गुरु पद्भसंभवको कथामा नाटक मञ्चन हुँदै

हिमाल प्रेस २३ वैशाख २०८१ १०:४६
462
SHARES
गुरु पद्भसंभवको कथामा नाटक मञ्चन हुँदै

काठमाडौँ- नेपालमा पहिलो पटक गुरु पद्मसंभवको जीवन कथालाई नाटकमार्फत् मञ्चन गरिने भएको छ।  बौद्धस्थित रामनगर पार्टी प्यालेसमा आगामी सोमबार दिउँसो १२ बजे नाटक ‘गुरु पद्मसंभव’ मञ्चन  हुन लागेकाे हाे।

नाटकलाई कलाकार जेडी तमुले निर्देशन गरेका छन्। जेडीले यसअघि नाटक ‘ब्यूँझिएको सिरानी’ निर्देशन गरेका थिए। निर्देशक जेडीका अनुसार नाटक स्टेज मञ्चन र स्याडो पपेट्रीमार्फत् मञ्चन गरिनेछ।

‘वज्रयान बौद्ध परम्पराका संस्थापक गुरु पद्मसंभवले देखाउनु भएको मार्गदर्शनलाई हामीले नाटकमार्फत् देखाउने प्रयास गर्दैछौँ। जसलाई हामीले आस्थाको केन्द्र मानेर आयौँ, उहाँकै जीवनीलाई नाटकमा उतार्न पाउनु खुसीको कुरा हो,’ जेडी भन्छन्।

नाटकलाई कर्म वाङ्चुक शेर्पाले लेखेका छन्। नाटकका निर्माता खेन्पो पेम छिरी शेर्पाका अनुसार पद्मसंभवले फैलाएको ज्ञानलाई अहिले पनि नेपालको हिमाली भेगहरूमा अध्ययन भइरहेको छ। ‘तर कतै कतै भाषाको समस्याले यसको सार बुझ्न सकिएको छैन। नेपाली भाषामा नाटक मञ्चन गरेर उहाँलाई चिनाउने प्रयास गरेका छौँ,’ शेर्पा भन्छन्।

नाटकमा अनिल सुब्बा, वेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, सौजन सेनेहाङ, संजिप योगी, शायोक मुकारुङ राई र जयराम ढकाल लगायतका कलाकारको अभिनय छ।

प्रकाशित: २३ वैशाख २०८१ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 11 =