माओवादीसँग एमालेको बटमलाइन : कांग्रेससँग सँगै हिँड्न सकिन्‍न

हिमाल प्रेस २ माघ २०७९ १४:०७
134
SHARES
माओवादीसँग एमालेको बटमलाइन : कांग्रेससँग सँगै हिँड्न सकिन्‍न फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेले कांग्रेससँग सँगै हिँड्न नसकिने बताएको छ। खासगरी माओवादी केन्द्रलाई एमाले नेताहरूले यस्तो बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख र राष्ट्रपतिका विषयमा लिखित सहमति केही नभएको बताएपछि एमाले नेताहरू झस्किएका छन्।

यसकारण पनि एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डबीच एक्लाएक्लै लामो छलफल चलिरहेको छ। तर, निकास भने निस्किसकेको छैन।

प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेले पाँचै वर्ष राष्ट्रपति लिने र प्रधानमन्त्री एवं सभामुखमा आलोपालो गर्ने सहमति भएको नेताहरूले बताएका छन्। तर, प्रचण्डले लिखित सहमति नभएकाले सर्वदलीय बैठकमा यस विषयमा छलफल हुने बताएका छन्।

संसद सचिवालयले मंगलबार सभामुखको निर्वाचनको तालिका सार्वजनिक गर्दैछ। बिहीबार सभामुखको निर्वाचन हुँदैछ।

गत शनिबार मात्रै प्रधानमन्त्री प्रचण्डले एमालेसँग राष्ट्रपति र सभामुख चयनबारे कुनै लिखित सहमति नभएको मात्रै बताएनन्, यसबारे सर्वदलीय छलफलको तयारी रहेको जानकारी गराए।

‘अस्ति ओलीजी र मैले सहमति गर्दा कांग्रेस प्रतिपक्ष हुन्छ भन्ने कल्पना गरिएको थियो। जब मलाई कांग्रेसले पनि समर्थन गरिसकेपछि मेरो पनि जिम्मेवारी हुने भयो,’ सम्पादकहरूसँग प्रचण्डले भनेका थिए, ‘त्यसैले मैले कांग्रेसलगायतका दललाई धन्यवाद पनि भन्नुपर्नेछ र राष्ट्रपति, सभामुखलगायतका विषयमा के गर्ने भनेर छलफल गर्नुपर्नेछ।’

प्रचण्डले मंगलबारका लागि सर्वदलीय बैठक बोलाएका छन्।

१० पुसमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने क्रममा नै एमालेले राष्ट्रपति र सभामुख आफूले पाउने सुनिश्चित गराएको थियो। त्यसैदिनको सहमतिअनुसार सातै प्रदेशको सरकार निर्माण प्रक्रिया अगाडि बढेको छ। तर कांग्रेसले पनि विश्वासको मत दिएपछि प्रचण्डको अभिव्यक्ति बदलिएको छ, निर्णय प्रक्रिया अवरुद्ध छ।

एमाले नेताहरूले भने प्रचण्डको अभिव्यक्ति र निर्णयको विलम्बप्रति असन्तुष्टि जनाएका छन्।

एक नेता भन्छन्, ‘प्रचण्डले कांग्रेसलाई पनि साथमा लिनुपर्ने भयो भन्ने आशयको कुरा गरिसकेपछि स्वाभाविक रूपले केही प्रश्नहरु खडा भएको छ।’

यस मामिलामा एमालेले प्रस्ट रूपमा आफ्नो बटमलाइन राखेको नेताहरू बताउँछन्। ‘कांग्रेस प्रतिपक्ष शक्ति हो। कमसेकम अहिले कांग्रेस र एमाले एकैठाउँ हुने वा दुवैलाई सन्तुष्ट गरेर जान्छु भन्नु सम्भव हुँदैन,’ एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘यो कुरा प्रधानमन्त्रीले बुझ्नु नै भएको होला।’

प्रकाशित: २ माघ २०७९ १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 14 =