शीर्ष चारमा फर्कियो युनाइटेड, च्याम्पियन्स लिगनजिक न्युकासल

हिमाल प्रेस २३ चैत २०७९ १०:५६
12
SHARES
शीर्ष चारमा फर्कियो युनाइटेड, च्याम्पियन्स लिगनजिक न्युकासल

काठमाडौँ- मार्कस रासफोर्डले निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेड ब्रेन्टफोर्डलाई १- ० ले पराजित गरेर इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा फर्किएको छ। पछिल्ला तीन खेलमा जितविहीन बनेपछि युनाइटेड पाँचौँ स्थानमा झरेको थियो। उता न्युकासल युनाइटेडले बुधबार राति नै भएको खेलमा वेस्टहयाम युनाइटेडमाथि ५-१ को जित दर्ता गर्‍यो।

जितपछि न्युकासलको २८ खेलबाट ५३ अंक भएको छ। युनाइटेडको पनि ५३ अंक नै छ। तर गोलअन्तरले यी दुई टिमलाई तलमाथि पारेको छ। एक खेल बढी खेलेको टोटनहम ५० अंकसहित पाँचौँ स्थानमा छ। आर्सनल २९ खेलबाट ७२ अंक बटुलेर शीर्षस्थानमा रहँदा एक खेल कम खेलेको सिटी ६४ अंकका साथ दोस्रो स्थानमा छ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन रासफोर्डले २७ औँ मिनेटमा गोल गरेका थिए। प्रिमियर लिगमा उनको गोल संख्या अब १४ पुगेको छ। साँघुरो भए पनि यो जितले युनाइटेडलाई राहत दिएको छ। किनभने शीर्षचारको दौड प्रतिस्पर्धात्मक बन्दै जाँदा युनाइटेडको लय खस्किएको थियो।

गत आइतबार न्युकासलसँग २- ० ले पराजित भएपछि युनाइटेडका प्रशिक्षक एरिक टेन हागले आफ्ना खेलाडीको आलोचना गरेका थिए। युनाइटेडका खेलाडीमा जितका लागि प्रतिबद्धतामा कमी आएको उनको भनाइ थियो। उनको यस्तो आक्रोस ब्रेन्टफोर्डमाथिको जितले केही हदसम्म कम भएको हुनुपर्छ। यही सिजन ब्रेन्टफोर्डसँगको पहिलो खेलमा युनाइटेड ४- ० ले स्तब्ध बनेको थियो। यसकारण पनि यो जित युनाइटेडका लागि बदला हो।

खेलपछि गोलकर्ता रासफोर्डले युनाइटेडले आउँदा खेलमा जित लयलाई कायम राख्ने आशा व्यक्त गरे। ‘हो, हामी प्रत्येक साता उत्कृष्ट खेल द्खाउन सक्दैनौँ। यसो गर्न सम्भव छैन। तर एउटा स्तर भने कायम राख्न सक्नुपर्छ। आशा छ आउँदा खेलमा हामी आफ्नो स्तर अनुसार खेल्न सक्षम हुनेछौँ,’ रासफोर्डले भने।

टेन हागले रासफोर्डलाई सेन्ट्रल फरवार्डको भूमिका दिएका थिए। डच फरवार्ड वाउट वेघ्रोस्टले लगातार खराब प्रदर्शन गरिरहेपछि टेन हागले रासफोर्डलाई अघि सारेका हुन्। जसले मार्से साबिट्जरको पासमा गोल गरे।

ब्रेन्टफोर्ड प्रिमियर लिगमा छैटौँ पटक हारेको हो। यसअघिका १६ खेलमा ब्रेन्टफोर्ड जम्मा एकपटक मात्र पराजित भएको थियो। यो सिजन बेजोड प्रदर्शन गरिरहेको ब्रेन्टफोेर्ड नवौँ स्थानमा छ। आठौँ स्थानको लिभरपुल र ब्रेन्टफोर्डको बराबर अंक (४३) छ। यद्यपि लिभरपुलले एक खेल कम खेलेको छ।

न्युकासलले च्याम्पियन्स खेल्ने सम्भावनालाई बलियो बनाउँदै लगेको छ। न्युकासलले पछिल्लो पटक च्याम्पियन्स लिग खेलेको सन् २००२/०३ मा हो।

वेस्टह्यामलाई उसकै मैदानमा फराकिलो अन्तरले पराजित गर्न क्यालुम विल्सन र जोएल्टिनले दुई- दुई गोल गरे। अर्को एक गोल अलेक्जान्डर इसाकको नाममा रह्यो। वेस्टह्यामकका तर्फबाट कोर्ट जुमाले एक गोल फर्काए।

न्युकासलका प्रशिक्षक एड्डी हाउले आफ्नो टिमले सोचे अनुसारको प्रदर्शन गर्न नसके पनि गोल भने गर्न सफल भएको प्रतिक्रिया दिए। ‘हामीले आफ्ना लागि उच्च लक्ष्य निर्धारण गरेका छौँ। त्यस अनुरुप प्रदर्शन चुकिरहेका हुन्छौँ। केही समययता यस्तो भइरहेको छ,’ हाउले भने।

न्युकासलसँग पराजित भएपछि वेस्टह्याम १५ औँ स्थानमा यथावत् छ। यो सिजन सात खेल मात्र जित्न सकेको वेस्टह्यामसँग २७ अंक छ। जुन १८ औँ स्थानमा रहेको बर्नमाउथसँग बराबर हो। गोल अन्तरले मात्र वेस्टह्यामलाई रेलिगेसन क्षेत्रमा खस्नबाट बचाएको छ। वेस्टह्याम र बर्नमाउथबाहेक १६ औँ स्थानको एभरटन र १७ औँ स्थानको नटिङह फरेस्टको पनि २७-२७ अंक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =