नापोलीको उपाधि उत्सव रोकियो

हिमाल प्रेस १८ वैशाख २०८० ९:१३
12
SHARES
नापोलीको उपाधि उत्सव रोकियो

काठमाडौँ- सालेरनिटानासँग १-१ को बराबरीमा रोकिएपछि नापोलीले सिरी ए उपाधि जित्न अझ केही दिन पर्खनुपर्ने भएको छ। च्याम्पियन बन्न नापोलीलाई एक जितको आवश्यकता छ। त्यही आवश्यकता पूरा गर्ने लक्ष्यका साथ मैदान ओर्लिएको नापोलीविरुद्ध सालारनिटानाका बौलाए डियाले ८४ औँ मिनेटमा बराबरी गोल गरे।

अर्मान्डो म्याराडोना रंगशालामा नापोलीलाई अग्रता दिलाउन माथ्थिएस ओलिभेराले ६२ औँ मिनेटमा गोल गरेका थिए। तर घरेलु मैदानमा अग्रता जोगाउन नसक्दा नापोलीले लिग उपाधि निश्चित गर्न सकेन।

शीर्षस्थानमा रहेको नापोलीसँग ३२ खेलबाट ७९ अंक छ। नापोलीले अब बिहीबार राति उडिनेसेको सामन गर्दैछ। त्यो खेलमा तीन अंक बटुल्न सके नापोली ३३ वर्षपछि सिरी ए च्याम्पियन बन्नेछ।

बराबरीपछि नापोलीका प्रशिक्षक लुसियानो स्पालेट्टीले आफ्ना समर्थकलाई खुसी पार्न नसकेको दुःख व्यक्त गरे। ‘आज समर्थकलाई खुसी पार्न नसकेकोमा निश्चय पनि हामी सबै दुःखी छौँ। तर यहाँ के बुझ्नु पर्छ भने सिरी ए मा अंक बटुल्न सजिलो हुँदैन,’ स्पालेट्टीले भने, ‘यद्यपि हामी समर्थकको सपनालाई लिएर चनाखो छौँ। उनीहरूको सपना पूरा गर्न हामी प्रतिबद्ध छौँ।’

नापोली हाल दोस्रो स्थानको लाजियोभन्दा १८ अंकले माथि छ। लाजियो शनिबार इन्टर मिलानसँग ३-१ ले पराजित भएको थियो। आइतबार राति युभेन्टसले बोलोन्यालाई हराएको भए लाजियोबाट दोस्रो स्थान खोसिने थियो। बराबरीका कारण युभेन्ट्स दोस्रो स्थानमा उकिलन सकेन। लिगमा ६ खेल बाँकी रहँदा लाजियोको ६१ र इन्टरको ६० अंक छ।

लाजियोले आउँदो बुधबार सासुओलोलाई हराउन नसके मात्र पनि नापोली लिग विजेता घोषित हुनेछ। दक्षिणी इटालीको सबैभन्दा ठूलो क्लब नापोली यसअघि सन् १९८७ र १९९० मा लिग विजेता बनेको थियो। त्यसबेला नापोलीको नेतृत्व डिएगो म्याराडोनाले गरेका थिए।

रेलिगेसनबाट बच्ने निश्चित नभइसकेको सालेरनिटानालाई नापोलीले सजिलै हराउने अनुमान थियो। त्यसकारण हजारौँ नापोली समर्थक लिग जितेको खुसीयाली मनाउने योजनासहित रंगशाला पुगेका थिए। पाँच घण्टाभन्दा बढी लाइनमा उभिएर रंगशाला प्रवेश गरेका समर्थकसामु नापोलीका खेलाडीले पहिलो हाफमा उति सारो गोलका अवसर सिर्जना गर्न सकेनन्।

यद्यपि दोस्रो हाफको गोलका कारण जिततर्फ अघि बढेको नापोलीका समर्थकले रंगशालाबाहिर पटका पड्काउन सुरु गरेका थिए। तर खेल सकिनै लाग्दा सालेरनिटनाले गोल फर्काएपछि नापोली समर्थकको उत्सव मनाउने योजना तत्कालका लागि स्थगित भयो।

नापोली समर्थकको सम्भावित उत्सवलाई ध्यानमा राखेर नेपल्स सहरमा पाँच हजार प्रहरी परिचालन गरिएको थियो। स्थानीय अखबार माटिनोका अनुसार सहरको मुख्य केन्द्रमा सवारी आवतजावत पनि रोकिएको थियो। तर डियोको गोलका कारण नेपल्स सहरको तयारी खेर गयो।

प्रकाशित: १८ वैशाख २०८० ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =