जनताका लागि काम गर्ने पार्टी नै भएनन् :  हर्क साम्पाङ [भिडिओ कुराकानी]

हिमाल प्रेस २१ चैत २०८० १८:०१
16
SHARES
जनताका लागि काम गर्ने पार्टी नै भएनन् :  हर्क साम्पाङ [भिडिओ कुराकानी]

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राई आफ्ना अभिव्यक्तिका कारण चर्चा र विवादमा आइरहन्छ। यसै साता पनि उनी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेटेपछि एकपटक चर्चामा आए। कुनै पनि दलमा आबद्ध नरहेका साम्पाङ आफ्ना निर्णयमा जनप्रतिनिधिहरूको समर्थन जुटाउन समस्या पर्ने गरेको सुनाउँछन्। सिंहदरबारमा मंगलबार भेटिएका साम्पाङले जनताका लागि जनताका काम लिएर आए पनि आफू खुसी नभएको बताए। देश संघीयतामा गए पनि सिंहदबार धाइरनुपरेको गुनासो उनको छ। साम्पाङसँग हिमाल प्रेसले  गरेको संक्षिप्त कुराकानी :

धरानबाट सिंहदरबार आउनुभएको छ। सिंहदरबार त गाउँमै पुगेको हैन र?

म मात्र होइन यति बेला देशभरका स्थानीय तहका प्रमुखहरू झोला बोकेर सिंहदरबारमा आइपुगेका छन्। सिंहदरबार देउसीभैलो खेल्न आएजस्तो लाग्न थाल्यो। म पनि धरान उपमहानगरपालिकाको विकासको कागत बोकेर सिंहदरबार आएको छु। अहिले सिंहदरबार कहाँ स्थानीय तहमा पुगेको छ र?

यस्तो अवस्था के कारणले उत्पन्न भएको होला?

संघीयता छैन भन्दा छ तर जे काम गर्न पनि सिंहदबार धाउनुपरेको छ। संघीयता पूर्ण रूपमा लागू भएको छैन। त्यही भएर संघीय कानुन आवश्यक छ। स्थानीय तहले अधिकार पाएका छैनन्।

तपाईँले खोजेको विकास कस्तो हो?

मैले होइन जनताले विकास खोज्ने हुन्। भूगोलअनुसार विकास आवश्यक पर्छ। समस्या र विकास फरक विषय हुन्। पहिले समस्या समाधान गर्नुपर्छ। अनि विकास गर्नुपर्छ।

धरानमा काम गर्न कतिको चुनौती छ?

त्यस्तो केही चुनौती छैन। मैले चुनौतीलाई पनि सामान्य ठानेको छु। चुनौती जेसुकै होस् म काम गुर्छ। आफ्नो देशमै पसिना बगाउने हो। देशभर बाँझो जमिन छ। त्यस्ता जमिनमा काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो। मेरो अबको यात्रा यसैमा केन्द्रित हुन्छ। हामीले श्रम गर्नुपर्छ।

धरानलाई कस्तो सहर बनाउने योजना छ?

काम गर्ने हो। विकासमा केन्द्रित हुने हो। धरानलाई सबै जनता मिलेर बस्ने र खुसी सहर बनाउने हो।

धरानको प्रमुख समस्याका रूपमा रहेको खानीपानी आपूर्ति सहज बनाउने अभियान कहाँ पुग्यो?

खानेपानी योजना होइन आवश्यकता हो। धरानमा पानीको आपूर्ति सहज बनाउन काम भइरहेको छ। खानेपानी भनेको विकास होइन जीवनको आधार हो।

हर्क साम्पाङको राजनीतिक पार्टी र स्वतन्त्र उम्मेदवारसँग समेत भेटघाट भइरहेको हुन्छ। अनि पछिल्लो समय काठमाडौँका मेयर बालेन शाहलगायतसँग मिलेर राजनीतिक पार्टी खोल्न लागेको सुनिन्छ नि?

मेरो कुनै पनि पार्टीप्रति आस्था छैन। आवश्यक प¥यो भने पार्टी खोल्नुपर्छ होला। यसका लागि छलफल आवश्यक हुन्छ। जनताका लागि काम गर्न पार्टी आवश्यक छ।

पार्टी धेरै भइसकेनन् र?

धेरै भए तर जनताका लागि काम गर्ने पार्टी भएनन्। अहिले जनताका लागि काम गर्ने पार्टी छैन। त्यही भएर पार्टी खोल्नुपर्छ होला।

राजनीतिक दलहरू तपाईँप्रति आक्रामक हुनुको मुख्य कारण के हो?

मैले यस्तो विषयमा खासै ध्यान दिएको छैन। अरूले मलाई के भन्छन् मतलब छैन। जेसुकै भने पनि फरक पर्दैन्। म आफ्नो काम गर्छु।

प्रकाशित: २१ चैत २०८० १८:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =