वातावरणमैत्री स्थानीय शासनको प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति

हिमाल प्रेस २४ वैशाख २०८१ १९:४८
14
SHARES
वातावरणमैत्री स्थानीय शासनको प्रवर्द्धन गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा तथा यहाँको जनजीवन स्वस्थ बनाउन सामूहिक प्रयासका साथ काम गर्न उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुखहरूलाई आग्रह गरेका छन्।

उपत्यकाका महानगर, नगरपालिकाका प्रमुख एवं उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षहरुसँग शीतल निवासमा आज (सोमबार) भएको भेटमा राष्ट्रपति पौडेलले सो आग्रह गरेका हुन्।

उनले जल्दोबल्दो समस्याका रूपमा रहेको जलवायु र वातावरण मानव अस्तित्व र पृथ्वीको सुरक्षासँग जोडिएको एजेण्डा भएकाले यसमा सबै पालिकाले ध्यान दिन सके सिंगो देश स्वच्छ, सफा र सुन्दर हुने बताएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

उनले वायु प्रदूषण उपत्यकाभित्र बढ्दै गएको हुँदा यसलाई निश्चित मापदण्डभित्र राख्न कार्यक्रम सञ्चालन गर्न, वरपरका वनजंगलमा लाग्ने डढेलोलाई नियन्त्रण गर्न यथासम्भव प्रयास गर्न तथा सामुदायिक शिक्षाको गुणस्तरमा महानगरपालिकालगायत नगरपालिकाको अनुगमन सशक्त बनाई गुणस्तर बढाएर जीवनोपयोगी शिक्षाका लागि ध्यान दिन पनि आग्रह गरे।

त्यस्तै राष्ट्रपति पौडेलले असहाय, बालबालिका तथा वृद्धलाई कार्यक्रमसहित सहारा दिने, उपत्यकाभित्र निर्माण हुन लागेका बाटो, धाराहरूलाई गुणस्तरीयरूपमा सम्पन्न गर्ने तथा परम्परादेखि हाम्रो सभ्याताका रुपमा रहेका चौतारी र पोखरीको संरक्षण, नयाँ पार्क (चौतारी) र पोखरी निर्माण गरी हरियालीसहित वातावरणीय स्वच्छता बढाउनुपर्नेमा जोड दिए।

उनले उपत्यकाको फोहर मैला व्यवस्थापनमा केही सुधार आएको तर अहिलेको व्यवस्थापन दिगो होइन यसको दीर्घकालीन र स्थायी समाधान खोज्नुपर्ने सुझाव दिए। फोहोर सुरुबाट वर्गीकरण गरी प्रविधिको प्रयोगसहित वैज्ञानिकरूपले समाधानको विकल्प खोज्नुपर्ने धारणा पनि उनले व्यक्त गरे। राष्ट्रपति पौडेलले वातावरणमैत्री स्थानीय शासनको प्रवर्द्धन गर्नुपर्ने धारणा व्यक्त गरे।

राष्ट्रपति पौडेलसँगको सो भेटमा काठमाडौँ उपत्यका मेयर फोरमका महासचिव एवं चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र हराभरा बनाउन सामूहिकरूपमा काम भैराखेको बताएको जानकारी दिए। ‘फोरमले उपत्यकाको ऐतिहासिक सम्पदा संरक्षण, राजश्व, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी, पूर्वाधार , शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा साझा एकीकृतरूपमा काम गरिरहेका छ,’ उनले भने।

सो अवसरमा स्थानीय तहका प्रमुख उपप्रमुखहरूले सामूहिक सोच र सहकार्यका साथ साझा समस्या समाधानमा अघि बढ्ने धारणा व्यक्त गरेका थिए।

प्रकाशित: २४ वैशाख २०८१ १९:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =