काठमाडौँ- नेपाल श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा उनले प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा एक युवालाई पक्राउ गरिएको तर ‘निर्माण व्यवसायीको खुट्टा भाँचिदिन्छु’ भन्ने मन्त्री र ‘प्रहरीलाई सडकमा घिसार्छु’ भन्ने सांसदमाथि कारबाही नभएको भन्दै प्रश्न उठाए।
राईले ‘ठूलालाई चैन, सानालाई ऐन कहिलेसम्म?’ भन्दै कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताए। उनले नागरिकलाई सच्याउने अवसर दिनुपर्ने तर राज्यले प्रतिशोधको भावना राख्न नहुने पनि उल्लेख गरे। सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित भएर आफ्ना अभिव्यक्तिबारे स्पष्टीकरण दिनुपर्ने भन्दै सभामुखसँग रुलिङको माग पनि गरेका छन्।
उनले सुर्खेत जिल्ला प्रशासन कार्यालयमा बुद्धको मूर्तिलाई साङ्लोले बाँधेर राखिएको घटनाप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै यस्ता संवेदनशील विषयमा गम्भीर हुन आग्रह गरेका छन्।




