वनको भवन भत्काउन धरान उपमहानगरले टाँस्यो सूचना

हिमाल प्रेस ११ पुष २०७९ २०:००
22
SHARES
वनको भवन भत्काउन धरान उपमहानगरले टाँस्यो सूचना वन भवनमा सूचना टाँस गर्दै धरान उपमहानगरका नगर प्रहरी। तस्बिर-विवेक विवश रेग्मी/हिमाल प्रेस

इटहरी– धरानमा निर्माणाधीन प्रदेश वन निर्देशनालयको भवन अवैध रहेको भन्दै भत्काउनका लागि सोमबार धरान उपमहानगरले सूचना टाँसेको छ। नक्सा पास नगरी र स्वीकृती नलिई धरान १५ स्थित तीनकुनेमा भवन निर्माण गरेको भन्दै भवन निर्माणकार्य रोक्ने आग्रहसहित उपमहानगरपालिकाले सूचना टाँसेको हो।

धरानमा निर्माण हुने भौतिक संरचनाबारे उपमहानगरलाई जानकारी हुनुपर्नेमा वन निर्देशनालयले नक्सा पास नै नगरी भौतिक संरचना निर्माण गरेको उपमहानगरपालिकाले जनाएको छ।

‘धरान उपमहानगरपालिकाको क्षेत्रभित्र भौतिक संरचना निर्माण गर्दा धरान उपमहानगरपालिकाको अनिवार्य निर्माण स्वीकृति लिनु पर्ने र नक्सा पास गराएर मात्रै निर्माण गर्नु पर्ने नियम रहेको हुँदा सो नियमअन्तर्गत कुनै पनि प्रक्रिया पूरा नगरी नियम मिचेर बनाएको देखिएकाले निर्माण कार्य तुरुन्त रोकी प्रक्रियामा आउनु होला, अन्यथा अवैध संरचना हटाउनु पर्ने नियमानुसार कारबाही अघि बढाइने ब्यहोरा जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ।

प्रदेश वन निर्देशनालयका चारवटा भवनको निर्माण अन्तिम चरणमा पुगेको छ। भवन निर्माण सकेर सर्ने तयारीमा रहेपनि नक्सा पास नभएको उपमहानगरले जनाएको छ।

केही दिनअघि धरान २० को विष्णुपादुकामा उपमहानगरपालिकाले माया धराने साबुन उद्योग खोल्न लागेको थियो। जनश्रमदानबाट काम भइरहे पनि सव डिभिजन वन कार्यालयले वनभित्र उद्योग खोल्न पाउने भन्दै उच्च अदालत विराटनगरमा उपमहानगरविरुद मुद्दा हालेको थियो।

उच्च अदालतले पनि साबुन उद्योगको काम रोक्न अन्तरिम आदेश दिएको छ। त्यससँगै मेयर हर्क साम्पाङ रुष्ट बनेका छन्। सोही कारणले गर्दा पनि भवन भत्काउने चेतावनीसहित सोमबार मेयर साम्पाङले सूचना टाँस गरेको हुनसक्ने स्थानीयहरू बताउँछन्।

प्रकाशित: ११ पुष २०७९ २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =