काठमाडौँ- सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले चीन भ्रमणमा रहेका बेला प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा एमालेप्रति गरेको टिप्पणी लिक भएपछि अहिले सर्वत्र चर्चा भइरहेको छ।
उनीहरू ‘कांग्रेसको आधिकारिकता सर्वोच्चले देउवालाई दिनुपर्छ’ र ‘ओली र महेश बस्नेत अझ चर्को भएर आउनुपर्छ’ भनेर आन्तरिक कुराकानी गरिरहेको अडियो लिक भएपछि राजनीतिक वृतमा आलोचना भइरहेको छ। उनीहरूले स्थानीय तहको चुनावमा आफूहरूको सानदार जित बनाउन पनि यी दुई कुराले फाइदा पुर्याउने भनिरहेको कुरा अडियोमा सुन्न सकिन्छ।
उक्त अडिओ विवादित बनेपछि आफ्नो सामाजिक सञ्जालबाट डिलिट गरेका सांसद द श्रीराम न्यौपानेले अहिले अर्को पोस्टमार्फत त्यस संवादको बचाउ गर्ने कोसिस गरेका हुन्।
चीनको भ्रमणमा रहेको रास्वपा टोलीका एक सदस्य सांसद श्रीराम न्यौपानेले शुक्रबार आफ्नो फेसबुकमा रोबोर्ट हिँडिरहेको भिडिओ राखेका थिए। जसमध्ये एउटामा रास्वपा सांसदबिच त्यस्तो कुराकानी भइरहेको कुरा पनि रेकर्ड भएको हो। यद्यपि अहिले उनको फेसबुकमा ती भिडिओ छैन।




