल खेले पनि उपाधि नजितेपछि के अर्थ? नापोलीलाई यसरी खिल्ली उडाउँथ्यो उत्तर इटाली। यो विषयमा क्लब समर्थक मात्र होइन पत्रकार पनि विभाजित हुन्थे। दुई लोकप्रिय पत्रकारले आपसमा गरेको घोचपेचले सधैँ चर्चा पाउँथ्यो। दक्षिणका एन्टोनियो घिरेल्ली युभेन्टस, मिलान र इन्टरको रक्षात्मक फुटबलले इटालीलाई हानि पुर्‍याउने जिकिर गर्थे। घिरेल्लीका समकक्षी जियानी बेरा नापोलीलाई ‘ब्युटिफल लुजर’ भन्थे।

झन् लुसियोनो स्पालेट्टीको नियुक्तिले त बेराको तर्कलाई बलियो बनाइदिएको थियो। खासमा स्पालेट्टीको छवि पनि त्यस्तै थियो, निर्णायक समयमा पछि पर्ने। उनी नेतृत्वको रोमा दुई पटक सिरी ए उपाधिनजिक पुगेर पनि रित्तो बनेको थियो। रोमा सन् २००७/०८ इन्टरसँग तीन र २०१६/१७ मा युभेन्टससँग चार अंकले पछि परेको थियो। सन् २०१६/१७ सिजनमा त रोमाले उग्रै खेलेको थियो। एडेन जेकोले मात्र २९ लिग गोल गरेका थिए। रोमाले ८७ अंक बटुल्यो। सामान्यतया यति अंक बटुल्दा जितिने सिरी ए मा रोमा फेरि एकपल्ट अभागी साबित भयो।

मे २०१९ मा इन्टर मिलानबाट बर्खास्तीमा परेपछि स्पालेट्टी जागिरविहीन थिए। दुई वर्षसम्म उनी कतै गएनन्। मे, २०२१ मा मात्र हो उनी नापोलीको प्रशिक्षक बनेको। उनीअघि नापोलीमा जेनारो गाटुसो थिए। जसको नेतृत्वमा नापोली संघर्षरत थियो। नापोलीले सात खेलमा तीन जित मात्र हात पारेपछि औरेलियोको धैर्य टुट्यो। अनि स्पालेट्टीलाई नियुक्त गरे। स्पालेट्टी त्यसबेलासम्म पनि इन्टरबाट तलब बुझिरहेका थिए। भलै इन्टरले एन्टोनियो कोन्टेलाई प्रशिक्षक बनाइसकेको थियो। स्पालेट्टीलाई हटाएर कोन्टेलाई टिमको जिम्मा दिइनुको कारण थियो, सिरी ए च्याम्पियन बन्ने लक्ष्य।

स्पालेट्टीलाई इन्टरले यस्तो बेला हटाएको थियो, जति बेला उनी भा मार्सेलोको निधनको शोकमा थिए। इन्टरबाट निकालिएपछि स्पालेट्टी ‘फार्म’ मा दिन बिताउन थाले। दिनहुँ फुटबल मैदानमा देखिने स्पालेट्टी अब हाँस र घोडासँग रमाउन थाले। तर उनलाई औरेलियोकोे प्रस्तावले एकान्तमा बस्न दिएन। नापोलीको प्रशिक्षक बनेपछि गर्नुपर्ने कामबारे स्पालेट्टी प्रस्ट थिए।

‘मलाई औरेलियोले प्रशिक्षक बन्न प्रस्ताव राख्दा नापोली संक्रमणकालीन स्थितिमा थियो। टिममा पुनःनिर्माणको आवश्यकता थियो। दुई वर्षभित्र च्याम्पियन्स लिगमा पुनरागमन गर्नु थियो। सँगसँगै सुन्दर फुटबल खेल्नु थियो। सुन्दर फुटबल खेल्ने टिमको परिचय नबनाए नयाँ खेलाडी अनुबन्ध गर्न सकिने अवस्था थिएन। किनभने पछिल्ला दुई वर्षमा प्रतिभावान् खेलाडी नापोली जान मानिरहेका थिएनन्,’ स्पालेट्टीले भनेका छन्।

स्पालेट्टी नापोलीको प्रशिक्षक बन्नुअघि नै युरोपमा कोभिड-१९ महामारी फैलिसकेको थियो। महामारीका बीचमा पनि औरेलियोले महँगा खेलाडी अनुबन्धन गरिरहेका थिए। जस्तै, भिक्टर ओसिमेन। उनका लागि सात करोड ५० लाख युरो तिरियो। यो स्थानान्तरण रकमले उनलाई नापोली इतिहासकै सर्वाधिक महँगा खेलाडी बनायो। ओसिमेनको उपस्थितिमा पनि नापोली शीर्ष चारमा छनोट भएन।

स्पालेट्टीलाई इन्टरले यस्तो बेला हटाएको थियो, जति बेला उनी भाइ मार्सेलोको निधनको शोकमा थिए। इन्टरबाट निकालिएपछि स्पालेट्टी ‘फार्म’ मा दिन बिताउन थाले। दिनहुँ फुटबल मैदानमा देखिने स्पालेट्टी अब हाँस र घोडासँग रमाउन थाले। तर उनलाई औरेलियोको प्रस्तावले एकान्तमा बस्न दिएन। नापोलीको प्रशिक्षक बनेपछि गर्नुपर्ने कामबारे स्पालेट्टी प्रस्ट थिए।

च्याम्पियन्स लिगको सपना देखेका नापोली समर्थक निराश हुनु स्वाभाविक थियो। यस्तोमा स्पालेट्टीको पहिलो लक्ष्य थियो, नापोली समर्थकलाई उत्साहित बनाउने। नापोलीको प्रशिक्षकका रूपमा पत्रकार सम्मेलनमा पहिलो पटक उपस्थित हुँदा स्पालेट्टीको ध्यान समर्थक फकाउनेमा थियो। त्यहाँ उनले नापोलीले आगामी दिनमा खेल्ने शैलीबारे प्रवचन दिन भ्याए।

स्पालेट्टी यतिमै रोकिएनन्। अभ्यास गर्दा खेलाडीले लगाउने ‘बिब्स’ मा समर्थकले गाउने प्रख्यात गीतको अंश लेखाए। ‘म सधैँ तिम्रो साथमा रहनेछु। कहिल्यै हार नमान। नापोलीलाई च्याम्पियन बनाउने सपना देखेका छौँ। त्यो पूरा गर्नुछ,’ गीतको अंश यस्तै थियो। गीतमा भनिएझैँ स्पालेट्टीले नापोलीलाई लिग जित्ने सपना देखाएका थिए। स्पालेट्टीको पहिलो सिजनको सुरुवात पनि गजबै थियो। नापोलीले सुरुका आठ खेल जित्यो। तर १३ औँ खेलमा सानसिरोमा इन्टरसँग हारेसँगै नापोलीको लय खस्किन पुग्यो।

अस्थिर प्रदर्शन गरिरहेको नापोली भिक्टोर ओसिमेनको आँखामा चोट लागेपछि साँच्चै समस्यामा पर्‍यो। डिसेम्बरमा लगातार तीन खेल हारेको नापोलीका केही मुख्य खेलाडी अफ्रिका कप अफ नेसन्स खेल्न घर फर्किए। टिम खराब लयबाट गुज्रिरहेकै बेला कालिडौउ कौलिबाली तथा आन्द्रे फ्रान्क जाम्बो एन्गुएसाजस्ता खेलाडी एफ्कोनका लागि अफ्रिका फर्कँदा औरेलियो आक्रोशित बने। ‘अबदेखि एफ्कोन नखेल्ने सर्त मान्ने अफ्रिकी खेलाडीलाई मात्र अनुबन्ध गर्ने,’ औरेलियोले यतिसम्म भने।

सिजनको बीचमा कप्तान लोरेन्जो इन्सिन्याको सम्झौता सकिनुले पनि नापोलीको एकाग्रतामा असर पर्‍यो। नापोलीले सिरी ए मा युभेन्टसको सामना गर्न दुई दिन मात्र बाँकी रहँदा इन्सिन्यालाई टोरोन्टो एफसीले आफ्नो नयाँ खेलाडीका रूपमा प्रस्तुत गरिरहेको थियो। इन्सिन्याको बहिर्गमनले मुख्य फरवार्ड मर्टेन्सलाई निराश बनाएको थियो। ‘कम तलबमा पनि खेल्न तयार इन्सिन्यालाई क्लबले किन राख्न नसकेको?’ नापोली समर्थकमाझ लोकप्रिय रहेका मर्टेन्सको प्रश्न थियो।

मार्च महिना आइपुग्दा शीर्षस्थानमा रहेको नापोली तुलानात्मक रूपमा कमजोर मिलानसँग १-० ले हार्‍यो। यही हारले नापोलीको उपाधि दाबी कमजोर बनाइदियो। ‘मलाई लाग्छ त्यो खेल जितेको भए हामी आखिरमा च्याम्पियन बन्ने थियौँ,’ मर्टेन्स अहिले पनि थकथकी मान्छन्। हुन त सिजनको सुरुवातमा नापोलीले लिग जित्ने लक्ष्य राखेको थिएन। प्राथमिक उद्देश्य बरु च्याम्पियन्स लिगमा छनोट हुने थियो। यो उद्देश्यमा नापोली सफल भयो।

यति हुँदाहुँदै पनि नापोली निराशाले घेरियो। यसको कारण थियो, उपाधि नजिक पुग्दा पनि असफल हुनु। समर्थक प्रशिक्षक स्पालेट्टीसँग यति रिसाए कि उनको प्रिय फियाट कार नै गायब बनाइदिए। स्पालेट्टीले राजीनामा दिए मात्र कार फिर्ता गर्ने उनीहरूको सर्त थियो। ‘कारको अवस्था हेरेर मात्र फिर्ता लिनेछु। उनीहरूले कति किलोमिटर कुदाए, टायर कस्ता छन् सबैथोक हेर्छु। त्यहाँभित्र राखेको पिनो डानियलको सीडी छैनन् भने त म कुनै हालतमा फिर्ता लिने छैन,’ स्पालेट्टीले समर्थकलाई ठट्यौली सन्देश पठाएका थिए।

समर्थक प्रशिक्षक स्पालेट्टीसँग यति रिसाए कि उनको प्रिय फियाट कार नै गायब बनाइदिए। स्पालेट्टीले राजीनामा दिए मात्र कार फिर्ता गर्ने उनीहरूको सर्त थियो।

नापोली समर्थक स्पालेट्टीसँग मात्र रिसाएका होइनन्, उनीहरूको आक्रोश क्लब मालिक औरेलियोप्रति पनि थियो। आक्रोश व्यक्त गर्न उनीहरू फरकफरक तरिका अपनाइरहन्थे। सासुओलोमाथि ६-१ को जित हासिल गरेको खेलमा नापोली समर्थकले सिट्ठी फुकिएको आवाज रेकर्ड गरेर लगेका थिए, जसलाई उनीहरूले ठूलाठूला साउन्ड बक्समा बजाइरहे। नापोली समर्थकको एक समूहले औरेलियोको पक्षमा नारा लगाउने भएकाले उनीहरूको नारा ओझेलमा पार्न त्यसो गरिएको थियो।

औरेलियोले टाट पल्टिएको नापोलीलाई जोगाए। हिगुवाइन, हाइर्भिङ लोजानो, ओसिमेनजस्ता खेलाडीलाई कीर्तिमानी मूल्य तिरेर क्लबमा भित्र्याए। यति गर्दा पनि उनीसँग नापोली समर्थकको एउटा ठूलो समूह असन्तुष्ट भइरह्यो। किन? ‘अल्ट्रा’ भनिने यो समूहको मान्यता थियो, औरेलियोले आम्दानीअनुसारको खर्च गरिरहेका छैनन्।

औरेलियोविरुद्ध आक्रोश यो सिजन पनि जारी छ। टिकट मूल्य बढाएको भन्दै समर्थक आन्दोलन गरिरहेका छन्। पछिल्ला १६ मध्ये १० सिजनमा नाफा गरेको नापोलीले किन टिकटको मूल्य बढाएको? आन्दोलनकारीको प्रश्न हो यो। उसो त युरोपमा अब फुटबल पूर्ण रूपमा व्यापार बन्ने बाटोमा छ। औरेलियोका लागि पनि फुटबल सुरुमा व्यापार हो अनि मात्र ‘प्यासन’। उनको परिवारले गर्ने कुल आम्दानीमा ९२ प्रतिशत हिस्सा नापोलीको छ।

नापोलीमा औरेलियोले खर्च कटौतीको नीति लिएका छन्। यही सिजन पनि नापोलीले तलब खर्च १५ प्रतिशतले घटाएको छ। यसमा समर्थकको आपत्ति छैन। तर खेलाडी बिक्रीबाट भएको सबै कमाइ खेलाडी खरिदमा लगाउनुपर्ने उनीहरूको माग छ। गत सिजनको अन्त्यमा नापोलीले प्रभावशाली मानिँदै आएका कैयौँ खेलाडीलाई अन्य क्लब जान दिएको थियो। गोलरक्षक डेभिड ओस्पिना, लेफ्टब्याक फाओजी घौलाम, मिडफिल्डर फाबियान रुइज, कौलीबाली, इन्सिन्या, मर्टेन्स आदि। कौलीबालीलाई नापोली समर्थकले ‘लेजेन्ड’ का दर्जा दिएका थिए। इन्सिन्या त नापोलीकै उत्पादन भइहाले। मर्टेन्स नापोली र नेपल्सलाई यति माया गर्थे कि उनले आफ्नो छोराको नाम नै सिरो राखेका थिए।

विगतका सिजनमा नापोलीका लागि महत्त्वपूर्ण साबित भएका यत्तिका खेलाडीलाई क्लब छाड्न दिँदा स्पालेट्टीको चर्को आलोचना नभएको होइन। तर स्पालेट्टी टिम पुनः निर्माणको लक्ष्यमा अडिग थिए। ‘हामी जे गर्दै थियौँ, त्यो सही थियो। तर थोरै मात्र यसमा विश्वस्त थिए। कतिलाई हामीले अनुबन्ध गर्न लागेका खेलाडीबारे केही थाहै थिएन,’ औरेलियो भन्छन्।

नापोलीले कौलीबालीको स्थानमा दक्षिण कोरियाका किम मिन जाई ल्यायो। अग्रपंक्ति मजबुत बनाउन जर्जियाली लिग खेलिरहेका भिचा काभारसेलियालाई अनुबन्ध गर्‍यो। २२ वर्षीय विंगर काभारसेलियाले सिरी ए का २९ खेलमा १२ गोल गरेका छन्। त्यति नै गोलका लागि पास उपलब्ध गराएका छन्। ‘जर्जियाली र कोरियाली। यी दुई खेलाडी अनुबन्ध गर्दा धेरैले भने नापोलीले यो के गरेको?’ औरेलियो मन खोलेर हाँस्छन्।

किम मिन जाई र काभारसेलिया जस्ता खेलाडी नापोलीमा हराएनन्। बरु उनीहरू नै अगुवा बने। उनीहरूकै बलमा नापोली इटालेली फुटबलमा आँधी बन्यो। गत अक्टोबरसम्म त नापोलीलाई पछ्याउने आँट गरेका थिए अन्य क्लबले। विश्वकप विश्राम सुरु हुनै लाग्दा शीर्षस्थानमा नापोलीको अग्रता आठ अंकको मात्र थियो।

तर जब सिरी ए फर्कियो, नापोली झन् मजबुत बन्यो। उसो त नयाँ वर्ष लागेपछि नापोली नहारेको होइन। तर इन्टरसँगको १-० को त्यो पराजय त्यतिबेला ओझेलमा पर्‍यो जतिबेला नापोलीले युभेन्टसलाई ४-१ ले पन्छायो। सन् १९९० पछि युभेन्टसलाई पहिलो पटक त्यत्तिको फराकिलो अन्तरले हराएपछि नापोलीको क्षमतामाथि बाँकी रहेका थोरै प्रश्न पनि धूमिल भए।

खासमा यसपालिको सिरी ‘ए’ मा नापोलीले पहिलो स्थानका लागि प्रतिस्पर्धा हुनै दिएन। गत सिजनको च्याम्पियन मिलानले आफ्नो स्तरको खेल देखाउनै सकेन। मिलान लिग विजेता बन्दा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य इन्टर यो पटक बलियो दाबेदार बन्ने अपेक्षा थियो। रोमेलु लुकाकुलाई फिर्ता ल्याएको भएर पनि इन्टरप्रति आशा थियो। तर इन्टर फिक्का दखियो। युभेन्टस त विवादमा फसिहाल्यो। युभेन्टसले कटौती भएको १५ अंक फिर्ता पाउँदासम्म नापोली डाँडा कटिसकेको थियो।

खासमा यसपालिको सिरी ए मा नापोलीले पहिलो स्थानका लागि प्रतिस्पर्धा हुनै दिएन। गत सिजनको च्याम्पियन मिलानले आफ्नो स्तरको खेल देखाउनै सकेन। मिलान लिग विजेता बन्दा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य इन्टर यो पटक बलियो दाबेदार बन्ने अपेक्षा थियो। रोमेलु लुकाकुलाई फिर्ता ल्याएको भएर पनि इन्टरप्रति आशा थियो। तर इन्टर फिक्का दखियो। युभेन्टस त विवादमा फसिहाल्यो। युभेन्टसले कटौती भएको १५ अंक फिर्ता पाउँदासम्म नापोली डाँडा कटिसकेको थियो।

यसपटक नेपल्स सहर कुनै अप्ठ्यारोमा परेन। विगतमा जस्तो उत्तरी इटालीको भेदभावमा परेन। न त नापोलीलाई मासानिएलो वा म्याराडोना जस्ता विद्रोहीकै आवश्यकता पर्‍यो। कुनै जादु पनि चाहिएन। बस मनोहर फुटबल नै पर्याप्त भयो। नापोली विगतमा भन्दा निडर र ताजा देखियो। नयाँ खेलाडीको आगमनका कारण पनि स्फूर्ति बढेको हो।

गत सिजन सिरी ए मा सबैभन्दा बलियो रक्षापंक्ति भएको नापोली यसपालि कुनै कोणबाट कमजोर देखिएन। बरु परिवर्तित शैलीमा खेल्यो। गोलरक्षक एलेक्स मेरेटले ओस्पिना जस्तो बल होल्ड नगरी खेले। चार रक्षकलाई ‘प्लेमेकिङ’ मा संलग्न हुन भनियो। मारियो रुईको खेल हेर्दा लाग्छ उनी लेफ्टब्याक नभई ‘नम्बर १०’ हुन्।

किमको त के कुरा गर्नु? स्पालेट्टीको विचारमा उनी विश्वकै उत्कृष्ट रक्षक हुन्। किमबारे स्पालेट्टीले जिर्योजियो किलिनीलाई समेत सोधेका थिए। ‘किम सम्भावित खतराबारे सधैँ सचेत हुन्छन्। विपक्षीको खेल अध्ययन गर्छन्। त्यही अनुसार आफ्नो रक्षापंक्तिलाई तयार पार्छन्। उनी हरेक खेल खेल्न तयार हुन्छन्। कतिपय अवस्थामा त मैले उनलाई रोक्नुपर्छ,’ स्पालेट्टीले दक्षिण कोरियाली रक्षकको प्रशंसामा भनेका छन्।

नापोलीको मिडफिल्डको त जति तारिफ गरे पनि कम हुन्छ। हरेक मिडफिल्डर एकअर्काको कमजोरीलाई सच्याउँदै खेल्छन्। इटालीमा नापोली मात्र यस्तो टिम हो, जसले औसतमा ६० प्रतिशत बल पोसेसन राखेको छ। एक खेलमा ६ सयभन्दा बढी पास खेलेको छ। नापोली मिडफिल्डको केन्द्र हुन्, स्टानिस लोबोट्का। स्लोभाकियाका यी मिडफिल्डरले आफ्नो ‘डिफेन्सिभ’ र ‘प्लेमेकि’ क्षमताले सबैलाई छक्क पारेका छन्। उनलाई ब्याक पास दिनु भनेको बल सुरक्षित गर्नु हो। उनीबाट कसैले बल खोस्न सक्दैन।

‘उनको बल पास गर्ने क्षमता आन्द्रेस इनिएस्टाको जस्तै छ। यसो हेर्दा उनलाई रोक्न सकिन्छ जस्तो लाग्छ। तर उनी विपक्षीलाई पत्तै नदिई फुत्किन्छन्। तीव्र गतिमा बल लिएर अघि बढ्न सक्छन्,’ स्पालेट्टीले आफ्ना प्रिय मिडफिल्डरबारे भनेका छन्।

यसपालि नापोलीको अग्रपंक्तिको शैली पनि फेरिएको छ। गत सिजन नापोलीका इन्सिन्या र रुइज लामो दूरीबाट गोल गर्न प्रयास गर्थे। १८ यार्ड बक्सबाहिरबाट गोल गर्ने मामलामा नापोली म्यानचेस्टर सिटीभन्दा मात्र पछि थियो। नापोलीले त्यसरी १३ र सिटीले १५ गोल गरेका थिए। यो सिजन बक्सबाहिर बाट हुने प्रहारमा २० प्रतिशतले कमी आएको छ। नापोलीले जम्मा एउटा गोल मात्र लामो दूरीबाट गरेको छ। यो गोल काभारसेलियाले गरेका हुन्।

प्रश्न उठ्न सक्छ, आखिर किन नापोलीको आक्रमण बुन्ने शैलीमा परिवर्तन आयो? यसको एउटा कारण हो, फरक किसिमका विंगर। काभारसेसिलया इन्सिन्याभन्दा फरक शैलीमा ‘ड्रिब्लिङ’ गर्छन्। इन्सिन्या विंगको तल्लो भागबाट मात्र विपक्षीको बक्समा प्रवेश गर्थे। दाहिने खुट्टाले प्रहार गर्न स्पेस बनाउँथे। तर काभारसेलिया भने सिधै बक्समा पुग्छन्, विपक्षी खेलाडीलाई बिट गर्दै।

अर्को कारण हो, ओसिमेनको उपस्थिति। ओसिमेन तीव्र गतिमा खेल्न सक्छन्, अग्ला भएकाले ‘एयर बल’ सजिलै नियन्त्रणमा लिन सक्छन्। जबकि यसअघिका फरवार्ड मर्टेन्स होचा थिए। ओसिमेनकै कारण नापोलीका खेलाडीले यसपटक ३० प्रतिशत बढी क्रस निकालेका छन्। फलतः नापोलीले गरेका कुल ६९ गोलमध्ये १७ हेडरमा भएका हुन्। ओसिमेन एक्लैले नौ हेडर गोल गरेका छन्।

उसो त नापोली विपक्षीमाथि फरक फरक तरिकाले धावा बोल्छ। रक्षात्मक खेलेर नापोलीलाई रोक्ने योजना बनाए काभारसेलिया ड्रिब्लिङ गर्दै रक्षापंक्ति छिचोल्छन्। वा मिडफिल्डबाट आएको लामो पासलाई नियन्त्रणमा लिँदै ओसिमेन गोल गर्छन्। नापोलीलाई ‘हाई प्रेस’ गरेर पनि साध्य छैन। ‘ट्रन्जिसन’ मा ओसिमेनले छिन्नभिन्न बनाइदिन सक्छन्। नापोलीसँग भिड्दा जस्तो रणनीति अपनाए पनि गोल त खानु नै छ। कसैगरी पनि नापोलीको आक्रमणबाट बच्न सकिँदैन। ‘सेट प्ले’ बाट मात्रै नापोलीले २२ गोल गरेको छ।

युभेन्टसलाई पराजित गरेर नेपल्स फर्किएको नापोलीका खेलाडीलाई स्वागत गर्न कापोडिचोनो विमानस्थलमा समर्थक भेला भएका थिए। यो भेला संकेत थियो, लिग च्याम्पियन बन्ने निश्चित भएपछि नापोलीको स्वागत कसरी हुनेछ भनेर। मोपेडमा आएका समर्थक नापोलीको बस पछिपछि लागेका थिए। यो दृश्य मौरीले रानीलाई पछ्याए झैँ देखिन्थ्यो। यहाँसम्म त ठिकै थियो। नापोली समर्थकले त मिलान, इन्टर र युभेन्टसका मफ्लर कफिनमाथि राखेर शोकसभा नै गरे।

इटालेली च्याम्पियनका मुख्य स्ट्राइकर ओसिमेनले सिरी ‘ए’ मा ६ खेल गुमाए। च्याम्पियन्स लिगमा पनि तीन खेल खेल्न पाएनन्। तर यी नाइजेरियाली स्ट्राइकरको अनुपस्थितिमा पनि पर्याप्त गोल भएका छन्। कतिसम्म भने सब्स्टिच्युटले नै १५ गोल गरेका छन्। त्यो पनि महत्त्वपूर्ण खेलहरूमा। च्याम्पियन्स लिगको पहिलो खेलमा ओसिमेनले पहिलो हाफमा मैदान छाड्न बाध्य भएका थिए। तर उनको चोटले नापोलीको प्रदर्शनलाई असर गरेन। ओसिमेनको स्थानमा प्रवेश गरेको तीन मिनेटपछि नै जियाभानी सिमोओने गोल गरे।

सिमओनेकै गोलले नापोलीलाई मिलानमाथि विजयी बनाएको थियो। अर्का सब्स्टिच्युट फरवार्ड जियाकोमो रास्पाडोरीले आयाक्सविरुद्धको दुई खेलमा तीन गोल गरे। अझ महत्त्वपूर्ण गोल त रास्पाडोरीले सिरी ए मा गरे, युभेन्ट्सविरुद्ध। उनकै गोलका कारण नापोलीले युभेन्टसलाई यो सिजन दुई पटक हराउन सक्यो। नापोलीले युभेन्टसलाई सने २००९/१० यता पहिलो पटक लिगका दुवै खेलमा हराउन सकेको हो।

युभेन्टसलाई पराजित गरेर नेपल्स फर्किएको नापोलीका खेलाडीलाई स्वागत गर्न कापोडिचोनो विमानस्थलमा समर्थक भेला भएका थिए। यो भेला संकेत थियो, लिग च्याम्पियन बन्ने निश्चित भएपछि नापोलीको स्वागत कसरी हुनेछ भनेर। मोपेडमा आएका समर्थक नापोलीको बस पछिपछि लागेका थिए। यो दृश्य मौरीले रानीलाई पछ्याएझैँ देखिन्थ्यो। यहाँसम्म त ठिकै थियो। नापोली समर्थकले त मिलान, इन्टर र युभेन्टसका मफ्लर कफिनमाथि राखेर शोकसभा नै गरे।

नापोली इटालीको नयाँ च्याम्पियन बनेपछि बधाई दिनेको लर्को लाग्यो। यो ताँतीमा एसी मिलानका निर्देशक पाओलो माल्दिनी र युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्री थिए। नापोली समर्थक सबैभन्दा बढी यी दुईको बधाईमा रमाए। ‘वेल डन। तिमीहरूले बल्ल एकपटक सिरी ए जित्यौँ,’ एलेग्रीले बधाईको सहारामा नापोलीलाई खिस्स्याए। एलेग्रीले जति उडाए पनि नेपल्सका लागि एउटा सिरी ए उपाधि टुरिनमा १० सिरी ए उपाधि बराबर हो। र नेपल्स अबको केही महिना उत्सवमा रमाउनेछ।

सिरी ए उत्तरार्धतिर पुग्दै गर्दा यस्तो लागथ्यो नेपल्स क्रिसमसको पर्खाइमा छ। नेपल्सवासीलाई थाहा थियो, सिरी ए उपाधि आफ्नो सहरमा आउँदैछ। तब त उनीहरूले यसको स्वागतका लागि सबै बन्दोबस्त मिलाइसकेका थिए। औरेलियोका लागि त खुसीयाली मनाउने अर्को कारण पनि सिर्जना हुनसक्छ। डे लौरेन्टिस परिवारको स्वामित्व भएको अर्को क्लब बारी आउँदो सिजन सिरी ए मा हुनसक्छ।

बारी हाल सिरी बी को तेस्रो स्थानमा छ। शीर्ष दुईमा रहे बारी स्वतः सिरी ए मा बढुवा हुनेछ। त्यसपछि औरेलियोसँग इटालेली फुटबलको शीर्ष श्रेणीमा दुई क्लब हुनेछन्। यद्यपि इटालेली फुटबल संघले सन् २०२४ पछि एकै व्यक्ति वा समूहले दुई सिरी ए क्लबको स्वामित्व लिन नपाउने नियम ल्याउँदैछ। जसले औरेलियोलाई बारीको स्वामित्व त्याग्न बाध्य बनाउनेछ।

नापोलीले सन् १९८६/८७ र १९८९/९० लिग जित्दा म्याराडोना, ब्रुनो जियोरडानो र कारेकाको साझेदारी लोभलाग्दो थियो। यी तीनलाई मा-जि-का भनिन्थ्यो। औसत खेलाडीको बाहुल्य भए पनि नापोलीले दुई पटक लिग जित्नुको कारण विलक्षण कप्तान म्याराडोना थिए भन्न धक मान्नु पर्दैन। हालको नापोलीले त्यही स्तरको सफलता हासिल गरेको छ। तर अहिलेका कप्तान जियोभानी डि लोरेन्जो म्याराडोनासँग दाँज्न मिल्ने खेलाडी होइनन्। उनलाई इटालेली फुटबलले विशेष प्रतिभा मानेकाे पनि हाेइन। उनको करियरको सुरुवात तेस्रो श्रेणीको लिगबाट भएको थियो। उनले सिरी ए र सिरी सी मा बराबर खेलेका छन्। तर यो विगतले लोरेन्जोलाई वर्तमानमा नेपल्सका नायक हुनबाट रोकेको छैन।

नापोलीको नयाँ टिमले सिरी ए जित्नु सोरेन्टिनो जस्ता निर्देशकले प्रेरणाको नयाँ स्रोत फेला पार्नु पनि हो। अब फेरि उनले ओस्कार जिते सायद काभारसेलिया वा ओसिमेनमा समर्पित गर्लान्। आखिर यी दुई पनि त नेपल्सका नयाँ नायक हुन्। ‘नेपल्स आफ्ना नायकहरूलाई प्रेम गर्छ। यो मामिलामा नेपल्स अरु सहरभन्दा अगाडि छ। म चाहन्छु, हाम्रो टिमलाई नेपल्सले कहिल्यै नभुलोस्,’ स्पालेट्टीले आफ्नो इच्छा व्यक्त गरेका छन्। स्पालेट्टीले चिन्ता मान्नु पर्दैन। उनको इच्छा नेपल्सले स्वीकारिसकेको छ।

द एथ्लेटिकको सहयोगमा

प्रकाशित: २३ वैशाख २०८० १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twenty =