अभिभावकको प्रयासले सामुदायिक विद्यालय सुधार

हिमाल प्रेस ६ वैशाख २०८१ १२:२२
294
SHARES
अभिभावकको प्रयासले सामुदायिक विद्यालय सुधार

धरान- सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका–१२ स्थित ‘पब्लिक हाइस्कुल’।

धरानकै अन्य विद्यालयमा विद्यार्थीको संख्या घटिरहेका बेला पब्लिकमा भने बर्सेनि विद्यार्थी बढेका बढ्यै छन्। विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यालयले हरेक वर्ष प्रवेश परीक्षाबाट छनोट गरेर क्षमताअनुसारका मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ।

नयाँ शैक्षिकसत्रमा भर्ना हुने विद्यार्थीको संख्या दोब्बरभन्दा बढी भएपछि विद्यालयमा मंगलबार प्रवेश परीक्षा सञ्चालन भयो। विद्यालयले नर्सरीदेखि कक्षा ९ सम्म जम्मा तीन सय १४ विद्यार्थीका लागि भर्ना आह्वान गरेकोमा प्रवेश परीक्षामा सात सय १२ जना सहभागी भएको विद्यालयका संयोजक वीरेन्द्रबहादुर साहले जानकारी दिए।

मंगलबार पब्लिक हाइस्कुलमा आफ्ना सन्तानलाई प्रवेश परीक्षाका लागि ल्याउनेमा इटहरीस्थित सिबी कलेजमा प्रिन्सिपल सागर भट्टराई पनि एक थिए।

उनले पब्लिकमा पढाइ राम्रो भएकाले छोरालाई भर्ना गराउन चाहेको बताए। उनले भने,‘पहिला आफूले पढाएका धेरै विद्यार्थी अहिले यहि विद्यालयमा शिक्षक छन्, उनीहरूप्रतिको विश्वासले पनि दिल्ली पब्लिक स्कुलबाट छोरालाई यहाँ ल्याउन चाहेको हुँ।’

धरानका सुदर्शन श्रेष्ठले पनि निजी विद्यालयमा पढिरहेका छोरालाई पब्लिकमा प्रवेश परीक्षाका लागि ल्याएका थिए। उनले सो विद्यालयमा पढाइरहेका अन्य अभिभावकले पढाइ राम्रो रहेको बताएपछि आफूले पनि ल्याउन चाहेको जानकारी दिए।

अभिभावक प्रविना लिम्बूले सामुदायिक विद्यालय भएपनि पब्लिकमा गाडी र अन्य धेरै सुविधा पनि भएकाले आफू आकर्षित भएको बताइन्। त्यस्तै राधिका कार्कीले पनि विभिन्न विषयको पढाइ हुने जानकारी पाएर यही विद्यालयमा भर्ना गर्न चाहेको बताइन्।

विद्यालयका शिक्षक–अभिभावक संघ अध्यक्ष राजेन्द्र किरातीले विद्यालयले अभिभावकसँग पटक–पटक छलफल र सहकार्य गरेर पठनपाठनमा सुधार गर्दै लगेका कारण अभिभावकको आकर्षण बढेको बताए।

उनी भन्छन्, ‘पहिला यो विद्यालय पनि अन्य सामुदायिक विद्यालय भन्दा फरक थिएन तर जब विद्यालयले अभिभावकसँग समस्या राखेर समाधानको बाटो खोज्यो त्यसपछि अभिभावककै सहयोगमा विद्यालय चलिरहेको छ। हामी अभिभावक पनि खुसी छौँ।’

विद्यालयले विद्यार्थीका अभिभावकसँग आर्थिक सहयोग जुटाएर विभिन्न सुविधा थप गरिरहेको छ। पब्लिकसँग हाल छ वटा विद्यालय बस छन्। ल्याब, पुस्तकालय तथा मन्टेश्वरी कक्षा पनि सञ्चालन छ।

विद्यालयका प्रधानाध्यापक डा.इन्द्रमोहन झा अभिभावकको सहयोगकै भरमा विद्यालयको स्वरुप परिवर्तन भएको बताउँछन्। उनका अनुसार विद्यालयमा शिक्षक र कर्मचारी गरेर हाल एक सय ९२ जना कार्यरत छन्। त्यसमध्ये जम्मा ४० जनाको मात्र सरकारले तलब दिन्छ। बाँकीलाई अभिभावकसँग सहयोग जुटाएर तलबको व्यवस्थापन गरिएको छ।

उनी भन्छन्,‘दश वर्षअघिसम्म यो विद्यालय पनि अरु सामुदायिक विद्यालयभन्दा फरक थिएन। गुणस्तर कमजोर थियो । हामीले अभिभावक र सरोकारवालासँग छलफल गरेर सुधारको प्रयास गर्दा अभिभावकले सहयोग गर्नुभयो। अहिले त्यसैको भरमा चलेका छौँ।’

विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म जम्मा तीन हजार पाँच सय हाराहारी विद्यार्थी छन्। यो विद्यालयलाई सरकारले नमूना विद्यालयका रूपमा समेत छनोट गरेको छ। यसपटकबाट सरकारले विज्ञान पठनपाठनका लागि कार्यक्रम सञ्चालन गर्न पब्लिकलाई पनि छनोट गरेको छ।

विद्यालयमा हाल इलेक्ट्रिकल इञ्जिनियरिङ, कम्प्युटर साइन्स, कम्प्युटर म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ब्युटिसियन कक्षा समेत सञ्चालन भइरहेका छन्। हाल नर्सरीदेखि ९ कक्षासम्म अंग्रेजी माध्यम र १० देखि १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन भइरहेको प्रधानाध्यापक डा.झाले बताए।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको कोशी प्रदेश समिति सचिव तथा पब्लिक हाइस्कुल विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर कार्की विद्यालय र अभिभावककै पहलमा शैक्षिक वातावरण सुधार गरिएका सामुदायिक विद्यालयहरूमा आकर्षण बढेको बताउँछन्।

सरकारले निःशुल्क शिक्षा घोषणा गरेपनि सबै विद्यालयलाई पूर्वाधारयुक्त बनाउन नसक्दा धेरैमा समस्या रहेको उनको गुनासो छ।

उनी भन्छन्,‘अहिले विद्यालय र अभिभावकको सहकार्य भएका सामुदायिक विद्यालयहरूमा पठनपाठन राम्रो छ तर सरकारको मात्र भर परेर बसेका विद्यालयहरूमा विद्यार्थी संख्या घटिरहेका छन्। यस विषयमा सरकारले बेलैमा ध्यान दिनु जरुरी छ।’ रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 15 =