किन घटाइयो युभेन्टसको अंक?

हिमाल प्रेस ८ माघ २०७९ २१:२३
10
SHARES
किन घटाइयो युभेन्टसको अंक?

काठमाडौँ- इटालीको सबैभन्दा शक्तिशाली क्लब युभेन्टस कारबाहीमा परेको छ। स्थानीय अदालतले आर्थिक अनियमितता भएको निष्कर्ष निकाल्दै कारबाही स्वरुप युभेन्टसको १५ अंक घटाइदियो। जसकारण युभेन्टस दोस्रो स्थानबाट १० औँ स्थानमा झरेको छ।

युभेन्टससँग पुनरावेदनमा जाने विकल्प छ। यो विकल्पमा गए पनि फैसला तुरुन्त आउने सम्भावना रहँदैन। यस्तोमा यो सिजन युभेन्टसको शीर्ष चारमा रहने लक्ष्य खतरामा परेको छ। शीर्ष चारमा नपरे अर्को सिजन युभेन्टस च्याम्पियन्स लिगमा हुनेछैन।

इटालेली फुटबल संघका अनुसार युभेन्टसलाई ‘प्लसभालेन्जा’ मामलामा कारबाही गरिएको हो। इटालेली भाषामा ‘प्लसभालेन्जा’ को अर्थ हो, गैरकानुनी तरिकाले लाभ उठाउनु। युभेन्टसले खेलाडी बिक्री गर्दा सही मूल्य उल्लेख नगरेको बताइएको छ।

‘प्लसभालेन्जा’
सेयर बजारमा सूचिकृत क्लब युभेन्टसमाथि सन् २०२१ बाटै छानबिन हुन थालेको थियो। सेयर बजारको नियमन गर्ने इटालीको सरकारी निकाय कोन्सोबले युभेन्टसका कतिपय खेलाडी बिक्री सम्झौतालाई शंकाको घेरामा राख्दै छानबिन सुरु गरेको थियो। कोन्सोबको शंका थियो, युभेन्टसले १२ भन्दा बढी त्यस्ता सम्झौता सम्बन्धी सम्पूर्ण जानकारी बाहिर ल्याएको छैन।

इटालीमा यस्तो आरोप खेप्ने क्लब युभेन्टस एक्लो थिएन। तर कोन्सोबलले छानबिन गर्दा प्राथमिकतामा भने युभेन्टसलाई राखेको थियो। गत मे महिनामा छानबिन सकियो, छानबिनको घेरामा परेका युभेन्टसका निर्देशक तथा अन्य कर्मचारीलाई क्लिनचिट दिइयो। तर गत महिना इटालेली फुटबल संघले सरकारी वकिल कार्यलयले फेरि एकपल्ट छानबिन गर्न लागेको घोषणा गरेको थियो।

त्यसको एक महिनापछि युभेन्टसलाई दोषी ठहराइएको हो। कारबाही स्वरुप लिगमा युभेन्टसको अंक त घटाइयो नै, क्लबका अध्यक्ष आन्द्रे आग्नेलीलाई इटालेली फुटबलमा दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ। दोषी साबित भएका अन्य निर्देशकहरू पनि निलम्बनमा परेका छन्।

इटालेली अदालतले कारबाहीका कारण १० दिनपछि विस्तृत रुपमा सार्वजनिक गर्ने बताएको छ। त्यसपछि युभेन्टसलाई पुनरावेदनमा जान ३० दिनको समय उपलब्ध गराइनेछ। युभेन्टस अदालतको निर्णयविरुद्ध पुनरावेदनमा गए अंक घटाउने निर्णय लागू हुन्छ वा हुँदैन भन्नेबारे केही बताइएको छैन।

के गल्ती गर्‍यो युभेन्टसले?
युभेन्टसमाथि आरोप लागेको विषय जटिल छ। उसले खेलाडी बिक्री गर्दा मूल्य ढाँटेको आरोप छ। अब यस्तोमा प्रश्न उठ्छ, साँच्चैको मूल्यको व्याख्या के हो? खेलाडीको मूल्य निर्धारण गर्ने जिम्मेवारी कसको हो?

सामान्यतया यो प्रश्नको जवाफ सजिलो छ। खेलाडीको मूल्य निर्धारण बिक्री र खरिदकर्ताबीचको छलफलपछि हुन्छ। खेलाडी एउटा क्लबबाट अर्कोमा सर्छन्, स्थान्तरणसँगै रकम बिक्रीकर्ताले पाउँछ, ठ्याक्कै त्यही रकम बिक्रीकर्ता क्लबको एकाउन्टमा जम्मा हुन्छ।

तर जटिलता कहाँ उत्पन्न हुन्छ भने जब एउटा खेलाडीको स्थान्तरवापत अर्को खेलाडी र साथै रकम प्राप्त गरिन्छ। उदाहरणका लागि, सन् २०२० को त्यो स्थान्तरण। जहाँ युभेन्टसले बार्सिलोनालाई मिरालाम प्यानिक र एक करोड ४० लाख अमेरिकी दिएर आर्थर मेलो लियो।

यस किसिमको आपसी सम्झौता गरेर युरोपका क्लब खेलाडीको मूल्य तलमाथि पार्ने प्रयास गर्ने गर्छन्। युभेन्टस र बार्सिलोनाले प्यानिकको मूल्य ६ करोड ७८ लाख अमेरिकी डलर र मेलाको मूल्य आठ करोड १४ लाख अमेरिकी डलर निर्धारण गरे। यसरी कायम गरिएको मूल्य ती खेलाडीको स्तरभन्दा माथिको थियो। यसरी निर्धारण गरिएको मूल्यले दुवै क्लबको विद्यमान वार्षिक घाटालाई कम गरेको बताइन्छ।

यो सम्झौतामा खेलाडीको मूल्य जानाजान बढाइएको आरोपमा युभेन्टस र बार्सिलोनाको भनाइ छ, खेलाडीको मूल्य बिक्री र खरिदकर्ता क्लबले गर्ने हो।

किन राख्यो युभेन्टसले खेलाडीको कृत्रिम मूल्य?
युरोपियन क्लब फुटबलमा क्लबहरुले आम्दानी अनुसारको मात्र खर्च गरुन् भनेर ल्याएको नियम हो, फाइनान्सियल फेयर प्ले (एफएफपी)। यही नियम अनुसार क्लबहरूको खर्च सीमा तोकिन्छ। कुनै पनि क्लबले खेलाडी खरिद र तलबमा आफ्नो आम्दानीभन्दा तीन करोड युरो खर्च तीन वर्षसम्म मात्र गर्न पाउँछ।

तर यो नियमबाट बच्न क्लबहरू विभिन्न तरिका अपनाउछन्। नयाँ खेलाडीसँग सम्झौता गरिँदा ‘लुपहोल’ को उपयोग गरिन्छ। यदि युभेन्टसले पाँच करोड युरो स्थान्तरण गरेर कोही खेलाडी अनुबन्ध गर्‍यो र उसँग पाँच वर्षका लागि सम्झौता गर्‍यो भने, खर्च गरिएको स्थान्तरण रकम पाँच वर्षमा तिर्नेगरी कागज तयार पारिन्छ। पाँच करोड युरो पाँच वर्षमा तिर्ने भएपछि वार्षिक खर्चमा मात्र एक करोड समावेश हुन्छ।

तर खेलाडी बिक्रीबाट उठेको रकम भने पूर्णरुपमा त्यही वर्षको आम्दानीमा समावेश गरिन्छ। जस्तै, प्यानिक बिक्रीबाट प्राप्त ६ करोड ८० लाख अमेरिकी डलरलाई युभेन्टसले वार्षिक आम्दानीमा समावेश गरेको थियो। ताकि क्लबको कूल आम्दानी बढी देखियोस् र खेलाडी सरुवा बजारमा भनेजति खर्च गर्न सकियोस्।

यसरी नियामक निकायलाई झुक्कयाउँदा क्षणिक रुपमा फाइदा भए पनि दिर्घकालिन रुपमा क्लबहरुलाई घाटा पुर्‍याउँछ। जसको उदाहरण युभेन्टस आफैँ हो। नियामक निकायलाई झुक्याउँदा झुक्याउँदै युभेन्टस थाहै नपाइ गम्भीर आर्थिक संकटमा फस्न पुग्यो।

सिरी ‘ए’ मा केही वर्षयता युभेन्टस निरन्तर खस्किरहेको थियो। गएका दुई सिजन मिलान सहरका दुई क्लब इन्टर र एसीले लिग जित्दा युभेन्टस भने चौथो स्थानमा सीमित भइरह्यो। यो सिजन पनि युभेन्टसको सुरुवात खराब थियो। तर पछिल्लो समय उसले आफ्नो प्रदर्शनमा असाध्यै सुधार गरेको थियो। अंक घटेपछि भने युभेन्टस उपाधि दाबेदारबाट अंक तालिकाको मध्यस्थानतिर झर्नु परेको छ। यहाँबाट युभेन्टस

शीर्ष चारमा फर्कन नसक्ने हो भने अर्को सिजन च्याम्पियन्स लिग सहभागिता गुम्नेछ। च्याम्पियन्स लिग खेल्न नपाउनु भनेको, आमदानी स्वतः घट्नु हो। यस्तो परिस्थिति आर्थिक संकटमा फसेको युभेन्टसका लागि सही हुने छैन।

कारबाही किन युभेन्टसलाई मात्र ?
नियामक निकायलाई झुक्कयाउने मामलामा युभेन्टस एक्लो छैन। युरोपमा अरु क्लबले पनि युभेन्टसले जस्तै अनियमितता गरेका छन्। तर छानबिन इटालेली सरकारको निकायले गरेका हुँदा अन्य देशका क्लब कारबाहीको दायरामा नपरेका हुन्। सेयर बजारमा सूचिकृत भएकाले पनि युभेन्टसमाथि सुरुमै छानबिन गरिएको हो।

प्रकाशित: ८ माघ २०७९ २१:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 2 =