रासफोर्ड र मार्सियलले गोल गरे तर टेन हागको अडान कायमै : युनाइटेडमा नयाँ स्ट्राइकर चाहिन्छ

हिमाल प्रेस १३ पुष २०७९ ९:५४
8
SHARES
रासफोर्ड र मार्सियलले गोल गरे तर टेन हागको अडान कायमै : युनाइटेडमा नयाँ स्ट्राइकर चाहिन्छ

काठमाडौँ- क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाडेसँगै प्रशिक्षक एरिक टेन हाग नयाँ स्ट्राइकरको खोजीमा छन्। उनले आफ्नो टिमलाई नयाँ स्ट्राइकर आवश्यक रहेको भनेर सार्वजनिक रुपमै उद्घोष गरेका छन्।

उसो त युनाइटेडमा स्ट्राइकर नभएका होइनन्। तर उनीहरूबाट पर्याप्त गोल निस्किरहेको छैन। मंगलबार राति भने दुई स्ट्राइकरले एक–एक गोल गरेपछि युनाइटेडले नटिङहम फरेस्टमाथि ३–० को जित हात पार्‍यो।

ओल्ड ट्राफोर्डमा मार्कस रासफोर्डले १९ औँ र एन्थोनी मार्सियलले २२ औँ मिनेटमा गोल गरेका थिए। दोस्रो हाफको उत्तरार्द्धमा मिडफिल्डर फ्रेडले एक गोल थपे।

गत साता काराबाओ कपमा पनि गोल गरेका रासफोर्डले इंग्लिस प्रिमियर लिगमा पाँचौँ गोल गरेका हुन्। मार्सियलका लागि भने यो तेस्रो गोल थियो। यो सिजन लिगका धेरैजसो खेल चोटका कारण गुमाएका मार्सियलले म्यानचेस्टर सिटीसँगको पराजयमा दुई गोल गरेका थिए।

फरेस्टलाई हराएपछि युनाइटेडले प्रिमियर लिगको पाँचौँ स्थानमाथि आफ्नो पकड बलियो बनाएको छ। १५ खेल खेलेको युनाइटेडको २९ अंक छ जुन प्रतिद्वन्द्वी लिभरपुलको भन्दा चार अंकले बढी हो। अनि चौथो स्थानको टोटनहमको भन्दा एक अंकले कम हो।

कम्तीमा चौथो स्थान प्राप्त गर्ने लक्ष्यमा रहेको युनाइटेडका प्रशिक्षक जितका बाबजुद पूर्णरुपमा सन्तुष्ट देखिएनन्। आफ्ना खेलाडी गोलका निकै अवसर खेर फालेको उनको भनाइ थियो। ‘हामीले तीनभन्दा बढी गोल गर्नु पर्थ्यो। किनभने हामीले धेरै मौका सिर्जना गरेका थियौँ। तर फिनिसिङ कमजोर भयो। तेस्रो गोल गर्न धेरै समय लाग्यो,’ टेन हागले भने।

गोलको स्रोत बढाउन युनाइटेड युरोपियन फुटबल बजारमा फरवार्डको खोजीमा छ। यस्तोमा टेन हागको नजर नेदरल्यान्ड्सका लागि विश्वकपमा तीन गोल गरेका कोडी गाक्पोमाथि थियो। तर उनी लिभरपुलसँग अनुबन्ध हुने पक्का भइसकेको छ।

‘हामी आक्रामक खेलाडी अनुबन्ध गर्ने प्रयासमा छौँ। किनभने अग्रपंक्तिमा हामी कमजोर छौँ, पर्याप्त खेलाडी छैनन्। तर नयाँ खेलाडी खरिद गर्न खोजिरहँदा हामीले मूल्यलाई पनि विचार गर्नुपर्छ। खेलाडीको स्तर पनि हामीले खोजे जस्तै हुनुपर्छ। हामी यी दुई पक्षलाई मध्यनजर गर्दै खेलाडी खोजी गरिरहेका छौँ,’ गाक्पोबारे टिप्पणी गर्न इन्कार गरेका टेन हागले भने।

जनवरी १ बाट युरोपियन फुटबलमा सरुवा बजार खुल्दैछ। तर युनाइटेडले नयाँ खेलाडी अनुबन्ध गर्ने वा नगर्ने टुंगो छैन। किनभने यो क्लब बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको क्लबका लागि किन थप खर्च गर्ने भन्ने प्रश्न क्लबको स्वामित्व रहेको ग्लेजर परिवारभित्र उठिरहेको बताइँदैछ।

यसकाण टेन हागले रासफोर्ड र मार्सियल अनि भएका अरु विंगरबाट काम चलाउनु पर्ने हुनसक्छ। उसो त उनी ऋणमै भए पनि नयाँ फरवार्ड भित्र्याउने लक्ष्यमा छन्।

‘अरु ठूला टिमलाई भेट्न हामीले बढीभन्दा बढी गोल गर्नुपर्छ। हाम्रा खेलाडीले गोल गर्न नसक्ने होइन। आज पनि त्यो प्रमाणित भयो। मार्सियल र रासफोर्ड गोल गर्न सक्षम छन्। ब्रुनो (फर्नान्डेज) ले पनि गोल गर्न सक्छन्। अरु पनि छन् जसले गोल गर्न सक्छन्। तर पुग्दो संख्यामा गोल हुन सकिरहेको छैन,’ टेन हागले भने।

रासफोर्डको पछिल्लो लयले भने टेन हागलाई केही राहत दिएको हुनुपर्छ। गत सिजन सबैखाले प्रतियोगितामा गरी जम्मा पाँच गोल गरेका रासफोर्डले यसपालि १० गोल गरिसकेका छन्। सन् २०१९/२० सिजनमा २२ गोल गरेका रासफोर्ड त्यही लयमा फर्कन सके युनाइटेडको शीर्ष चारमा पर्ने लक्ष्य बलियो बन्नेछ।

मार्सियलका कारण भने युनाइटेड निराश छ। मोनाकोबाट सन् २०१५ मा युनाइटेड पुगेका मार्सियल बारम्बार घाइते हुने गरेका छन्। जसकारण उनले आफ्नो स्तर अनुसारको प्रदर्शन गर्न सकिरहेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =