नापोलीसँग दुरी घटाउँदै युभेन्टस, इन्टरको निराशाजनक बराबरी

हिमाल प्रेस २४ पुष २०७९ १२:४४
6
SHARES
नापोलीसँग दुरी घटाउँदै युभेन्टस, इन्टरको निराशाजनक बराबरी

काठमाडौँ- लुका काल्डिरोलाले आतिरिक्त समयमा गोल गरेपछि इन्टर मिलान शनिबार राति मोन्जासँग २–२ को बराबरीमा रोकिएको छ। यो बराबरीले इन्टरको उपाधि लक्ष्यमा धक्का लागेको छ।

शीर्षस्थानको नापोलीसँग दुरी कम गर्ने अभियानमा रहेको इन्टरले १० औँ मिनेटमै गोलको खाता खोलेको थियो। रक्षक अलेसान्द्रो बास्टोनीको क्रसमा माटियो डार्मियानले गोल गरेका थिए।

अग्रता लिएको एक मिनेटपछि नै इन्टर गोल खान पुग्यो। माटियो पेसिनाले बक्सभित्र उपलब्ध गराएको बललाई प्याट्रिक किउरियाले गोल गर्दै मोन्जालाई खेलमा फर्काए।

२२ औँ मिनेटमा इन्टरले पुनः अग्रता लियो। मोन्जाका रक्षक पाब्लो मारीबाट बल खोस्दै लाउटारो मार्टिनेजले सुन्दर गोल गरे।

जिततर्फ अघि बढेको इन्टर खेल सकिनै लाग्दा स्तब्ध बनेको थियो। इन्टरका पूर्वखेलाडी काल्डिरोलाले गरेको हेडर डेन्जेल डमफ्राइजलाई छुँदै गोल भएपछि इन्टर एक अंकमा चित्त बुझाउन बाध्य भयो।

तीन दिनअघि मात्र नापोलीमाथि महत्त्जपूर्ण जित हासिल गरेको इन्टर चौथो स्थानमा छ। १७ खेलबाट ३४ अंक बटुलेको इन्टर र नापोलीबीचको दुरी सात अंकको छ। त्यसमाथि नापोलीले इन्टरको भन्दा एक खेल कम खेलेको छ।

‘पछिल्ला दुई खेलमा एटलान्टा र नापोलीलाई हराएका कारण हामी बलियो लयमा थियौँ। तर यो नतिजाले हामीलाई फेरि तल पारेको छ। हामीले सिजनको सुरुवाती खेलहरूमा पनि अंक गुमाएका थियौँ। आज यस्तो महत्त्वपूर्ण घडीमा अंक गुमाउनु पर्‍यो। म असाध्यै निराश छु,’ इन्टरका प्रशिक्षक सिमोन इन्जाघीले भने।

इन्टर बराबरीमा रोकिएकै दिन युभेन्टसले भने जित लयलाई निरन्तरता दियो। कप्तानी समेत सम्हालिरहेका डानिलोले ८६ औँ मिनेटमा गोल गरेपछि युभेन्टसले घरेलु रंगशालामा उडिनेसेमाथि १–० को जित दर्ता गरेको हो।

फेडेरिको किएसाको क्रसमा ब्राजिलियन फुलब्याक डानिलोले सजिलै गोल गरेका थिए।

एक गोल पनि नखाई लगातार आठ खेल जितेको युभेन्टस सिरी ए को दोस्रो स्थानमा उकिलएको छ। १७ खेलबाट ३७ अंक जम्मा गरेको युभेन्टसको नापोलीसँग चार अंक र तेस्रो स्थानको मिलानसँग एक अंकको दूरी छ। यद्यपि नापोली र मिलानले युभेन्टसको भन्दा एक–एक खेल कम खेलेका छन्।

आइतबार राति मिलानले एस रोमाको सामना गर्दैछ। नापोली भने साम्पडोरियासँग भिड्नेछ।

सिजनको सुरुवाती पाँच खेलमध्ये तीनमा बराबरी खेलेको युभेन्टस त्यसपछि मोन्जा र मिलानसँग हारेको थियो। मिलानसँगको पराजियपछि भने युभेन्टस अपराजित छ।

लिगमा ११ औँ जित हात पारे पनि युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्री पूर्ण रुपमा सन्तुष्ट देखिएनन्। ‘हामी लगातार विजयी भइरहेका छौँ। नतिजाका हिसाबले सबै कुरा ठिकठाक देखिए पनि प्रदर्शनमा भने सुधारको आवश्यकता छ। हाम्रो प्रदर्शनमा स्थिरता छैन,’ एलेग्रीले भने।

यसपालि लिग उपाधिको सबैभन्दा बलियो दाबेदार नापोली नै रहेको एलेग्रीको भनाइ थियो। ‘सबैभन्दा बलियो टिम नापोली नै हो। हामी चाहिँ जसरी हुन्छ शीर्ष चारमा पर्न चाहन्छौँ। मलाई लाग्छ हामी यो लक्ष्य पूरा गर्न सक्षम छौँ,’ एलेग्री आशावादी देखिए।

प्रकाशित: २४ पुष २०७९ १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =