रुसी सेनामा नेपाली : ‘रुसले दिएन यथार्थ विवरण’

रमेश भारती २७ वैशाख २०८१ १२:१२
20
SHARES
रुसी सेनामा नेपाली : ‘रुसले दिएन यथार्थ विवरण’

काठमाडौँ- रुसी सेनामा भर्ती भएका नेपालीकाे रुस सरकारले झुटो विवरण दिने गरेको छ। रुसी सेनामा भर्ती, घाइते र मृत्यु भएका नेपालीकाे रुस सरकारले झुटो विवरण दिने गरेको परराष्ट्र मन्त्रालयले जनाएकाे छ।

परराष्ट्र मन्त्रालयका एक कर्मचारीले भने,‘रुसी सेनामा नाै हजारभन्दा बढी नेपाली भर्ती भएकाे सूचना गत चैतमा त्यहाँबाट आएको थियो। त्यसपछि वैशाख पहिलो साता करिब ५ हजार नेपाली रुसी सेनामा छन् भन्ने सूचना आयो। तर मस्कोस्थित नेपाली दूतावासले रुसी सेनामा करिब ३ हजार नेपाली भर्ती भएको अनुमान गरेको छ। रुसी सेनामा भर्ती भएका सात सयभन्दा बढी नेपाली घाइते भएको सूचना रुसले दुई महिनाअघि दिएको थियो। तर त्यसको २० दिनपछि करिब ३ सय नेपाली रुसी सेनामा घाइते भएको सूचना रुसबाटै आयो।’

रुसी सेनामा भर्ती भएका दुई सयभन्दा बढी नेपालीको मृत्यु भइसकेको मस्कोस्थित नेपाली दूतावासको अनुमान छ तर रुस सरकारले ड‍ीएनए परीक्षण गर्ने भन्दै त्यहाँ मृत्यु भएक‍ा नेपाली यकिन विवरण लुकाएको ती कर्मचारी बताउँछन्। रुस सरकारले अहिलेसम्म यकिन सूचना दिएको छैन। जसका कारण नेपाली स्वदेश फर्काउन सम्भव नभएको ती कर्मचारीले जानकारी दिए।

गत मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फर्काउन उच्चस्तरमा कूटनीतिक पहल गर्ने घोषणा गरेका थिए। रुसी सेनामा रहेका नेपालीको जीवन रक्षार्थ अभियानका सदस्यहरूले गरेको भेटवार्तामा प्रधानमन्त्रीले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि सरकारले उच्चस्तरीय पहल गर्न आश्वासन दिएका थिए तर परराष्ट्र मन्त्रालयका कर्मचारीहरू भने रुसी सेनामा आबद्ध नेपालीहरूलाई स्वदेश फर्काउन प्रधानमन्त्रीले घोषणा गरेजस्तो सहज नहुने बताउँछन्।

परराष्ट्र मन्त्रालयले गत पुसयता रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फर्काउन पटकपटक रुसी विदेशी मन्त्रालयमा मस्कोस्थित नेपाली दूतावासमार्फत पत्राचार गरिसकेको छ। तर रुस सरकारले उक्त पत्रको अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्किन नचाहेको भन्दै रुस सरकार तर्किर्दै आएको र जसका कारण प्रधानमन्त्रीले भनेजस्तो उच्च तहमा कुटनीतिक पहल गरेर नेपाली स्वदेश फर्काउन सजिलो नभएको परराष्ट्र मन्त्रालयका एक कर्मचारी बताउँछन्।

अहिले रुसी सेनामा नेपाली कसरी र कहाँबाट गइरहेका छन् भनेर अध्ययन गर्नुपर्ने बताउँदै ती कर्मचारीले सरकारले रुस मात्र होइन, युरोपका देश हुँदै रुसी सेनामा भर्तीका लागि गइरहेका नेपालीको पहिचान गरेर रोक्नुपर्ने‍ बताए।

रुसी सेनामा आबद्ध नेपाली फर्काउन प्रधानमन्त्री, गृहमन्त्री र परराष्ट्र मन्त्रीहरूले नेपालका लागि रसियान राजदूत एलेक्सी नोभिकभसँग पटकपटक छलफल गरिसकेका छन्। राजदूत एलेक्सी नोभिकभले यस विषयमा रुसी सरकारसँग छलफल गर्ने आश्वासन दिँदै आएका छन्।

गत फागुन २४ गते उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभबीच फोनवार्ता भएकाे थियाे। साे क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले रुसी सेनामा भर्ना भई मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता ल्याउने, मृतकको परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचारका विषयमा कुरा भएको बताएका थिए।

साे वार्तापछि पनि रुसी विदेश मन्त्रालयले नेपालीको संख्या, शव नेपाल फिर्ता ल्याउने, मृतकको परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचारबारे कुनै प्रतिक्रिया नदिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसबारे नेपालतर्फबाट भने पहल भइरहेकाे परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बताए।

उनले भने,‘रुसी सेनामा भर्ती भएका नेपालीको संख्या, शव नेपाल फिर्ता ल्याउने, मृतकको परिवारलाई क्षतिपूर्ति दिने र घाइतेको उपचारका बारेमा रुसको सम्बन्धित पक्षसँग कुराकानी भइरहेको छ। रुस पनि नेपालको प्रस्तावमा सकारात्मक छ।’

रुसी सेनामा भर्ती भएका नेपाली सम्पर्कविहीन भएकाे भन्दै सात सयभन्दा बढी आफन्तले खोजिका लागि आवेदन दिएको कन्सुलर विभागले जनाएको छ।

प्रकाशित: २७ वैशाख २०८१ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =