सिरी ए : फियारेन्टिनाको फड्को, लयमा लुकाकु

हिमाल प्रेस २२ असोज २०८० ७:०४
6
SHARES
सिरी ए : फियारेन्टिनाको फड्को, लयमा लुकाकु

काठमाडौँ- इटालेली सिरी ‘ए’ मा आइतबार राति फियारेन्टिनाले नापोलीलाई ३–१ ले स्तब्ध बनाएको छ।

च्याम्पियन नापोलीलाई हराउन फियोरेन्टिनाका लागि जोसिप ब्रेकालो, जियोकामो बोनाभुेन्टुरा र निकोलस गोन्जालेजले एक–एक गोल गरे। नापोलीबाट भिक्टर ओसिमेनले एक गोल फर्काए।

जितपछि फियारेन्टिना चौथो स्थानमा उक्लिएको छ। यो जित गोलकर्ता बोनाभुेन्टुराका लागि झन् विशेष रह्यो। किनभने उनी केही दिनअघि मात्र इटालेली राष्ट्रिय टिममा परेका थिए। ३४ वर्षीय मिडफिल्डर बोनाभुेन्टुरा तीन वर्षपछि राष्ट्रिय टिममा फर्किएका हुन्।

संयोग मान्नुपर्छ, हाल इटालीको प्रशिक्षक लुसियानो स्पालेट्टी छन्, जसले गत सिजन नापोलीलाई लिग च्याम्पियन बनाएका थिए।

‘मैले यो सिजनको सुरुवात बलियो ढंगमा गरेको छु। तर मेरो मेहनतले मात्र फियोरेन्टिनाले हालको लय देखाएको होइन। सबैले उत्तिकै मेहनत गरेका छन्। टिमसँगै व्यक्तिगत सफलताले मलाई उत्साहित बनाएको छ,’ ६३ औँ मिनेटमा गोल गरेका बोनाभुेन्टुराले भने।

एसी मिलान र एटलान्टाका पपूर्वमिडफिल्डर बोनाभुेन्टुराका लागि यो आठ खेलमा चौथो गोल हो। उनले नेतृत्वदायी प्रदर्श गरिरहँदा फियारेन्टिनाले पाँच जित हात पारिसकेको छ। फियारेन्टिनाले गत सिजन आठौँ स्थानमा लिगको समापन गरेको थियो। नयाँ सिजनको आठ खेल खेलिसक्दा, फियारेन्टिनाले पाँचौँ स्थानको नापोलीसँग तीन अंकको दूरी स्थापित गरेको छ।

भिन्सेन्जो इटालियानोको टिम अब लिग लिडर एसी मिलानभन्दा मात्र चार अंकले पर छ। प्रतिद्धन्द्धी युभेन्टससँग भने बराबर अंक छ। फियोरेन्टिनाले यत्तिको बलियो लय जारी राख्दा नापोली भने अप्ठ्यारो स्थितिमा छ। लिगमा लगातार दोस्रो पराजय भोगेपछि नापोली समर्थकले आफ्ना खेलाडी र प्रशिक्षकहरुको विरुद्धमा नारा लगाएका थिए।

‘अवश्य पनि निराश छु। किनभने यो खराब नतिजा हो। घरेलु मैदानमा यसरी हार्नु पक्कै राम्रो होइन। त्यो पनि कमजोर प्रदर्शन गरेर। हामी सामान्य स्थितिमा छैनौँ,’ हारपछि नापोलीका नयाँ प्रशिक्षक रुडी गार्सियाले भने।

नापोलीको घरेलु मैदान स्टाडियो डिएगो अर्मान्डो म्याराडोनामा फियोरेन्टिनाले सातौँ मिनेटमा अग्रता लिएको थियो। पहिलो गोल ब्रेकालोले गरेका थिए। तर पहिलो हाफ नसकिँदै नापोली खेलमा फर्किन सक्यो।

गोल फियारेन्टिनाका फबियानो पारिसीले गरेको गल्तीका कारण सम्भा भयो। उनले गोलरक्षक गोलरक्षक पिएट्रो टेरासिनोलाई दिएको ब्याकपास ओसिमेनले खासेका थिए। त्यसपछि प्रहार गरेका ओसिमेनलाई टेरासिनोले लडाए। जसकारण नापोलीले पेनाल्टी पायो। पेनाल्टीमा ओसिमेनले सहजै गोल गरे।

दोस्रो हाफमा नापोलीले गोल थप्न सकेन। बरु उल्टै दुई गोल खायो। बोनाभेन्टुराको गोलले अग्रता बनाएको फियारेन्टिनाको तेस्रो गोल गोन्जालेजले इन्जुरी समयमा गरेका थिए।

सिरी ‘ए’ मा रोमेलु लुकाकुले गोल लय कायम राखेका छन्। आइतबार राति रोमाले काग्लियारीमाथि ४–१ ले जित्दा लुकाकुले दुई गोल गरे। रोमाका थप दुई गोल हासेम औरर र सब्स्टिच्युट आन्द्रे बेलोटीले गरे।

रोमालाई औररले अग्रता दिलाएका थिए। बक्सभित्र रहेका लियोनार्दो स्पिनाजोलाले दिएको पासलाई सदुपयोग गर्दै फ्रान्सेली मिडफिल्डर औररले १९ औँ मिनेटमा गोल गरेका थिए। त्यसको एक मिनेटपछि नै लुकाकुले गोल गरे। रिक कार्सडोपले राइट विंगबाट निकालेको क्रसमा लुकाकुले छातीले गोल गरेका थिए।

दोस्रो हाफमा रोमाबाट दुई गोल भए। ५० औँ मिनेटमा बेलोटीले गोल गरे। लियान्द्रो पाराडेसले दिएको लामा पास नियन्त्रणमा लिएका बेलोटीले काग्लियारीका मिडफिल्डर इब्राहिम सुलेमानालाई बिट गरेर गरेको प्रहार गोलमा परिणत भएको थियो।

रोमाको चौथो गोलका लागि पाराडेस, बेलोटी र लुकाकुले सहकार्य गरे। लेफ्ट विंगमा रहेका बेलोटीले काग्लियारीको बक्सतिर अघि बढेका पाराडेसलाई पास दिएका थिए। त्यसपछि पाराडेसले बल लुकाकुलाई दिए, जसले सहजै गोल गरे।

यही सिजन चेल्सीबाट ऋण स्थान्तरणमा रोमा पुगेका लुकाकुले आठ खेलमा पाँच गोल गरेका छन्। उनले सिरी ‘ए’ मा लगातार दोस्रो खेलमा गोल गरेपछि रोमा १० औँ स्थानमा उक्लिएको छ। रोमासँग अब ११ अंक छ, जुन चौथो स्थानको फियारेन्टिनाको भन्दा ६ अंकले कम हो। पछिल्लो समय रोमा केही सम्हालिएको भए पनि प्रशिक्षक मौउरिन्हो बर्खास्तगीमा पर्ने खबर आइरहेकै छन्।

‘म खेलाडी हो, मेहनत गरिरहेको छु। मेराबारे पनि धेरै कुरा भइरहेका छन्। तर मलाई चासो छैन। म तिनको प्रतिक्रिया मैदानमा दिन प्रयासरत छु,’ लुकाकुले भने।

रोमाले लगाता तेस्रो जित हात पारेको हो। रोमाले ६ महिनापछि यसरी सरासर तेस्रो खेल जितेको हो। तर यो नतिजा रोमाका लागि महँगो ठहरियो। किनभने प्रभावशाली फरवार्ड पाउलो डिबालाले घुँडाको चोटका कारण मैदान छाडेका थिए। यसले मौउरिन्होलाई निराश बनाएको छ।

‘यो चोट खतनरनाक हुनसक्छ। किनभने डिबालालाई त्यस्तै लागेको छ। तर भएको के हो, केही दिनपछि थाहा हुनेछ। त्यतिबेलासम्म सबै खालका परीक्षण हुनेछन्,’ मौउरिन्होले भने।

रोमाको सहरी प्रतिद्धन्द्धी लाजियोले पनि आइतबार राति जित हात पार्‍यो। लाजियाले छैटौँ स्थानमा रहेको एटलान्टालाई ३–२ ले पराजित गरेको हो। लाजियोलाई जिताउन माटिएस भेसिनोले ८३ औँ मिनेटमा निर्णायक गोल गरेका थिए। १३ औँ स्थानमा रहेको लाजियोका लागि यो आठ खेलमा तेस्रो जित हो।

प्रकाशित: २२ असोज २०८० ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =