कांग्रेसले राष्ट्रपति उम्मेदवारमा पौडेललाई अघि सार्ने पक्का

हिमाल प्रेस १२ फागुन २०७९ २२:०७
26
SHARES
कांग्रेसले राष्ट्रपति उम्मेदवारमा पौडेललाई अघि सार्ने पक्का

काठमाडौँ– नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेको छ।

कांग्रेसमा राष्ट्रपति पदका लागि पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको दाबी रहेकोमा सभापति शेरबहादुर देउवासहित अधिकांश नेताहरू पौडेललाई नै राष्ट्रपति बनाउन सकारात्मक देखिएका कांग्रेसका एक पदाधिकारीले बताए।

उनका अनुसार पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन पार्टीभित्र सहमति जुटिसकेको छ। ‘भोलि (शनिबार) बिहान कार्यसम्पादन समितिको बैठक बसेर यसबारे निष्कर्षमा पुग्छौं,’ ती नेताले भने।

सभापति देउवाले कांग्रेस संसदीय दलको चुनावका बेला नै पौडेललाई राष्ट्रपतिमा उठाउने वचन दिएका थिए। त्यसपछि पौडेल संसदीय दलको नेतामा देउवाको प्रस्तावक बसेका थिए।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीसहित आठ दलका नेताहरूले कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा सघाउने निर्णय गरिसकेका छन्।

कांग्रेसबाट पौडेल राष्ट्रपतिको उम्मेदवार बनेसँगै उनी गणतान्त्रिक नेपालको चौथो राष्ट्रपति बन्ने बाटो खुलेको छ।

प्रकाशित: १२ फागुन २०७९ २२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 17 =