सिरी ए : अत्तालिँदै नापोली, कमजोर बन्दै इन्टर मिलान

हिमाल प्रेस २५ चैत २०७९ ९:२९
8
SHARES
सिरी ए :  अत्तालिँदै नापोली, कमजोर बन्दै इन्टर मिलान नापाेली (सेताे जर्सीमा) र लेचेका खेलाडी भिड्दै।

काठमाडौँ- सिरी ए उपाधि दौडमा मजबुत अग्रता बनाएको भए पनि नापोली अत्तालिने क्रम जारी छ। गत आइतबार एसी मिलानसँग ४-० ले हारेको नापोली शुक्रबार जित लयमा त फर्कियो तर साँघुरो जितका लागि आत्मघाती गाेल आवश्यक पर्‍याे। कमजोर लेचे लिग लिडरसँग २-१ ले हार्दा  लादिमिरनो फाल्कोनेले आत्मघाती गाेल गरे।

उता एसी मिलानसँगै इन्टर मिलान पनि बराबरीमा रोकिए। मिलानलाई इम्पोलीले गोलरहित र सालेरनिटानाले इन्टरलाई १-१ को बराबरीमा रोके।

जितपछि नापोलीको २९ खेलबाट ७४ अंक भएको छ। जुन दोस्रो स्थानको लाजियोको भन्दा १९ अंकले बढी हो। यद्यपि लाजियोले एक खेल कम खेलेको छ। लाजियो आफ्नो २९ औँ खेलमा शनिबार युभेन्टससँग भिड्ने तालिका छ।

स्टाडियो भिया डेल मारेमा नापोलीले १८ औँ मिनेटमा गोलको खाता खोलेको थियो। जियोभानी डे लोरेन्जोले दक्षिण कोरियाली रक्षक मिन जाई किमको क्रसमा हेडर गोल गरेका थिए।

घरेलु मैदानमा लेचे ५२ औँ मिनेटमा खेलमा फर्कियो। फेडेरिको डे फ्रान्सिस्कोले जारी सिजनको दोस्रो गोल गरेपछि लेचे बहादूरी बराबरीतर्फ अघि बढेको थियो। तर ६४ औँ मिनेटमा गोलरक्षक लादिमिरनो फाल्कोने सामान्य ‘गोलकिपिङ’ समेत गर्न नसकेपछि लेचे २-१ ले पछि पर्न पुग्यो।

नापोलीका लेफ्टब्याक मारियो रुईको क्रस लेचेका एन्टिोनियो गाल्लाको शरीरमा लाग्दै फाल्कोने भएतिर पुगेको थियो। तर फाल्कोनेले त्यो बल समात्न खोज्दा चिप्लाउन पुगे।

आत्मघाती गोलकै मद्दतले भए पनि नापोलीले घरबाहिर लगातार सातौँ खेल जितेको हो। जसले नापोलीलाई उपाधितिर अघि बढाएको छ। ‘मिलानसँगको त्यो हारपछि हामी लयमा फर्कन आवश्यक थियो। तर सजिलो भने पक्कै थिएन। अन्ततः यो खेलले हामीलाई राहत दिएको छ। आगामी खेलहरू जित्न प्रेरणा पनि दिएको छ,’ नापोलीका प्रशिक्षक लुसियानो स्पालेट्टीले भनेका छन्।

पछिल्लो खेलमा नापोलीसँग उच्च गोलकर्ता भिक्टर ओसिमेन थिएनन्। उनी अझै मैदानबाहिर नै छन्। यद्यपि आउँदो बुधबार हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगका लागि भने उनी तयार हुने बताइएको छ। च्याम्पियन्स लिगमा संयोगवश नापोली मिलानसँग आमनेसामने हुँदैछ।

‘ओसिमेन प्रत्येक खेल खेल्न चाहन्छन्। तर उनलाई त्यसरी खेलाउने निर्णय लिनुअघि निकै पक्षबारे विचार गर्नुपर्छ,’ स्पालेट्टीले भनेका छन्। ओसिमेन नहुँदा नापोलीले जियोभानी सिमओेनेलाई खेलाउन गरेको छ। तर सिमओने मिलानसँगको खेलका लागि उपलब्ध हुने सम्भावना कम छ। किनभने उनी शुक्रबारको खेल दौरान घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए।

सिरी ‘ए’ मा नापोलीले अब नौ खेल खेल्न बाँकी छ। त्यसमध्ये चार खेल जिते नापोली तीन दशकपछि पहिलो पटक लिग च्याम्पियन बन्नेछ। यदि लाजियो युभेन्टससँग हारे नापोलीलाई झनै सजिलो हुनेछ।

तर एउटा सम्भावित परिस्थितिले भने नापोलीलाई सताउन सक्छ। त्यो हो, युभेन्टसको कारबाही फुकुवा। युभेन्टस आफूमाथि लागेको आरोपविरुद्ध पुनरावेदन अदालत गएको छ। यदि युभेन्टसको घटाइएको १५ अंक फिर्ता गरिए सिरी ‘ए’ को उपाधि दौड फरक मोडमा पुग्नसक्छ। हाल युभेन्टस दोस्रो स्थानको लाजियोभन्दा ११ अंकले पछि छ।

मिलानको खराब प्रदर्शन

नापोली लेचेसँग भिडनुअघि मिलान सान सिरोमा इम्पोलीसँग प्रतिस्पर्धामा उत्रिएको थियो। रक्षात्मक खेल्ने इम्पोलीसँगको खेलमा मिलानले पहिलो एघारमा निकै परिवर्तन गरेको थियो। डिभोक ओरिगीलाई अग्रपंक्तिको जिम्मा दिइँदा उनको पछाडि एन्टे रेबिक, इस्माइल बेन्नासेर र एलेक्सिस साएलेमेइकर्सले खेलेका थिए।

दोस्रो हाफको ७० औँ मिनेटमा ओरिगीलाई प्रतिस्थापन गरेका जिरुडले १० मिनेटपछि गोल गरेका थिए। तर उनको गोललाई भीएआरले मान्यता दिएन।

अर्को खेलमा मिलानको सहरी प्रतिद्वन्द्वी इन्टर सालेरनिटानासँग १-१ को बराबरी खेल्न बाध्य भयो। रोबिन गोसेन्सको गोलबाट अग्रता छैटौँ मिनेटमै अग्रता लिएको इन्टरले ९० औँ मिनेटमा बराबरी गोल खाएको थियो।

सालेरनिटानालाई एक अंक दिलाउन इन्टरकै पूर्वखेलाडी एन्टोनियो कान्ड्रेभाले गोल गरेका थिए। यो बराबरीले सालेरनिटानालाई रेलिगेसन क्षेत्रबाट १० अंक टाढा पुर्‍यायो। इन्टर भने शीर्ष चारको दौडबाट बाहिरिने खतरा बढेको छ।

चौथो स्थानको इन्टरसँग हाल २९ खेलबाट ५१ अंक छ। पाँचौँ स्थानमा रहेको एएस रोमाले शनिबार टोरिनोलाई हराए तेस्रो स्थानमाथि कब्जा जमाउनेछ। जसले गर्दा मिलान चौथो स्थान र इन्टर पाँचौँ स्थानमा झर्नेछन्। मिलान इन्टरभन्दा एक अंकले अघि छ।

उसो त इन्टर छैटौँ स्थानमा पुग्ने सम्भावना पनि छ। हाल छैटौँ स्थानमा रहेको एटलान्टाले शनिबार राति बोलोन्यालाई पराजित गरे उसको पनि ५१ अंक हुनेछ। यस्तोमा एटलान्टाले गोल अन्तरमा इन्टरलाई पछि पार्ने सम्भावना रहन्छ।

१५ औँ स्थानको सालेरनिटानासँग बराबरीमा रोकिएपछि इन्टरका प्रशिक्षक सिमओने इन्जाघीले मौका पाउँदा पनि निर्णायक गोल गर्न नसकेको प्रतिक्रिया दिए। ‘फिनिसिङ कमजोर हुँदा हामी दण्डित हुनु परिरहेको छ,’ इन्जाघीले भने।

इन्टर यो साताको मध्यतिर च्याम्पियन्स लिगमा फर्कदैछ। मंगलबार राति हुने क्वार्टरफाइनलको पहिलो लेग खेल्न इन्टर पोर्चुगल जानेछ। जहाँ इन्टरका भेट बेनफिकासँग हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + three =