पाँच राजनीतिक दलले भने : हर्क साम्पाङ उदण्डताको बाटोमा

हिमाल प्रेस १३ पुष २०८० ८:३४
16
SHARES
पाँच राजनीतिक दलले भने : हर्क साम्पाङ उदण्डताको बाटोमा

इटहरी- धरान उपमहानगरपालिकामा क्रियाशील पाँच राजनीतिक दलहरूले मेयर हर्क साम्पाङ अराजकता, मनोमानी र उदण्डताको बाटोमा लागेको टिप्पणी गरेका छन्।

पाँच राजनीतिक दलले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मेयर साम्पाङ निरन्तर रूपमा उदण्डताको बाटोमा प्रस्तुत भएको टिप्पणी गरेका हुन्।

आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर हटाएर यलम्बरको तस्बिर राखेपछि धरानका पाँच राजनीतिक दलहरूले ध्यानाकर्षण भएको जनाएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जसपा र एकीकृत समाजवादी पार्टीले साम्पाङबाट मिलेर बसेको समाजलाई विभाजित गर्ने काम भएको बताएका छन्।

उनीहरूले धरान उपमहानगर प्रमुखबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रणालीमाथि गम्भीर प्रहार भएको पनि बताएका छन्।

‘राज्य र राज्यका निकायहरू लोकतान्त्रिक मूल्य र मान्यताको आधारमा सञ्चालन हुने व्यवस्थाबाट नै हालमा तीन तहका सरकारहरू सञ्चालन भइरहेको छ। २०७९ को स्थानीय निर्वाचन पश्चात् धरान उपमहानगरपालिकामा स्वतन्त्र व्यक्तिले उपमहानगर प्रमुखको रूपमा जिम्मेवारी निर्वाह गरी रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘उपमहानगरपालिकाका प्रमुखले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर हटाएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

मेयर साम्पाङले बिहीबार आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर किराती राजा यलम्बरको तस्बिर राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 3 =