विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्षपछि हर्क साम्पाङको टिप्पणी – ‘त्यो नाथे नियमावली’

विवेक विवश रेग्मी १५ फागुन २०८० १८:२७
34
SHARES
विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्षपछि हर्क साम्पाङको टिप्पणी – ‘त्यो नाथे नियमावली’

इटहरी-  नेपाल नागरिक उड्डययन प्राधिकरणले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नियम संशोधन गरेर भएपनि विमानस्थल बनाउने बताएका छन्।

प्राधिकरणले धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माण गर्न गरिएको विस्तृत सम्भाव्यता अध्ययनले प्राविधिक र सञ्चालन अवरोधलाई कारण देखाउँदै विमानस्थल निर्माण गर्न नसकिने जनाएपछि मेयर साम्पाङ आक्रोशित बनेका हुन्।

‘तेरो नियम संशोधन गरेर भएपनि विमानस्थल बनाउनेछौँ ! ज्यादा नखोक्,’ आक्रोभावसहित सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ?’

साम्पाङले संविधान नै परिवर्तन हुने भएकाले नियमावली संशोधन गरेर भएपनि विमानस्थल बनाउने बताएका हुन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले भनेको छ, ‘विद्यमान हवाई नीति, २०६३ मा भएको तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निटकस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माईल हुनुपर्ने, नीतिगत व्यवस्था विपरित हुने, त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा वन वे एप्रोच मात्र सम्भव भएकाले हवाई यातायातको दिर्घकालीन, नियमित र व्यवसायिक सम्भावना नभएको।’

प्राधिकरणले अन्य विविध प्राविधिक तथा सञ्चालन अवरोधका कारण उक्त ठाउँमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको निष्कर्ष निकालेको थियो।

‘तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्थाविपरीत हुने प्राधिकरणले जनाएको छ।
तत्कालीन धरान नगरपालिकाले २०६० सालदेखि नै सार्वजनिक निजी साझेदारी अवधारणाअन्र्तगत यति इन्कर्पोरेट प्रालिसँग मिलेर एयरपोर्ट बनाउने प्रक्रिया थालेको थियो। धरान उपमहानगरपालिका १७, डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भनेर यती समूहले हात पारेको जग्गामा पछिल्लो समय मेयर हर्क साम्पाङले पनि कुनै हालतमा विमानस्थल बनाउने उद्घोष गर्दै आएका छन्।

२०६० सालमा धरानका तत्कालीन मेयर कुमारबहादुर कार्की, उपमेयर मीनकुमार सुब्बा र पूर्व मेयर मनोजकुमार मेन्याङ्बोलाई समेत प्रयोग गरेर विमानस्थल बनाउने भन्दै यती समूहले करिब ७ बिघा जग्गा खरिद गरेको थियो।

यसअघि प्राधिकरणले २०७४ असार १ गते धरान उपमहानगरपालिकालाई पत्र पठाउँदै एटीआर ४२ सिट क्षमताको जहाजका लागि विमानस्थल निर्माण गर्न करिब ९३ दशमलव २५ बिघा जग्गा आवश्यक पर्ने उल्लेख गरेको थियो।

तीन दिनअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले धरानमा विमानस्थल बनाउन नसकिने बताएका थिए। धरानमा आएका उनले यहाँ विमानस्थल बनाउन नसकिने बताएका थिए।

‘जहाज उडान भर्न सकिन्छ कि सकिँदैन भन्ने बुझेर मात्र हवाईमैदान बनाउनुपर्छ,’ उनले भने, ‘हवाई जहाज चल्ने बजार छ भने वडैपिच्छे पनि बनाउन सरकार तयार छ। तर, अर्बौँ लगानी गरेर बनाएको एयरपोर्ट चल्ने ग्यारेन्टी हुनुपर्‍यो।’ कोशी प्रदेशको राजधानी रहेको विराटनगरकै एयरपोर्ट पूर्ण क्षमतामा नचलेको मन्त्री किरातीले स्पष्ट पारेका थिए।

०८० कात्तिक २२ गते मेयर साम्पाङले संघीय सरकारलाई पत्र लेखेर धरानमा विमानस्थल बनाउन आग्रह गरेका थिए। त्यससँगै मन्त्री किराँतीले धरानमा विमानस्थल निर्माण अध्ययन समिति तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशकलाई निर्देशन दिएको जनाएका थिए। उक्त अध्ययन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको हो।

प्रकाशित: १५ फागुन २०८० १८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =