प्रिमियर लिगमा आर्सनल र न्युकासलको छलाङ कायमै

हिमाल प्रेस १२ पुष २०७९ १०:३६
8
SHARES
प्रिमियर लिगमा आर्सनल र न्युकासलको छलाङ कायमै

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आर्सनलले सोमबार राति वेस्टह्याम युनाइटेडलाई पराजित गर्दै शीर्षस्थानमा सात अंकको अग्रता कायम गरेको छ। विश्वकप विश्रामपछि फर्किएको प्रिमियर लिगमा आर्सनललाई ३–१ को जित दिलाउन बुकायो साका, गाब्रियल मार्टिनेली र एडवार्ड नाकेटियाले एक–एक गोल गरे।

आर्सनलले सबै गोल दोस्रो हाफमा गरेको थियो। वेस्टह्यामले पहिलो हाफमा साइड बेनरहामाको पेनाल्टी गेलमार्फत अग्रता लिए पनि दोस्रो हाफमा गोल थप्न सकेन।

यो जितपछि आर्सनलको १५ खेलबाट ४० अंक भएको छ। उसलाई पछ्याइरहेको न्युकासल युनाइटेडले सोमबार राति लेस्टर सिटीलाई पन्छाएपछि ३३ अंक बनायो। तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ३२ अंक छ। यद्यपि सिटीले न्युकासलको भन्दा दुई र आर्सनलको भन्दा एक खेल कम खेलेको छ।

न्युकासलले लिगमा लगातार छैटौँ जित हात पार्दा क्रिस उड, मिगेल आल्मिरन र जोएल्टनले एक–एक गोल गरे। उडले तेस्रो मिनेटमा गोलको खाता खोलेका थिए भने चार मिनेटपछि अल्मिरनले अग्रता दोब्बर बनाएका थिए। त्यसपछि ३२ औँ मिनेटमा न्युकासलको तेस्रो गोल जोएल्टनले गरे।

यो सिजन जम्मा दुई खेल मात्र जितेको लेस्टर १३ औँ स्थानमा छ। ब्रेन्टफोर्डसँग बराबरी खेलेर नयाँ सिजनको सुरुवात गरेको लेस्टरले त्यसपछि लगातार पाँच खेलमा हार व्यहोरेको थियो। विश्वकप सुरु हुनुअघि पाँच खेलमध्ये एकमा मात्र पराजय भोगेर सम्हालिन खोजेको लेस्टरले बलियो लयमा रहेको न्युकासलविरुद्ध अपेक्षाकृत प्रदर्शन गर्न सकेन।

सोमबार राति नै भएका अरु खेलमा फुलहमले क्रिस्टल प्यालेसलाई ३–० र ब्राइटनले साउथह्याम्पटनले ३–१ ले पराजित गरे।

३४ औँ मिनेटमा टायरिक मिचेल र ५७ औँ मिनेटमा जेम्स टोम्किन्सले रातो कार्ड पाएपछि ९ खेलाडीमा सीमित भएको प्यालेसविरुद्ध बबी रिड, टिम रिम र अलेक्जान्डर मिट्रोभिचले एक–एक गोल गर्न सफल भए।

लिगमा क्रिस्टल प्यालेसका लागि यो लगातार दोस्रो हार हो। उता पछिल्ला दुई खेलमा म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडसँग पराजय भोगेको फुलहका लागि यो जारी सिजनको छैटौँ जित हो। १६ खेलबाट २२ अंक बटुलेको फुलहम हाल आठौँ स्थानमा छ भने लन्डन सहरकै टिम प्यालेस भने ११ औँ स्थानमा छ।

प्रकाशित: १२ पुष २०७९ १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =