निजीक्षेत्रको मनोबल उच्च बनाउने गरी आगामी बजेट ल्याउँछौँ : अर्थमन्त्री पुन

हिमाल प्रेस २७ वैशाख २०८१ १३:४३
10
SHARES
निजीक्षेत्रको मनोबल उच्च बनाउने गरी आगामी बजेट ल्याउँछौँ : अर्थमन्त्री पुन

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले निजीक्षेत्रको मनोबल उच्च बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने बताएका छन्। बिहीबार आर्थिक पत्रकार समाजले काठमाडौंमा आयोजना गरेको पूर्वबजेट छलफलमा अर्थमन्त्री पुनले सरकारले निजीक्षेत्रको मनोबल उच्च बनाउन प्रशासनिक, आर्थिक नीति नियम र व्यावसायिक वातावरण बनाउने गरी फरक–फरक छलफल गरेर असहज भएको ठाउँमा सहज बनाउने काम गरिरहेको बताए।

लगानी सम्मेलनअघि कानुनी अप्ठ्यारो हटाउन ८ वटा कानुन संशोधन गरेको भन्दै त्यसबाट केही सहज वातावरण बनेको पुनको भनाइ छ। सरकारले एकल निर्णय गर्ने अधिकार भए पनि निजीक्षेत्रलाई सहभागिता गराएर नीतिगत व्यवस्था गर्ने गरेको उनको भनाइ छ।

मन्त्री पुनले निजीक्षेत्रको सहभागिताबिना कानुनहरू नबनाएको बताए। औद्योगिक क्षेत्रका अन्य विषयलाई सरकारले बजेटमार्फत सहजीकरण गर्ने उनले जानकारी दिए। सरकारको सोच लगानी र व्यवसायी मैत्री वातावरण बनाउने भएको उनको भनाइ छ।

वित्त नीति र मौद्रिक नीतिमा एकरुपता ल्याउन प्रतिबद्ध रहेको पुनले बताए। सरकारको नीतिभन्दा बाहिर राष्ट्र बैंक नभएको भन्दै मन्त्री पुनले सरकारको नीतिअनुसार अगाडि बढ्नुपर्ने उल्लेख गरे। राष्ट्र बैंकसँग अर्थ मन्त्रालयले सहकार्य गरेर नीतिहरू ल्याउने काम गरिरहेको उनको भनाइ छ।

सरकारले पुँजीगत खर्च बढाउने कोसिस गरिरहेको उनको भनाइ छ। स्रोतमा सीमितता भएकाले सरकार र निजीक्षेत्रले खर्च गरेको आधारमा ४.५ प्रतिशत आर्थिक वृद्धि हुने अपेक्षा सरकारको रहेको उनको भनाइ छ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा वैदेशिक लगानी र आन्तरिक लगानीलाई प्रोत्साहन गरी आर्थिक वृद्धिदरलाई बढाउने वातावरण बनाउने गरी ल्याउने बताए। बैंक, घरजग्गा, कृषि र निर्माण क्षेत्रमा सकारात्मक नभए पनि जलविद्युत् र होटल पर्यटनमा राम्रो भएको भन्दै राम्रोलाई अझ राम्रो बनाइराख्ने योजना रहेको उनको भनाइ छ।

प्रकाशित: २७ वैशाख २०८१ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =