सरकारका सय दिन जनताले महसुस गर्न सकेनन् : हर्क साम्पाङ

हिमाल प्रेस १९ असार २०८३ १३:३९ | Friday, July 3, 2026
12
SHARES
सरकारका सय दिन जनताले महसुस गर्न सकेनन् : हर्क साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ। फाइल तस्बिर

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले सय दिनमा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उपलब्धिमूलक काम गर्न नसकेको टिप्पणी गरेका छन्।

दार्चुलाको दुर्गम क्षेत्र दुम्लिङमा निर्माण गरिएको झोलुंगे पुल उद्घाटन गरी शुक्रबार काठमाडौँ फर्किएका साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले प्रयास गरे पनि त्यसको परिणाम जनताले महसुस गर्न नसकेको बताए।

‘कोशिस त उहाँहरूले गर्नुभएको हो तर त्यसको नतिजा जनताले अनुभूति गर्न सकेका छैनन्। सरकारले गरेको कामको प्रभाव नागरिकले महसुस गर्न सक्नुपर्छ,’ उनले भने।

साम्पाङले बढ्दो महँगी जनताको प्रमुख समस्या बनेको उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए। महँगी नियन्त्रणका लागि आफूहरूले निरन्तर सरकारलाई सुझाव दिँदै आएको पनि उनले बताए।

‘महँगी निकै बढेको छ। त्यसलाई नियन्त्रण गर्नुपर्छ भन्ने हाम्रो निरन्तर सुझाव रहँदै आएको छ,’ उनले भने।

दार्चुलाको विकास निर्माणमा प्रत्यक्ष सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै साम्पाङले श्रम संस्कृति पार्टीको टोलीले दुम्लिङमा निर्माण गरेको झोलुंगे पुल स्थानीयका लागि महत्वपूर्ण पूर्वाधार भएको बताए।

उक्त पुलको उद्घाटन उनले बिहीबार गरेका थिए।

प्रकाशित: १९ असार २०८३ १३:३९ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast